तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सामुद्रिक नाकाबन्दी के हो, होर्मुज जलमार्गमा कसरी लागु हुन्छ
- Author, जोर्ज राइट र रेचल क्लुन
- Role, व्यापार संवाददाता
- पढ्ने समय: ५ मिनेट
सोमवारदेखि इरानी बन्दरगाहबाट आउने र त्यहाँ जाने सबै पानीजहाजहरूलाई रोक्ने अमेरिकी सेनाले बताएको छ।
अन्यत्रबाट आवतजावत गर्ने पानीजहाजहरूलाई होर्मुज जलमार्गबाट आवतजावत गर्न दिने उसले बताएको छ।
अमेरिकी इजरेली आक्रमणपश्चात् इरानले विश्वव्यापारका निम्ति महत्त्वपूर्ण उक्त जलमार्गमा अवरोध गर्दै आएको छ।
फेब्रुअरी २८ मा उक्त आक्रमण सुरु भएपश्चात् गत सप्ताहान्तमा भएको इरान-अमेरिका वार्ता विफल भएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले सो जलमार्गमा अमेरिकाले सामुद्रिक नाकाबन्दी लगाइदिने चेतावनी दिएका छन्।
इरानले "उसको परमाणु महत्त्वाकाङ्क्षा नत्यागेका" कारण सो वार्ता विफल भएको ट्रम्पको दाबी छ। तर इरानका विदेश मन्त्रालयका प्रवक्ताले चाहिँ अमेरिकाले "अत्यधिक माग तथा अवैध अनुरोध" गरेको दोष लगाएका छन्।
नाकाबन्दीबारे ट्रम्पले के भने?
आइतवार ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले होर्मुज जलमार्गमा भित्रिने वा त्यहाँबाट बाहिरिने सबै पानीजहाजलाई रोकिने उल्लेख गरे।
"मैले हाम्रो जलसेनालाई इरानलाई शुल्क तिरेका जुनसुकै जहाजलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा रोक्न निर्देशन दिएको छु," ट्रम्पले भने।
साथै जलमार्गमा बिच्छाइएका विस्फोटक पदार्थलाई अमेरिकाले नष्ट पार्न थाल्ने पनि उनले बताए।
कुनै इरानीले हामीतर्फ वा शान्तिपूर्ण चलेका जहाजलाई आक्रमण गरे तिनलाई "नरकमा पुर्याइदिने" उनले चेतावनी दिएका छन्।
कुनै बिन्दुमा पुगेर स्वतन्त्र आवतजावतको सहमति हुने भन्दै उनले "तर त्यहाँ कतै विस्फोटक धराप हुन सक्छ भनेर इरानले त्यसो हुन नदिएको" बताए।
व्यवहारमा नाकाबन्दी कसरी लागु होला?
सुरुमा ट्रम्पले जलमार्गमा नाकाबन्दी तत्काल लागु हुने बताएका थिए। पछि फक्स न्यूजसँग बोल्दै उनले त्यसका निम्ति केही समय लाग्ने बताए।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार सोमवार साँझदेखि नाकाबन्दी लागु गराउन थालिने छ।
"अरब खाडी र ओमानको खाडीमा रहेका सहित सबै इरानी बन्दरगाहबाट आवतजावत गरेका सबै देशका जहाजका निम्ति विना भेदभाव नाकाबन्दी लागु हुने छ," उसले भनेको छ।
इरानी बन्दरगाहबाहेक अन्यत्रबाट आवतजावत गर्ने जहाजहरूलाई नरोकिने र नाकाबन्दी लागु हुनुभन्दा अगाडि थप जानकारी दिइने सेन्टकमले भनेको छ।
ट्रम्पले अन्य देश पनि नाकाबन्दी लागु गराउने कार्यमा संलग्न हुने बताए तर ती देशको नाम भने खुलाएनन्। उक्त कार्यमा यूके सहभागी नहुने बीबीसीले जानकारी पाएको छ।
फक्स न्यूजसँग बोल्दै उनले नेटोले उक्त क्षेत्रलाई सुरक्षित बनाउने कार्यमा मद्दत गर्न चाहेको बताए।
ट्रम्पले समुद्रबाट विस्फोटक धराप हटाउन 'माइनस्वीपर'हरू तैनाथ गरिने भन्दै नेटो सदस्य राष्ट्रको हैसियतले यूकेले पनि त्यसै गर्ने बताए।
यसअघि प्रधानमन्त्री किअर स्टार्मरले ब्रिटिश सेनाको माइन नष्ट गर्ने प्रणाली सो क्षेत्रमा परिचालन भइसकेको बताएका थिए।
यूके सरकारका प्रवक्ताले आवतजावतको स्वतन्त्रता रक्षा गर्न फ्रान्स तथा अन्य साझेदारहरूसँग मिलेर गठबन्धन बनाइन लागेको बताए।
अमेरिकास्थित तीन कानुनविद्हरूले चाहिँ नाकाबन्दीले अन्तर्राष्ट्रिय समुद्री कानुनको उल्लङ्घन गर्ने प्रतिक्रिया दिएका छन्। यदि सैन्य हिसाबले लागु गरिए त्यसले युद्धविराम सहमति पनि उल्लङ्घन हुने एक विज्ञले औँल्याए।
अमेरिका जलमार्गमा किन नाकाबन्दी गर्दै छ
भूगोलका कारण यस युद्ध अवधिभरि इरानले उक्त जलमार्गमाथि नियन्त्रण गर्दै आवतजावत अवरुद्ध गरिदँदा विश्वभरि तेलको भाउ बढ्यो।
इरानले केही पानीजहाजसँग ठूलो शुल्क असुलेर उसले आउजाउ गर्न दिएको छ।
अब त्यही जलमार्गमा नाकाबन्दी गरेर ट्रम्पले इरानको राजस्व स्रोत बन्द गराइदिन सक्छन् – तर त्यसले तेल र ग्यासको भाउ अझै धेरै वृद्धि हुन सक्छ।
फक्स न्यूजसँग बोल्दै ट्रम्पले इरानलाई उसको इच्छाबमोजिम कसैलाई तेल बेचेर फाइदा कमाउन अनि कसैलाई नबेच्ने गर्न दिन नहुने बताए। उनका अनुसार या त सबैको आवतजावत खुलाउने या सबैको रोकिदिने उनको उद्देश्य हो।
विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपतिका टिप्पणीहरू इरानलाई अमेरिकी सर्त मनाउनका निम्ति दबाव हुन्।
सीबीएससँग बोल्दै रिपब्लिकन कङ्ग्रेसम्यान माइक टर्नरले होर्मुजको गतिरोध अन्त्य गर्न नाकाबन्दी एउटा उपाय भएको बताए।
तर भर्जिनियाका डेमोक्र्याट सिनेटर मार्क वार्नरले चाहिँ नाकाबन्दी गरेर कसरी इरानलाई जलमार्ग खोल्न बाध्य पार्न सकिन्छ भनेर आफूले नबुझेको बताए।
कस्तो होला प्रभाव
तत्कालका निम्ति ट्रम्पले नाकाबन्दीले थोरै सङ्ख्याका पानीजहाजलाई मात्र प्रभाव पर्ने शिपिङविज्ञ लार्स जेन्सनले बीबीसीलाई बताए।
"यदि अमेरिकीहरूले नाकाबन्दी लागु गरे भने एकदमै थोरै सङ्ख्यामा हाल आवतजावत भइरहेका केही जहाज रोकिने हुन्। समग्रमा यसले खासै परिवर्तन ल्याउँदैन," उनले भने।
भेस्पुची म्यारिटाइमका प्रमुख जेन्सनले इरानलाई शुल्क तिरेका जहाजलाई रोक्ने ट्रम्पको धम्कीले पनि थोरै मात्रै प्रभाव पर्ने बताए।
"पहिलो कुरो त एकदम थोरै जहाजको आवतजावत भइरहेको छ। शुल्क तिरेकाहरूको सङ्ख्या अझ कम छ। अनि शुल्क तिरेकाहरूलाई यसै पनि अमेरिकी आर्थिक प्रतिबन्धका नियमहरू लागु भइहाल्छ," उनले भने।
अधिकांश पानीजहाज कम्पनीहरू "पर्ख र हेर"को मनस्थितिमै रहने उनले बताए।
अहिले जलमार्गको अवस्था कस्तो छ
एप्रिल ७ मा अमेरिका र इरानबीच भएको दुई साता लामो युद्धविराममा उक्त साँघुरो जलमार्गबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने विषय उल्लेख थियो।
तर पछि इरानी सेनाले अनुमतिबिना आवतजावत गरे त्यस्ता जहाजलाई "निसानामा पारेर ध्वस्त गरिने" चेतावनी दियो। त्यसैले युद्धविरामको पहिलो तीन दिनमा एकदमै कम पानीजहाजले मात्र त्यहाँबाट यात्रा गरे।
एप्रिल १० को साँझसम्म केवल १९ पानीजहाजले मात्र उक्त जलमार्ग प्रयोग गरेका थिए।
तीमध्ये ४ वटाले तेल, ग्यास र रासायनिक पदार्थ बोकेका थिए। अन्य चाहिँ बल्क क्यारिअर वा कन्टेनर जहाज भएको भनिएको छ।
फेब्रुअरी २८ अगाडि सो जलमार्ग भएर प्रत्येक दिन औसत १३८ पानीजहाजले आवतजावत गर्ने गर्थे।
थप रिपोर्टिङ सरिन हबेशिआनबाट
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।