बाढीबाट सडक र पुलमा रु १५ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन

तस्बिर स्रोत, Nepal Photo Library
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
बुधवार आएको भीषण बाढीका कारण सडक र पुलसम्बन्धी पूर्वाधारमा गरी रु. १५ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन रहेको सडक विभागका प्रमुखले बीबीसीलाई बताएका छन्।
"कुल १९ वटा पुल र ४० किलोमिटर सडकको गर्दा १५ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक आकलन छ," विभागका महानिर्देशक विजय जैसीले बीबीसी न्यूज नेपालीसँग भने।
यद्यपि बाढीले पुर्याएको क्षतिको यकिन विवरण आउन समय लाग्ने अधिकारीहरूले स्पष्ट पारेका छन्।
बेलिब्रिज राखिने
पुल बगेका स्थानमा बिहीवारबाटै बेलिब्रिज राख्न थालिने उनले जानकारी दिए। "हामीसँग पनि बेलिब्रिज छन् र मित्र राष्ट्रहरू भारत तथा चीनलाई पनि उपलब्ध गराउन अनुरोध गरिसकेका छौँ," जैसीले अगाडि थपे।
दुई देशबाट केकति सङ्ख्यामा बेलिब्रिज माग गरिएकोबारे अधिकारीहरूले केही उल्लेख गरेका छैन।
बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी वालेन्द्र शाह 'बालेन'सँग कुराकानी गरेको भन्दै सहयोगका लागि तयार रहेको बताएका छन्।
"नेपाललाई सम्भावित सबै मानवीय सहायता उपलब्ध गराउनका लागि भारत तयार छ। उद्धार तथा राहत कार्यमा हाम्रा टोलीहरू नजिक रहेर समन्वय गरिरहेका छन्," मोदीले सामाजिक सञ्जालमार्फत् भनेका छन्।
अकस्मात् आएको विनाशकारी बाढीले विभिन्न सडकखण्डहरूमा क्षति पुर्याएको विभागले जनाएको छ।
विभागका महानिर्देशक जैसीका अनुसार बाढीपछि स्याफ्रुबेँसी-रसुवागढीबीच पूर्ण रूपमा सम्पर्क टुटेको छ।

तस्बिर स्रोत, RSS
पुनर्निर्माण नसकिँदै फेरि क्षति
गत वर्षको बाढीपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेकोमा उक्त सडकखण्ड फेरि बाढीको चपेटामा परेको छ।
"त्यो निर्माणाधीन सडकमा कुन स्तरमा क्षति पुगेको छ भन्ने कुरा ठ्याक्कै भन्न सक्ने अवस्था छैन," महानिर्देशक जैसीले उल्लेख गरे।
अर्कोतर्फ गल्छी-बैरेनी सडकखण्ड बाढीका कारण अवरुद्ध भएको छ। लेदो हटाउन सकस भइरहेको अधिकारीहरूले बताएका छन्।
सडक विभागका अधिकारीहरूका अनुसार बाढीपछि विदुर-तादीखोला सडकखण्डमा पनि लेदो हटाउन गाह्रो भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रारम्भिक रूपमा हेर्दा तिब्बतमा पहिला हिउँपहिरोले नदी थुनिएको र अहिले "हिउँ पग्लिएका कारण" रसुवामा बाढी आएको अनुमान गरिएको छ।
अधिकारीहरूले बाढीबाट पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ-नारायणगढलगायत सडकमा यात्रा नगर्न र नगराउन आग्रह गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















