'इरान अझै पनि ट्रम्पका निम्ति ठूलै टाउको दुखाइ'

    • Author, जोएल गुन्टर
  • पढ्ने समय: ३ मिनेट

चार दिन अगाडिमात्र अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले इरानमाथि अमेरिकाले हवाई श्रेष्ठता हासिल गरिसकेको भन्दै अब अमेरिकाका विस्तारै उड्ने ठूल्ठूला बी फिफ्टीटु (बी ५२) बमवर्षक त्यहाँ विना खतरा उड्न सक्ने दाबी गरेका थिए।

ती बमवर्षक विमानका उडान सुरु हुनमात्र के लागेका थिए इरानले अमेरिकासँगको हालसम्मकै ठूलो विजय प्राप्त गर्‍यो – उसको भूभागभित्र अमेरिकी लडाकु विमान खसालेर।

खसालिएको विमान कुनै ठूलो बमवर्षक नभइ छरितो र द्रुत उडान भर्न सक्ने लडाकु विमान थियो।

सो एफ फिफ्टिन (एफ १५) विमानका चालकदलका एक सदस्यको उद्धार गरियो भने अर्का एकजना अझै हराइरहेका छन्। यदि उनलाई इरानले बन्दी बनाइदियो भने अमेरिकाको निम्ति परिस्थिति बदलिने छ।

ती व्यक्तिलाई सम्भवत: इरानले टेलिभिजनमार्फत् सबैका सामु प्रदर्शन गरिदिने छ। त्यस्तो दृश्यले अमेरिकी जनतामाझ जारी इरान युद्धबारे दृष्टिकोण झन् कठोर बन्न सक्छ। अहिले नै इन्धनको मूल्यवृद्धि तथा १३ जना अमेरिकी सैनिकको मृत्यु जस्ता घटनाले अमेरिकी जनता पीडित भइसकेका छन्।

साथै राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभित्र अनि संसारभरि जारी युद्ध किन सुरु भयो भनेर स्पष्ट तर्क दिन नसकेको र सत्ता पलट गर्ने घोषित लक्ष्य पनि प्राप्त नभएको अवस्था छ।

विमान खसालिएका कारण उत्पन्न अवस्थाले तेहरानसँगको वार्ता प्रभावित नहुने ट्रम्पले बताएका छन्।

तर यदि उक्त विमानका चालकदलका हराइरहेका सदस्य समातिए भने परिस्थिति चाँडै नै परिवर्तन हुन सक्छ। र, त्यसले सैन्य अवस्था जतिसुकै ध्वस्त पारिएको भएतापनि इरानले अझै पनि यस युद्धमा ट्रम्पका निम्ति ठूला सैन्य तथा राजनीतिक टाउको दुखाइ गराइदिन सक्छ भन्ने देखाउँछ।

खोजी कार्य जोखिमपूर्ण

बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट अहिलेको समयलाई जोखिमपूर्ण भन्छिन्।

यस्ता परिस्थितिका निम्ति वर्षौँदेखि प्रशिक्षण गरिएको भएतापनि हराइरहेका सैन्य सदस्यलाई उद्धार गर्ने अमेरिकी कारबाही जोखिमपूर्ण हुने उनले बताइन्।

अनि यसका राजनीतिक जोखिम पनि उत्तिकै रहेको उनले औँल्याइन्।

यदि इरानले ती व्यक्तिलाई समात्यो र टेलिभिजनमा प्रदर्शन गर्‍यो भने तेहरानका निम्ति त्यो ठूलै प्रोपागान्डा विजय हुने जबकी अमेरिकाको निम्ति चाहिँ राजनीतिक लज्जा र चिन्ताको विषय हुने उनले भनिन्।

"अनि तेहरानका निम्ति यसले एक युद्धबन्दी उपलब्ध गराउने छ – युद्ध रोक्ने प्रयासहरू अवरुद्ध भइरहेको समयमा यसले तेहरानको हात बलियो बनाउने महत्त्वपूर्ण औजार उसलाई प्राप्त हुन्छ।"

त्यस्तो भएमा अमेरिकाले लिने बदला इरान, सम्पूर्ण क्षेत्र अनि आर्थिक धक्का बेहोरिरहेको बाँकी विश्वका निम्ति खतरापूर्ण हुने छ।

युद्धको पाँच सातामा अमेरिका र इजरेलले इरानको सैन्य क्षमतामा गम्भीर क्षति पुर्‍याएका छन्।

तर अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले सम्पूर्ण हवाई श्रेष्ठताबारे बारम्बार गर्दै आएका दाबीलाई भने यसले उल्ट्याइदिएको उनले बताएकी छन्।

परमाणु खतरा

इरानका विदेशमन्त्री अब्बास अराग्चीले रेडियोविकिरण चुहिए खाडीमा जीवन समाप्त हुने चेतावनी दिएका छन्।

इरानको बुशेहर परमाणु ऊर्जा केन्द्र नजिकै भएका भनिएका हमलाहरूबारे उनले टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्: "युक्रेनको जापोरिज्या परमाणु ऊर्जा केन्द्रनजिक सङ्घर्ष हुँदा पश्चिमा जगतले प्रकट गरेको आक्रोश सम्झनु हुन्छ? इजरेल-अमेरिकाले हाम्रो बुशेहर केन्द्रमा चौथो पटक बमबारी गरेका छन्।"

"त्यहाँबाट रेडियोएक्टिभ फलआउट भयो भने जीसीसी [गल्फ कोअपरेशन काउन्सिल]का राजधानीहरू न कि तेहरानमा जीवन नष्ट हुनेछ। हाम्रा पेट्रोकेमिकल्समा भएका आक्रमणले पनि स्पष्ट उद्देश्य दर्शाउँछन्।"

जीसीसी समूहमा बाहरेन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) देशहरू पर्छन्।

अमेरिका र इजरेलले सो हमलामा आफ्नो जिम्मेवारीबारे अझै पुष्टि गरेका छैनन्।

परमाणु मामिलाको अन्तर्राष्ट्रिय निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले बुशेहर परमाणु ऊर्जा केन्द्रमा भएका हमलाबारे आफूलाई जानकारी दिइएको भन्दै 'गम्भीर चिन्ता' प्रकट गरेको छ।

हाल रेडियोविकिरणको स्तर बढेको नदेखिएको उसले जनाएकव छ।

परमाणु ऊर्जा केन्द्र र छेउछाउका भूभागमा 'कदापि आक्रमण गर्न नहुने' भन्दै उसले परमाणु दुर्घटना हुन नदिन अधिकतम सैन्य सावधानी अपनाउन आह्वान गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।