भारतमा नयाँ 'वेबसिरिज'ले जन्मायो वैवाहिक बलात्कारबारे बहस

    • Author, गीता पाण्डे
    • Role, महिला तथा सामाजिक मामिला सम्पादक, इन्डिया
  • पढ्ने समय: ६ मिनेट

वैवाहिक बलात्कारलाई अपराधको श्रेणीमा राख्न लगातार इन्कार गरिँदै आएको भारतमा एउटा नयाँ बेवसिरिजले उक्त गम्भीर मुद्दालाई पुन: चर्चाको केन्द्रमा ल्याएको छ।

'चिरैया' नामको उक्त बेवसिरिज मार्च महिनामा 'जियो-हटस्टार'मा प्रशारित भयो। 'चिरैया' साना चराहरूलाई जनाउने हिन्दी शब्द हो। अहिलेसम्म लाखौँले उक्त श्रृङ्खला हेरका छन् र यो उक्त नेटवर्कमा पछिल्ला महिनाहरूकै लोकप्रिय बेवसिरिज बनेको छ।

सामान्यत: वर्जित (ट्याबू) मानिने विषयलाई उजागर गरेको भन्दै समीक्षकहरूले यसको प्रशंसा गरेका छन्। यसले सहमति (कन्सेन्ट) र स्त्रीद्वेषी सोचबारे सामाजिक सञ्जालमा बहस पनि जन्माएको छ। तर सँगसँगै केही टिप्पणीकारहरूले यसलाई "पुरुषविरोधी" र "वैवाहिक सम्बन्धको पवित्रता कमजोर पार्ने प्रयास" भनेर आलोचना गरेका छन्।

उक्त वेबसिरिजकी लेखक दिव्य निधि शर्माका अनुसार यसको कथा कमलेश र पूजा नामका दुई महिलाहरूको वरिपरि घुम्छ।

अभिनेत्री दिव्या दत्ता कमलेशको भूमिकामा छिन्। उनी "महिलाहरूले खाना पकाउने र घरधन्दामा रुचि राख्नुपर्छ" भन्ने सोच भएकी मध्यम उमेरकी गृहिणी हुन्। त्यस्तै प्रशन्ना पूजाको भूमिका छिन्। पूजा शिक्षित र सामाजिक रूपमा सचेत छिन् र लैङ्गिक समानता र सम्मानको कुरा गर्छिन्।

कमलेशद्वारा आफ्नै छोरा झैँ हुर्काइएका देवर अरुणसँग पूजाको विवाह भएपछि उनीहरूको संसार भद्रगोल हुन्छ। अरुण पूजाका निम्ति उत्तम जोडी हुने ठानिएको हुन्छ तर विवाहको रातमै उसले बलात्कार गरेपछि पूजाको सुखद दाम्पत्य जीवनको सपना चकनाचुर हुन्छ।

पूजाले विरोध गर्दा अरुण आफूले "आफ्नो हक लिएको" बताउँछन्।

"तिमी किन बारम्बार मैले तिमीलाई बलात्कार गरेँ भन्छौ?" उनी भन्छन्। सँगसँगै भारतमा वैवाहिक बलात्कारलाई अपराध नठानिने र यसलाई सम्बोधन गर्ने कुनै कानुन नभएको पनि थप्छन्।

अभिनेत्री दत्ताका अनुसार यो बेवसिरिजको मुख्य विषय "सहमति" हो र त्यसमा पनि विशेषगरी विवाहभित्रको सहमति, जसलाई धेरैले अत्यन्तै विशेष सम्बन्धका रूपमा हेर्छन्।

"वैवाहिक बलात्कारबारे कुरा गर्न अझै पनि धेरै कठिन छ। यस्तो अनुभवबाट गुज्रने धेरै महिलाहरू यो केवल आफ्नो मात्रै भोगाइ होला भन्ने ठान्छन्। सँगसँगै उनीहरूलाई यसबारे बोले समाजमा बदनाम भइन्छ र घरव्यवहार बिग्रिन्छ भन्ने पनि लाग्छ," उनले बीबीसीसँग भनिन्।

वेबसिरिजमा चोटग्रस्त पूजाले आफ्ना पति अरुणको व्यवहारबारे आवाज उठाउँदा उनलाई उनकी आमासहित सबैले सहन सल्लाह दिन्छन्। यसबारे बोल्दा केवल लाज र बदनामी मात्रै हुने बताइन्छ।

अभिनेत्री दत्ताका अनुसार कमलेशलाई सुरुमा विवाहपछि यौन सम्बन्धमा स्वतः सहमति हुन्छ भन्ने लागेको हुन्छ।

तर घटनाक्रम अघि बढ्दै जाँदा जब उनी आफ्नो "सहज घेरो" वा आफूलाई खासै मन नपर्ने एक महिलालाई साथ दिने स्थितिमध्ये एउटा छान्न बाध्य हुन्छिन्, उनको सोच बदलिन थाल्छ।

"अन्ततः उनले सही बाटो रोज्छिन्," दत्ता भन्छिन्, अनि त्यसपछि पूजाको भरपर्दो साथी बन्छिन्।

सरकारी तथ्याङ्क अनुसार, विवाहितमध्ये लगभग ६.१ प्रतिशत भारतीय महिलाहरूले यौन हिंसाको सामना गरेका छन्। तर भारत, अभियानकर्मीहरूको वर्षौँको पैरवीका बावजुद पाकिस्तान, अफगानिस्तान र साउदी अरबसँगै ती तीन दर्जन देशहरूमा पर्दछ जहाँ वैवाहिक बलात्कारलाई अपराध घोषित गरिएको छैन।

अभियानकर्मीहरूले हालैका वर्षहरूमा वैवाहिक बलात्कारलाई अपराध घोषित गर्न माग गर्दै सर्वोच्च अदालतमा कैयौँ निवेदन दिएका छन्। तर सरकार, धार्मिक समूहहरू र पुरुष अधिकारकर्मीहरूले औपनिवेशिक युगको कानुन संशोधन गर्ने कुनै पनि योजनाको विरोध गर्दै आएका छन्। खासगरी यस्ता कानुनले श्रीमती नाबालिग नभएको अवस्थामा श्रीमानले आफ्नी श्रीमतीसँग जबर्जस्ती यौन सम्बन्ध राखे पनि त्यसलाई छुट दिन्छ।

गत वर्ष श्रीमतीलाई बलात्कार गरेको अभियोगमा दोषी ठहरिएका एक पुरुषलाई अदालतले पुनरावेदनका आधारमा रिहा गरेपछि भारतमा ठूलो आक्रोश फैलिएको थियो। उक्त घटनामा कथित जबर्जस्तीको केही घण्टामै पत्नीको मृत्यु भएको थियो भने पतिलाई रिहा गर्नुको कारणमा न्यायाधीशले भारतमा वैवाहिक बलात्कारलाई कानुनी मान्यता नभएको बताएका थिए।

'चिरैया'की पटकथा लेखक शर्मा बीबीसीसँग भन्छिन्: "यो अन्याय हाम्रै घरभित्र र हाम्रै छिमेकमा भइरहेको छ।"

"मलाई सबैभन्दा चिन्ता लाग्ने कुरा के हो भने यसको कुनै कानुनी वा सामाजिक उपचार छैन। त्यसैले लेखकका रूपमा मैले यसबारे केही गर्नुपर्छ भन्ने महसुस गरेँ।"

बङ्गाली कार्यक्रम 'सम्पूर्णा' बाट रूपान्तर गरिएको 'चिरैया' लाई उत्तर भारतका निम्ति नयाँ तरिकाले तयार पारिएको हो, जुन तुलनात्मक रूपमा अधिक पितृसत्तात्मक क्षेत्र हो।

"सम्पूर्णाको मुख्य पात्र एक नारीवादी हो," शर्मा भन्छन्, "हाम्रो मुख्य पात्र कमलेशचाहिँ त्यस्ती महिला हुन् जसलाई 'मिसोजिनी' (स्त्रीद्वेष) शब्दको हिज्जेसमेत थाहा छैन। उनी यति धेरै पितृसत्तात्मक सोचमा डुबेकी छन् कि उनको ठीक बेठीक छुट्याउने सुझबुझ नै बिग्रिएको छ।"

"तर अन्त्यमा, उनी गलत कुराविरुद्ध लड्न तयार हुन्छिन्।"

कमलेशबारे निर्देशक शाह भन्छन्, "हामी यस्तो महिलालाई प्रस्तुत गर्न चाहन्थ्यौँ जोसँग भारतका लाखौँ महिलाहरूले आफूलाई जोड्न सकून्।"

"उनी परिवार व्यवस्थामा भरोसा गर्ने महिला हुन् तर बिस्तारै बिस्तारै तपाईँ उनको रूपान्तरण देख्न थाल्नुहुन्छ। जसैजसै उनको संसार भत्किन थाल्छ, उनलाई यो देखावटी लाग्छ र यो नाटक हो भन्ने लाग्छ जहाँ परिवारभित्रै मानिसहरू पीडित छन्।"

उनका अनुसार 'चिरैया' बनाउनुको उद्देश्य "सरकार वा कानूनमाथि प्रश्न उठाउनु थिएन।"

"हामी समाजमा यो प्रश्न उठाउन चाहन्थ्यौँ कि तपाईँ यसलाई कसरी हेर्नुहुन्छ? हामी मानिसहरूलाई सचेत गराउन चाहन्थ्यौँ।"

पूजाको कथा "काल्पनिक हो, तर यो लाखौँ महिलाहरूको वास्तविकता हो," उनी भन्छन्, " र कमलेशको चरित्रको साथ "हामी दिदीबहिनीको सम्बन्धको कथा भन्न चाहन्थ्यौँ।"

महिला पात्रहरूको वरपर कथावस्तु घुमे पनि 'चिरैया'मा पुरुषहरू अतिशयोक्तिपूर्ण खलनायकका रूपमा नदेखियून् भन्नेबारे ख्याल राखिएको निर्देशक शाह बताउँछन्।

"उनीहरू राक्षस नभइ केवल हाम्रो दैनिक जीवनमा भेटिने आममानिस हुन्। पितृसत्ताले यति गहिरो जरा गाडेको छ कि धेरैजसो मानिसहरूलाई आफू स्त्रीद्वेषी भइरहेका बारे अत्तोपत्तो छैन," उनी भन्छन्।

अभिनेत्री दत्ताका अनुसार वेबसिरिजबारे दर्शकहरूको प्रतिक्रिया "निकै शानदार" छ।

"मलाई आधारातमा सन्देश, फोन तथा इन्स्टाग्राम र ट्विटरमा व्यक्तिगत नोटहरू आइरहेका छन्। सबैले यसलाई हेरिरहेका छन्। दिग्गज कलाकारहरूले यो वेबसिरिजका निम्ति धन्यवाद भन्न मलाई फोन गरिरहेका छन्। कसैले हृदयस्पर्शी सन्देशसहित सारी (उपहार) पठाएको छ भने कसैले आफूले लेखेको कविता पठाएको छ। मलाई लाग्छ यसले वास्तवमै सबैको मन छोएको छ।"

केही नकारात्मक प्रतिक्रियाहरू पनि आएका छन्। शर्माले बताएअनुसार केही मानिसहरू यसबाट "भड्किएका" छन् र "पुरुषहरूको एक समूहबाट यस्ता सामग्रीहरूले पुरुषहरूलाई गलत तरिकाले प्रस्तुत गर्ने गरेको प्रतिक्रिया आएको छ।"

"तर हाम्रो उद्देश्य केवल कुराकानी सुरु गर्नु थियो। हामी कलाकार हौँ, हामी कानून बनाउन सक्दैनौँ। हामी अपराध नियन्त्रण गर्न सक्दैनौँ, न समाजलाई तीव्र गतिमा परिवर्तन गर्न नै सक्छौँ। तर हामी कलाको उपयोग गरेर वर्जित विषयलाई मूलधारमा ल्याउन सक्छौँ," उनी भन्छिन्।

दत्ताका अनुसार उनी सकारात्मक कुराहरूमा ध्यान केन्द्रित गरिरहेकी छिन् र बाँकीलाई बेवास्ता गरिरहेकी छन्। "म त्यो १ प्रतिशत [नकारात्मक प्रतिक्रिया] पढ्न चाहन्नँ र त्यो ९९ प्रतिशतमा ध्यान दिन चाहन्छु, जसले यसलाई माया दिइरहेका छन् र धन्यवाद भनिरहेका छन्। धन्यवादमा ध्यान केन्द्रित गरौँ।"

अभिनेत्री दत्ताका विचारमा 'चिरैया' जस्ता प्रभावकारी सामग्रीहरूमा संसार बदल्न सक्ने शक्ति छ।

"हामीले कहाँनेर गल्ती गरिरहेका छौँ भन्ने हामीलाई बताइरहेकाले मेरो विचारमा यसले धेरै तरिकाले फरक पार्ने छ। साथै यसले अरूको थाप्लोमा जिम्मेवारी थोपर्नुको सट्टा घरबाट सुरु गरौँ भन्नेमा जोड दिन्छ।"

"त्यो पहिलो तर एकदमै बलियो कदम हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।