तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सर्वोच्च अदालतको निर्णय : गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक
नेपाली कांग्रेसका दुई खेमाहरूमध्ये कुन चाहिँ आधिकारिक भन्ने विषयमा सर्वोच्च अदालतले आफ्नो निर्णय सुनाउँदै गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई मान्यता प्रदान गरेको छ।
निर्वाचन आयोगले मान्यता विरुद्धमा शेरबहादुर देउवा सर्वोच्च गएका थिए तर उनको माग अस्वीकार गर्दै रिट खारेज गरिएको छ। अदालतको वेबसाइटमा रिट खारेज गरेको उल्लेख छ।
न्यायाधीशहरू सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो निर्णय गरेको हो।
यस फैसलासँगै गत पुसको अन्तिम साता तात्कालिक महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई सभापति चुनेयताको विवाद अन्ततः टुङ्गिएको छ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी निराजन पाण्डेले बीबीसीसँग भने, "शेरबहादुर देउवाका तर्फबाट दायर गरिएको दुईवटै रिट खारेज भएको छ र विशेष अधिवेशनले आधिकारिकता पाएको छ।"
सर्वोच्च अदालतको फैसलामा पार्टीभित्र विधिवत विशेष महाधिवेशन माग भए पनि संस्थापन पक्षले नगरेपछि विधानसम्मत रूपमा विशेष महाधिवेशन पक्षधरले महाधिवेशन गरेको उल्लेख छ।
विशेष महाधिवेशनबाट पार्टीका सभापति चुनिएका गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएको र थापाको हस्ताक्षरबाट उम्मेदवार चयन भइ निर्वाचन समेत सम्पन्न भइसकेको पनि अदालतले उल्लेख गरेको छ।
फैसलामा भनिएको छ, "...उम्मेदवारको मनोनयन भइ निर्वाचनसमेत सम्पन्न भइ राजनीतिक वैधता पाई रिट निवेदन गर्दाको अवस्थामा हाल सारभूत परिवर्तन भईसकेको अवस्था...रिट निवेदनको रोहबाट हस्तक्षेप गरी हेर्न उपयुक्त देखिएन।"
निर्वाचन आयोगले समेत विशेष महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिएसँगै पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र उनीद्वारा कार्यवाहक सभापति नियुक्त पूर्णबहादुर खड्काले यस निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।
अदालतले प्रारम्भिक सुनुवाइका क्रममा अन्तरिम आदेश जारी नगरेपछि कांग्रेसले गगन थापाकै नेतृत्वमा प्रतिनिधिसभा चुनाव लडेको थियो।
देउवा पक्षकै कतिपय नेताहरू समेत थापाद्वारा हस्ताक्षरित उम्मेदवारी मनोनयनपत्र लिएर चुनावमा प्रतिस्पर्धा गरेका थिए।
त्यसबेला करिब साम्यजस्तो देखिएको पार्टीको आन्तरिक विवाद चुनावमा कांग्रेसको अपेक्षाभन्दा कम सीट आएसँगै बल्झिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।