प्रभावित जिल्लालाई तीन महिना सङ्कटग्रस्त क्षेत्र घोषणा गरिने, रसुवा बाढीमा क्षतिको पछिल्लो विवरण

तस्बिर स्रोत, EPA
प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले भूकम्पसँगै आएको हिम पहिरोका कारण रसुवा विपद्को अवस्था आएको बताउँदै त्यसबारे थप पुष्टि गर्ने काम भइरहेको बताए।
बिहान करिब ८ बजेर ४० मिनेट जाँदा रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोट जिल्लाका विभिन्न ठाउँहरू प्रभावित बनेको उनले सदनलाई बताए।
८:३७ बजे गएको भूकम्पका कारण उक्त बाढी आएको प्रारम्भिक जानकारी रहेको उनले बताएका हुन्।
गृह मन्त्रालयको विवरणमा प्रभावित क्षेत्रमा सेना र निजी हेलिकप्टरहरूद्वारा रसुवागढी, टिमुरे‚ स्याफ्रुबेँसी र मैलुङमा उद्धारकार्य भइरहेको जनाइएको छ।
प्रभावित जिल्लालाई तीन महिना 'विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा' गर्ने निर्णय समेत सरकारले गरेको उनले बताए।
मन्त्री खनालले रसुवाको बाढीसँगै 'राष्ट्रिय विपद्को अवस्था' रहेको र 'प्रारम्भिक सूचनाहरू' मात्र आइरहेको बताए।
तटीय क्षेत्रमा 'सतर्कता आवश्यक'
भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रमा अझै जोखिम रहेको बताउँदै उनले नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी आसपास र तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरे।
प्रभावित नागरिकको उद्धार तथा राहतमा काम गर्न सबै निकायलाई निर्देशन दिइएको बताउँदै खनालले सरकारले घाइतेहरूको नि:शुल्क उपचार एवं बिचल्लीमा परेकाहरूलाई उद्धार गर्दै सुरक्षित स्थानमा सार्ने काम विभिन्न मन्त्रालय एवं सेनाको सहयोगमा भइरहेको बताए।
सेना र निजी हेलिकप्टर कम्पनीहरूलाई त्यस क्रममा परिचालन गर्ने निर्णय भएको समेत उनले बताए।
मन्त्री खनालका अनुसार २६ जना प्रहरी, ९ जना सशस्त्र प्रहरी ४४ जना नेपाली सेना, भन्सार र अध्यागमन क्षेत्रका कर्मचारी, र केही स्थानीयबासीहरू सम्पर्कविहीन छन्।
यसअघि नेपाल पर्यटन बोर्डले एक विज्ञप्ति जारी गर्दै २९१ जना विदेशीसहित करिब ४०० जना पर्यटकहरू हराइरहेको जनाएको छ।
पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हिक्मत ऐरले ती अधिकांश तिब्बत मानसरोवर जाने क्रममा रहेका यात्रुहरू रहेको उनीहरू सम्बद्ध ट्राभल तथा टुर कम्पनीहरूले जनाएको बीबीसीलाई बताए।
सदनमा बोल्ने क्रममा मन्त्री खनालले हालसम्म ९ जनाको शव सनाखत हुन नसकेको अवस्थामा रहेको उनले बताए।
सडक पुल, जलविद्युत क्षेत्र र अन्य सार्वजनिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको उनले बताए।
गल्छी-नुवाकोट, रसुवाको स्याफ्रुबेँसी सडक एवं मुग्लिङ नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन सरकारले अनुरोध गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















