तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानले कसरी अमेरिका र इरानलाई युद्धविराम गर्न सघायो
- Author, क्यारोलिन डेभिस
- Role, पाकिस्तान संवाददाता
- पढ्ने समय: ३ मिनेट
इरान र संयुक्त राज्य अमेरिकाबीच दुई साताका लागि युद्धविराम भएको घोषणा गर्नुअघि पाकिस्तानले त्यसका लागि केही आशा बाँकी भएको सङ्केत देखाएको थियो।
नाम उल्लेख गर्न नचाहने एक पाकिस्तानी स्रोतले दुई देशबीच पाकिस्तान मध्यस्थ बनेर वार्ता भएको बीबीसीलाई बताएका छन्।
पाकिस्तानी पक्षबाट वार्ताकारहरूको एउटा "निकै सानो समूह" संलग्न थियो भने त्यहाँको वातावरण "निराशाजनक र गम्भीर" भए पनि लडाइँ रोक्न सकिने झिनो आशा यथावत् थियो। "केही घण्टा मात्र बाँकी थियो।" स्रोतले आफू वार्ता टोलीमा संलग्न नभएको बतायो।
पाकिस्तानले विगत केही सातादेखि मध्यस्थ बनेर इरान र अमेरिकाबीच सन्देश प्रवाह गराउँदै आएको छ। पाकिस्तानको इरानसँग पुरानो सम्बन्ध छ। सीमा जोडिएका यी दुई देशले आफूहरूबीच "भ्रातृत्वपूर्ण" सम्बन्ध रहेको बताउँदै आएका छन्।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानी सैन्य बलका प्रमुख तथा फील्ड मार्शल असिम मुनिर आफ्ना लागि "प्रिय" भएको र उनले इरानलाई "अरूले भन्दा राम्ररी बुझेको" बताएका छन्।
मङ्गलवार मध्यरातपछि पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा लेखे : "कूटनीतिक प्रयासहरू... निकट भविष्यमा ठोस परिणाम ल्याउने सम्भावनासहित स्थिर गतिमा, बलियो गरी र शक्तिशाली तरिकाले अघि बढेका छन्।" उनले ट्रम्पलाई होर्मुज जलमार्ग खोल्न इरानलाई तोकिएको समयसीमा दुई साताका लागि बढाइदिन आग्रह पनि गरे।
पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोगदामले स्थानीय समयानुसार बिहान ३ बजे एक्समा लेख्दै परिस्थिति "गम्भीर र संवेदनशील चरणबाट एक पाइला अघि बढेको" जानकारी दिए।
बिहान ५ बज्नुअघि पाकिस्तानका प्रधानमन्त्रीले युद्धविराम गर्ने सहमति भएको घोषणा गर्दै युद्धरत दुई देशलाई शुक्रवार १० एप्रिलमा इस्लामाबादमा भेटेर "निर्णायक सहमतिका लागि थप वार्ता गर्न" निम्तो दिए।
परिस्थिति अझै नाजुक
"हामी अझै पनि सावधान छौँ," परिस्थिति निकै नाजुक भएको औँल्याउँदै पाकिस्तानी स्रोतले बीबीसीलाई भन्यो। दुवै पक्षका आआफ्ना अडानमा कायम रहेकाले विश्वासको वातावरण बनिसकेको छैन।
पाकिस्तानले दुवै पक्षलाई वार्ताको टेबलमा ल्याए पनि उनीहरूले सहमति गर्ने विषय फेला पार्लान् कि नपार्लान् भन्ने प्रश्न भने बाँकी नै छ।
सहमति हुने कुरा अनिश्चित थियो। "कुरा सकारात्मक दिशामा अघि बढेको भनेर हिजोसम्म हामी निकै आशावादी थियौँ," मङ्गलवार राति पाकिस्तानको संसद्मा बोल्दै पाकिस्तानका विदेशमन्त्री इशाक डारले भने। तर इजरेलले सोमवार इरानमा र इरानले साउदी अरबमा हमला गरेपछि संशय उत्पन्न भयो।
उनका अनुसार पाकिस्तानले त्यसपछि पनि "सकेसम्म कुरा मिलाउने प्रयास" गरेको थियो।
फील्ड मार्शल मुनिर अझ बढी आलोचनात्मक रूपमा प्रस्तुत भए। मङ्गलवार सैन्य अधिकारीहरूसँग कुरा गर्दै उनले साउदी अरबमाथि भएको हमलाबाट "शान्तिपूर्ण उपायबाट द्वन्द्व समाधान गर्ने गम्भीर प्रयास खलबलिने" टिप्पणी गरे।
मध्यपूर्वमा लडाइँ सुरु भएपछि पाकिस्तानले पहिलो पटक त्यसरी कडा भाषा प्रयोग गरेको थियो।
केही विश्लेषकहरूका अनुसार त्यसबाट पनि इरानमाथि दबाव सिर्जना भएको हुन सक्छ। पाकिस्तान र साउदी अरबबीच भएको एउटा प्रतिरक्षा सहमतिअनुसार दुईमध्ये "कुनै एउटा देशमाथि हुने आक्रमणलाई दुवैमाथिको आक्रमण मानिने छ" उल्लेख छ।
अहिले साउदी अरबमाथि कैयौँ पटक हमला भए पनि उक्त सहमति कार्यान्वयनमा ल्याइएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।