नेपाल-चीन सीमामा किन दोहोरिरहन्छन् विनाशकारी बाढीपहिरो

तस्बिर स्रोत, RSS
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ६ मिनेट
नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रको भौगोलिक बनोट, हिमतालहरूको स्थितिमा भइरहने परिवर्तन तथा वर्षायाममा हुने भारी वर्षाका कारण उक्त क्षेत्रमा आकस्मिक विपद्का घटना दोहोरिने गरेका विज्ञहरूले बताएका छन्।
बुधवार बिहान रसुवाको भोटेकोशी/त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्ला प्रभावित भएका छन्।
तीब्बती क्षेत्रमा थुप्रै हिमताल रहेका र नेपालतर्फका भिरालो भूभागतर्फ थुप्रै बस्तीहरू हुनाले हिमताल विस्फोटन र हिमपहिरोबाट हुने दुवै प्रकृतिका क्षति उक्त क्षेत्रले बेलाबखत बेहोर्ने गरेको छ।
"विगतको अनुभवसहित समग्रतामा हेर्ने हो भने उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धि र त्यसले गर्दा उक्त क्षेत्रमा आएको समग्र परिवर्तन नै यसको कारक भएको अनुमान गर्न सकिन्छ," राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग भने।
कारण

पोहोरजस्तै यसपालि पनि त्रिशूलीको बाढी नेपाली भूमिबाट नभई तिब्बततिर उत्पन्न भएको देखिएको अधिकारीहरूले बताएका छन्। बुधवार बिहान उक्त बाढी नेपाली भूभागमा प्रवेश गरेको थियो।
वरिष्ठ मौसमविद् तथा जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले घटनाको वास्तविक कारणबारे अहिले नै निष्कर्षमा पुग्न नसकिने बताइन्। "हामी बुझिरहेका छौँ। यही नै भएको हो भनेर भन्न सक्ने (स्थिति) छैन।"
त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको विपद् अध्ययन केन्द्रका निर्देशक वसन्त अधिकारी यतिखेर चीनको सिचुवानमा छन् र त्यहीँबाट घटनालाई नियालिरहेका छन्।
"घटनाका विशेषताहरूले यो हिमपहिरोको घटना हुन सक्ने सङ्केत गर्छन् र यहाँ पानी पूरै ननिख्रिएकाले जोखिम कायमै रहेका सूचनाहरू आइरहेका छन्। यकिन हुनलाई चाहिँ स्याटलाइट विश्लेषण पर्खिनुको विकल्प छैन।"
"विगतमा पनि यस्ता बाढीका घटनाहरूमा हिमताल विस्फोटन र हिमपहिरो कारकका रूपमा देखिँदै आएको छ," उनले भने।
किन दोहोरिन्छन् सीमावर्ती क्षेत्रमा यस्ता घटना

तस्बिर स्रोत, RSS
नेपाल र चीनबीचको उत्तरी सीमामा उच्च हिमाली भूभाग फैलिएको छ। सीमापारि तिब्बती पठार छ भने हिमाली क्षेत्रमा रहेका हिमनदी र तिनबाट बनेका हिमतालहरू तथा नेपालतर्फको पानीढलोले प्राकृतिक जोखिमलाई थप जटिल बनाउने जानकारहरू बताउँछन्।
विशेष गरी मनसुनका बेला भारी वर्षा, हिमनदीमा हुने परिवर्तन र हिमपहिरो एकअर्कासँग जोडिँदा छोटो समयमै ठूलो मात्रामा पानी र ढुङ्गामाटो तल्लो तटीय क्षेत्रमा पुग्ने गर्छन्।
अघिल्लो वर्ष पनि रसुवा क्षेत्रमा बाढी आउँदा जनधनको ठूलो क्षति भएको थियो।
"हिमताल विस्फोटन र हिमपहिरो नेपाल–चीन (खास गरी तीब्बत) सीमावर्ती क्षेत्रमा देखिने सम्भावित मौसमी तथा भौगोलिक जोखिम हुन्," त्रिविका सहप्राध्यापक सुदीप ठकुरीले भने।
"नेपालतर्फका भिराला भूभागमा बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार रहेका कारण तिब्बतमा हिउँपहिरो खस्दा वा हिमताल विस्फोट हुँदा नेपालपट्टिको तल्लो तटीय क्षेत्रमा बेलाबखत क्षति पुग्ने गरेको देखिन्छ।"
"यस्ता घटनाहरू विगतमा पनि थुप्रै पटक देखिएका छन्।"
हिमताल विस्फोट र हिमपहिरो
जानकारहरूका अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोट र हिमपहिरो हुनु नियमित तथा प्राकृतिक प्रक्रिया हुन्।
"उच्च हिमाली क्षेत्रमा हिमनदीको पानी जमेर बसेका थुप्रै तालहरू छन्। त्यो तालमा निरन्तर पानीको प्रवाह भइरहने हुँदा तालको बाँधले धान्न सक्नेभन्दा धेरै पानी जम्मा भएको खण्डमा पनि विस्फोटन हुन सक्छ," त्रिविका सहप्राध्यापक ठकुरीले भने, "त्यस्तै तालमा हिमपहिरो खस्दा पनि तालको पानी छचल्किएर बाहिर आउन सक्छ। त्यसलाई पनि हिमताल विस्फोट भन्छौँ।"
"कहिलेकाहीँ भूकम्पको कम्पनले पनि ताललाई प्रभावित तुल्याउन सक्नुका साथै कहिलेकाहीँ निरन्तर पानी परेको अवस्थामा पनि तालको किनारमा दबाव पैदा भई विस्फोट हुन सक्छ। यी कुनै पनि कारणले ताल फुट्छ भने हामी त्यसलाई हिमताल विस्फोट भन्छौँ।"
हिमपहिरोचाहिँ हिउँको पहिरो हो। कहिलेकाँही हिउँका ठूलै ढिक्का वा चट्टान भिरालो भागतर्फ खस्दा तिनले ताल फुटाउन वा नदी नै समेत थुनिदिन सक्ने र मौसमी विपद् निम्तिने जानकारहरू बताउँछन्।
"बुधवारकै घटनाका सन्दर्भमा लेन्देखोलामा हिउँपहिरोले पानी थुनेर घटना भएको आकलन गरिए पनि बाढी आउनुअघि खोला थुनिएर पानीको सतह घटेको विवरण आएको देखिँदैन," पुल्चोक क्याम्पसमा वसन्त अधिकारी भन्छन्।
यसअघिका घटना

तस्बिर स्रोत, Department of Customs
हिमाली क्षेत्रमा हिमताल विस्फोटन र हिमपहिरोका सानाठूला मौसमी घटनाहरू हुनुलाई त्रिविका सहप्राध्यापक ठकुरी असामान्य मान्दैनन्। यद्यपि उनी बुधवार आएको बाढीलाई भने दुर्लभ ठान्छन्।
"घटनाका जति पनि भिडिओहरू हामीले हेर्यौँ, त्यसले यो ठूलै घटना हो भन्ने देखाउँछ। नदीको जलस्तर (नियमितको तुलनामा) १५-२० मिटरले बढेको देखिन्छ।"
रसुवामा रहेकी बीबीसी संवाददाता शक्तिमाया तामाङले त्यस क्षेत्रका केही ज्येष्ठ मानिसहरूसँग यस्ता घटनाका बारेमा कुरा गरेकी थिइन्।
"त्यस क्रममा उनीहरूले यो स्तरको घटना विगतमा नदेखेको बताए," उनी भन्छिन्।
रसुवामा अघिल्लो वर्षको पनि ठूलो बाढी आएको र त्यसमा ठूलो जनधनको क्षति भएको थियो। त्यतिबेला लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएको अध्ययनहरूले देखाएका छन्।
उक्त आकस्मिक बाढी तल झर्दै जाँदा वरिपरिको ढुङ्गा, माटो र बालुवासहितको बाढीमा परिणत भएको र त्यसले भोटेकोशी नदी किनार तथा सडक, पुल, विद्युत्गृह तथा आवादी क्षेत्रलगायतका पूर्वाधारमा व्यापक क्षति पुर्याएको सरकारी प्रतिवेदनहरूमा उल्लेख छ।
सन् २०२४ मै सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे भन्ने ठाउँमा अचानक आएको बाढीले पनि दर्जनौँ घरमा क्षति पुर्याएको थियो।
त्यस्तै विसं २०७३ मा कोदारी क्षेत्रमा आएको बाढीलाई पनि निकै ठूलो मानिन्छ। तिब्बतमा हिमताल फुटेपछि आएको बाढीले कोदारी तथा तातोपानीका भवन, अरनिको राजमार्ग र माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको थियो।
जोगिन सकिन्छ?
त्रिविका सहप्राध्यापक ठकुरी यस्ता मौसमी परिघटनाहरूलाई रोक्न नसकिए पनि सावधानी अपनाएर जनधनको क्षति भने कम गर्न सकिने बताउँछन्।
"अचेत 'अर्ली वार्निङ सिस्टम' (पूर्वसूचना प्रणाली)को प्रयोग हुन थालेको छ। हिमताल र आसपासका क्षेत्रमा जडान गरिने त्यस्ता प्रणालीले तालको जलस्तर र बाँधको अवस्थाबारे 'रिअल टाइम' (तत्काल) जानकारी प्रदान गर्छन्," उनले भने, "यस्ता घटनाबारे पूर्वजानकारी प्राप्त हुन सके मानवीय क्षति कम गर्न सकिन्छ।"
त्यस्तै पुल्चोक क्याम्पसका अधिकारी 'अर्ली वार्निङ सिस्टम' उपयोगी हुन सक्ने भए पनि अन्तरदेशीय प्रकृतिका घटनाका हकमा चीनसँग सरकारी तहमा समन्वय बढाउनुपर्ने बताउँछन्।
"नेपालबाटै (बाढी) उत्पन्न भएको भए हामीले यहीँबाट हेर्न सक्थ्यौँ तर अहिले देखिएको जस्तो घटनाका हकमा भने अन्तरदेशीय सूचना प्रणालीलाई मजबुत पार्नुपर्छ। अहिले त्यस्तो भइरहेको देखिँदैन।"
"जहाँ यस्ता घटनाहरू सिर्जना हुन्छन्, त्यहाँ मानव बस्ती छैन। मानिसका माध्यमबाट खबर आदानप्रदान गर्न गाह्रो हुने भएकाले स्याटलाइट स्टेशनहरू राखेर त्यसैबाट निगरानी गर्नुपर्छ," अधिकारीले भने, "अन्यथा सीमाभन्दा तल हाम्रो बस्तीहरू भएकाले हामी सबैभन्दा बढी मर्कामा पर्छौँ।"
नेपालका कतिपय नदी क्षेत्रका जलाधारमा यस्तो प्रणाली राख्न थालिएको भए पनि हिमाली क्षेत्रमा भने यसको प्रयोग प्रारम्भिक चरणमै रहेको जानकारहरू बताउँछन्।
"त्यसबाहेक, जोखिमयुक्त क्षेत्रहरू पहिचान गरेर नदी किनारका बस्तीहरूलाई स्थानान्तरण गर्न पनि सकिन्छ," त्रिविका ठकुरीले भने, "जनधनको क्षति हुन नदिन जोखिमयुक्त क्षेत्रमा बस्ती बस्न हुँदैन भन्ने नै (सबैभन्दा प्रभावकारी उपाय) हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















