तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानीहरू किन अमेरिकासँग सहमति हुनेमा ढुक्क हुन सकेका छैनन्
- Author, लीज डूसेट
- Role, प्रमुख अन्तर्राष्ट्रिय संवाददाता, इरान
- पढ्ने समय: ४ मिनेट
उत्तरपश्चिमी इरानमा वसन्त ऋतु आरम्भ भएसँगै राजमार्गहरूमा सवारी आवागमन बढ्न थालेको छ र कैयौँ इरानीहरू फेरि आफ्नो मातृभूमितर्फ फर्किँदै छन्।
"म एक महिनासम्म छोरासँग टर्कीमा बसेँ," टर्कीको सीमा नाकाको प्रस्थानबिन्दुनजिकै भेटिएका एक ब्याङ्करले भने।
"उत्तरतर्फको मेरो सहरमा खास गरी सैन्यस्थलहरू इजरेली र अमेरिकी हवाई आक्रमणहरूको निसानामा परे, उनीहरूले घर र नागरिक पूर्वाधारमा हमला गरेनन्," पाँच साता लामो युद्धबारे उनले आफ्नो बुझाइ सुनाए। दुई साताका लागि युद्धविराम भएपछि कतिपय इरानीहरू आफ्नो थालथलोतिर फर्कन थालेका छन्।
"मलाई अझै अलिअलि डर लागेको छ," टाउकोमा रुमाल बाँधेकी एक वृद्धाले सुनाइन् । उनले भिडभाड भएका आवासीय क्षेत्रमा खसेका गोलाबारुददेखि सडकमा गस्ती गर्ने इरानका अर्धसैनिक बलले दिने धम्कीसम्म युवाहरूले भोगेका दुःखकष्टबारे बेलिबिस्तार लगाइन्। "सबै ईश्वरकै हातमा छ," आकाशतिर सङ्केत गर्दै उनले भनिन्।
कतिपयले यो युद्धविराम लामो नटिक्ने पनि आशङ्का गरेका छन्। "इरानले स्ट्रेट अफ होर्मुजमाथि आफ्नो नियन्त्रण छोड्दैन," रातो भुवादार ज्याकेट लगाएकी एक महिलाले युद्धविराम नटिक्ने दाबी गर्दै भनिन्।
टर्कीको भन्सार पार गरेर इरानभित्र प्रवेश गरेपछि भेटिएका एक जनाले अमेरिकी राष्ट्रपतिमाथि आक्रोश व्यक्त गरे। अहिलेको शान्तिबारे सोध्दा उनले भने, "ट्रम्पले इरानलाई यत्तिकै छोड्दैनन्, उनी हामीलाई निल्न चाहन्छन् !"
हवाइमार्ग बन्द रहेका कारण सडक मात्रै तेहरानसम्म पुग्ने बाटो हो।
अमेरिकी राष्ट्रपति ट्रम्पले बुधवार मात्रै 'फक्स बिज्निस न्यूज'सँगको अन्तर्वार्तामा एक घण्टामै इरानका सबै पुल र ऊर्जाकेन्द्र ध्वस्त गर्ने क्षमता अमेरिकासँग भए पनि आफूहरूले त्यसो गर्न नचाहेको बताएका थिए।
टर्कीको सीमाबाट तेहरान पुग्न १२ सडक यात्रा गर्नुपर्छ। यो यात्रामा गत साता क्षेप्यास्त्र प्रहारका कारण भत्किएको पुलका कारण घुमाउरो ग्रामीण सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ।
कानुनविद्हरूका अनुसार नागरिक पूर्वाधारमा भएका आक्रमणहरूबाट अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घन भएको छ र त्यस्तो कारबाही युद्धअपराधको श्रेणीमा पर्न सक्छ। तर अमेरिका र इजरेलले आफूहरूले सैन्यस्थलहरूमा मात्रै प्रहार गरेको दाबी गर्दै आएका छन्।
यो यात्रामा अमेरिकाले इरानको इस्लामिक रेभलूशनरी गार्ड कोरको ध्वस्त ब्यारेक पनि हामीले देख्यौँ। तब्रिज क्षेत्रमा अन्य सैनिक, प्रहरी कार्यालय र कारखानाहरूमा पनि आक्रमण भएको छ।
इरानी राजमार्गमा सन् १९७९ को क्रान्तिपछिका तीन सर्वोच्च नेताहरूका तस्बिरसहित नयाँ ब्यानरहरू टाँगिएका छन्। तिनमा त्यस बेलाका सर्वोच्च नेता रुहोल्लाह अलि खामेनेईदेखि यो युद्धको प्रारम्भमा मारिएका इरानका सर्वोच्च नेता आयतूल्लाह अलि खामेनेईसम्म छन्। अहिले सर्वोच्च नेता घोषणा गरिएका आयतूल्लाहका उत्तराधिकारी मुज्तबाखामेनेईको तस्बिर पनि सँगै छ। अमेरिकी आक्रमणमा गम्भीर घाइते भएको ठानिएका मुज्तबा सार्वजनिक रूपमा देखा परेका छैनन्।
उनी यो युद्धपछि नयाँ राजनीतिक र सुरक्षानीति निर्माणमा लागेको बताइन्छ। इरानको परमाणुकार्यक्रम र होर्मुज जलमार्गजस्ता संवेदनशील विषयमा पुराना शत्रुराष्ट्रसँग गरिने वार्ताबारे पनि उनले रणनीति बनाइरहेको ठानिएको छ।
वार्तामा युरेनिअमको चर्चा
इस्लामाबादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल र इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको २१ घण्टा लामो वार्ताबारे बुधवार थप कुरा सार्वजनिक भयो।
इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ताले आफ्नो देशले युद्धको पूर्ण अन्त्य, प्रतिबन्धको अन्त्य र अमेरिका र इजरेलले इरानमाथि गरेका आक्रमणको क्षतिपूर्ति चाहेको बताएका छन्।
वाशिङ्टनबाट आएका विवरणहरूका अनुसार इरानले परमाणु संवर्धन रोक्नुपर्ने, संवर्धनकेन्द्रहरू भत्काउनुपर्ने, प्रशोधित युरेनिअम हटाउनुपर्ने, होर्मुज जलमार्ग खोल्नुपर्ने र हमास अनि हिज्बुल्लाहजस्ता समूहलाई आर्थिक सहयोग अन्त्य गर्नुपर्ने सर्त अमेरिकाले राखेको बुझिन्छ।
अमेरिकाले २० वर्षसम्म युरेनिअम संवर्धन रोक्न गरेको माग तेहरानले अस्वीकार गर्दै पाँच वर्षसम्म स्थगन गर्न सकिने जनाएको बुझिएको छ।
अमेरिकाले ४४० केजी प्रशोधित युरेनिअम हस्तान्तरण गर्न अघि सारेको माग पनि इरानले अस्वीकार गरेको छ।
होर्मुज जलमार्गसहित इरानी बन्दरगाहमा तेल ट्याङ्कर र जहाजहरूमा ट्रम्पले नाकाबन्दी लगाएको भए पनि तेहरान झुकेको सङ्केत देखिँदैन। तर ट्रम्पका टिप्पणीबाट उनी इरानले छिट्टै सैन्य र आर्थिक दबावमा परेर आत्मसमर्पण गर्ने ठान्छन्।
इरानी सैन्य नेतृत्वमा रहेका शक्तिशाली कमान्डर अलि अब्दोल्लाहीले "पर्सियाको खाडी, ओमान सागर र रेड सीमा समेत आयातनिर्यात ठप्प गरिदिने" धम्की दिएका छन्।
हामी तेहरानतर्फ जाँदै गर्दा इरान र अमेरिकाबीच मध्यस्थता गरेको पाकिस्तानका सेना प्रमुख असिम मुनिर तेहरानमा अवतरण गरे। उनी मध्यस्थताको प्रयास तीव्र बनाउने र मतभेद घटाउने प्रयासस्वरूप इरान पुगेका हुन् ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलाइन लेभिटले अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता पनि पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमै हुनेबारे छलफल चलिरहेको पुष्टि गरेकी छन्। आगामी साताबाट सकिने युद्धविराम लम्ब्याउनेबारे पनि छलफल चल्दै छ।
वाशिङ्टनबाट आएका विश्लेषणअनुसार तत्कालका लागि अमेरिकाको प्रत्यक्ष युद्ध वा आक्रामक चरण टुङ्गिन सक्छ। इरानभित्र भने देशको भविष्यबारे मानिसहरूबीच अलगअलग धारणा भए पनि पछिल्लो समय विकसित अवस्था सम्हाल्दै उनीहरू अघि बढिरहेका छन् ।
इरानमा युद्धअघि देशव्यापी विरोधप्रदर्शनहरू भएका थिए। सरकारी सुरक्षकर्मी प्रदर्शनकारीहरूलाई दमन गर्न घातक बल प्रयोग गर्दा हजारौँ जनाको मृत्यु पनि भएको थियो।
अमेरिकासँग सम्झौता भएर कडा प्रतिबन्धहरू हटे भने पनि इरानी जनताले हेर्न चाहेको परिवर्तन आउला कि नआउला भन्ने प्रश्न भने यथावत् नै छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।