दक्षिण कोरिया: भागेको ब्वाँसो नौ दिनको धुइँपत्ताल खोजीपछि नियन्त्रणमा

पढ्ने समय: ३ मिनेट

दक्षिण कोरियाको चिडियाखानाबाट भागेपछि सम्पूर्ण राष्ट्रको ध्यान तान्न पुगेको दुई वर्षे ब्वाँसो, नूगु, नौ दिनको खोजतलासपछि नियन्त्रणमा आएको छ।

चिडियाखाना रहेको डेजोन सहरका अधिकारीहरूका अनुसार शुक्रवार स्थानीय समय अनुसार ००:४४ मा एक एक्सप्रेसवेको नजिकैबाट नूगुलाई नियन्त्रणमा लिइएको थियो। मेडिकल जाँचमा नूगुको मुटुको चाल र शरीरको तापक्रम सामान्य पाइएको अधिकारीहरूले जानकारी दिए।

सयौँ उद्धारकर्मीहरू उक्त ब्वाँसोको खोजीमा परिचालन गरिएका थिए।

खोजीमा गएका अधिकारीहरूलाई बारम्बार ब्वाँसोलाई नियन्त्रणमा लिने मौका आए पनि नूगु छोप्न प्रयोग गरिएको जालीको मुख बन्द गर्ने बेला हुनै लाग्दा कसरी कसरी भागिहाल्थ्यो।

अधिकारीहरूले यो साताको सुरुमा एक पटक झन्डै झन्डै नूगुलाई नियन्त्रणमा लिएका थिए। स्थानीय अग्नि नियन्त्रक कार्यालयले सोमबार राति उक्त ब्वाँसो चिडियाखानाको २ किलोमिटर टाढाको एउटा पहाडमा देखा परेको खबर पाएको थियो।

सडकमा गुडिरहेको सवारी साधनको हेड लाइटको उज्यालोमा देखिएको र अँध्यारोमा सडकमा दौडिरहेको ब्वाँसोको भिडि‍‌‍‌ओ सामाजिक सञ्जालमा पनि अपलोड गरिएको थियो।

अधिकारीहरूले त्यही जानकारीका आधारमा तत्काल खोजी र उद्धार तीव्र बनाए तर त्यो फेरि भागिहाल्यो।

त्यसरी भागेको नूगुले 'मीम' बनाउन पनि कैयौँलाई प्रेरित गर्‍यो। मीम बनाउनेहरूले "नियन्त्रणमा नबस्ने ब्वाँसो" र "स्वतन्त्रताको प्रतीक" भनेका थिए।

सन् २०२४ मा जन्मिएको नूगु "ओ वर्ल्ड" नामको एक संरक्षण कार्यक्रममा परेको ब्वाँसो हो। कोरियाली प्रायद्वीपमा यत्रतत्र घुम्ने गरेको ब्वाँसो अहिले जङ्गल क्षेत्रमा लोपोन्मुख अवस्थामा पुगेको छ।

अधिकारीहरूले अर्को क्षेत्रमा पनि ब्वाँसोको खोजी सुरु गरेका थिए। अन्त्यमा फेला परेपछि उसलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको थियो।

ऊ "असाध्यै छिटो हिँडिरहेको" र आफूहरूले ब्वाँसोको निगरानी ड्रोनबाट गरिरहेको अधिकारीहरूले बताएका थिए।

अधिकारीहरूले नूगुलाई नियन्त्रणमा लिइएको बेलाको फोटो सार्वजनिक गरेका थिए।

उक्त ब्वाँसोको " तौल धेरै नघटेको" र उसले " खानेकुरा खाएको" देखिएको बताइएको छ। उनीहरूले उसको पेटभित्र 'फिसिङ हुक' फेला परेको थियो जसलाई इन्डोस्कोपी सर्जरी गरेर हटाइएको थियो।

"नूगुलाई घर फर्काउन कडा मेहनत गरेका सबैलाई धेरै धन्यवाद," नगर सरकारले सोसल मिडियामा लेखेको छ।

जनावरको अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरूले नूगु पुनः नियन्त्रणमा लिने क्रममा मारिन पनि सक्ने भन्दै चिन्ता जनाएका थिए। सन् २०१८ मा सोही चिडियाखानाबाट भागेको एउटा पुमाको ज्यान गएको थियो।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले सार्वजनिक रूपमा नूगुको सुरक्षित घर फिर्तीका लागि प्रार्थना गरेको कुरा सामाजिक सञ्जालमा राखिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।