पाकिस्तान आक्रमण: बन्दुकधारीले बलोचिस्तानस्थित होटलमा पाँच जनालाई मारिदिए

बलोचिस्तानस्थित पाँचतारे होटल
Published
पढ्ने समय: ३ मिनेट

पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित एउटा विलासी होटलमा शनिवार आक्रमण गरेर एउटा सशस्त्र समूहले सो होटलका चार कर्मचारी र एक सैनिकलाई मारिदिएको पाकिस्तानी सेनाले बताएको छ।

अरब सागरनजिकै ग्वादारमा रहेको जाभेर पर्ल कन्टिनेन्टल होटल शनिवार अपराह्ण छिरेका तीन बन्दुकधारीसँग सुरक्षाकर्मीको भिडन्त भएको थियो।

भिडन्तमा ती तीन जना आक्रमणको पनि ज्यान गएको थियो। घटनामा अन्य छ जना घाइते भएका छन्।

होटलका प्रवक्ताका अनुसार रमजानको बेला भएकाले होटलमा अतिथि थिएनन् र कर्मचारीहरू पनि थौरै सङ्ख्यामा थिए।

पृथक्तावादी समूह बलोचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिँदै चिनियाँ र अन्य लगानीकर्तालाई लक्षित गरिएको बताएको छ।

सो होटल अर्बौँ डलर चिनियाँ लगानीमा बनेको एउटा परियोजनामा पर्छ।

विदेशी लगानीबाट स्थानीय जनतालाई लाभ नपुगेको भन्दै बलोच लडाकुहरूले विदेशी लगानीको विरोध गर्ने गरेका छन्।

ज्यान जाने को हुन्?

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) का अनुसार आक्रमणकारीहरूले होटलका एक सुरक्षाकर्मी र अन्य तीन कर्मचारीलाई मारिदिएका थिए।

जाभेर पर्ल कन्टिनेन्टल होटल

आक्रमणकारीविरुद्ध सञ्चालन गरिएको कारबाहीमा पाकिस्तानी जलसेनाका एक सैनिकको पनि मृत्यु भयो।

उनको नाम अब्बास खान भएको बताइएको छ।

घाइतेमध्ये दुई सैन्य अधिकृत, दुई जलसेनाका सैनिक र दुई होटल कर्मचारी छन्।

घटना कसरी भयो?

सैन्य पोसाक लगाएका र हतियार बोकेका तीन व्यक्ति शनिवार स्थानीय समयानुसार दिउँसो ४:५० बजे सो होटलमा छिरे।

होटलका एक सुरक्षाकर्मीले रोक्न खोज्दा आक्रमणकारीहरूले उनलाई गोली हानेर मारिदिए।

त्यसपछि आक्रमणकारीहरू होटलको माथिल्लो तल्लातिर गए। पाकिस्तानी सेनाका अनुसार उनीहरूको उद्देश्य होटलमा बसेका अतिथिलाई बन्दी बनाउनु थियो।

ग्वादार

माथि जाने क्रममा उनीहरूले होटलका कर्मचारीलाई गोली हानेर मारिदिए।

आईएसपीआरका अनुसार आक्रमणकारीहरूले सीसीटीभीको तार काटिदिएका थिए तथा चौथो तलामा अरूलाई आउन नदिन बम राखेका थिए।

चौथो तलामै सुरक्षाकर्मीहरूले उनीहरूलाई मारिदिएका हुन्।

आक्रमणबारे सञ्चारमाध्यमले सीमित सूचना मात्र प्रवाह गरेर आक्रमणकारीलाई सुरक्षा कारबाहीसम्बन्धी विस्तृत जानकारी उपलब्ध नगराएकोमा सेनाले धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया के छ?

प्रधानमन्त्री इमरान खानले ग्वादारको आक्रमण बलोचिस्तानको समृद्धि विफल पार्ने प्रयास भएको बताएका छन्।

उक्त होटल अरब सागरमा रहेको ग्वादर बन्दरगाहनजिकै एउटा डाँडामा अवस्थित छ।

चीनसँग यातायात र पारवहन जोड्ने उद्देश्यका साथ चाइना-पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) अन्तर्गत चीनले उक्त परियोजनामा लगानी गरेको छ।

चिनियाँ दूतावासले पाकिस्तानी सेना र सुरक्षानिकायले गरेको कारबाहीको प्रशंसा गरेको छ।

बलोचिस्तानका मुख्यमन्त्री जाम कमल खानले "यस्ता आक्रमणले हामी हतोत्साहित पार्न सक्दैन र र बलोचिस्तान आफ्नो प्रगतिको मार्गमा हिँड्नुपर्छ" भनेका छन्।

यसअघि चिनियाँ र पाकिस्तानी अधिकारीहरूले यो आक्रमणका कारण द्विपक्षीय सहकार्यमा प्रभाव नपर्ने बताएका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

सो क्षेत्रमा चिनियाँ लगानीकर्तालाई लक्षित गरिएका घटना पहिला पनि भएका थिए।

बन्दुकधारीले ११ सुरक्षाकर्मीसहित १४ जनाको ज्यान लिएको एक सातापछि यो आक्रमण भएको हो।

बलोचिस्तानको स्थिति के छ?

बलोचिस्तान चीनको महत्त्वाकाङ्क्षी परियोजना सीपीईसीको मुटुमै पर्छ। त्यहाँ चीनले भौतिक पूर्वाधार निर्माण गर्न ठूलो लगानी गरेको छ।

ग्वादार

आफ्नो देशको सिन्जियाङ प्रान्त र बलोचिस्तानस्थित अरब सागरको ग्वादार बन्दरगाह जोड्ने चीनको लक्ष्य रहेको छ।

बलोचिस्तानमा ठूलो जनघनत्व छैन। तर त्यहाँ ग्यास र कोइलाको ठूलो भण्डार रहेको छ। त्यहाँ तामाखानी र सुनखानी पनि छन्।

प्राकृतिक स्रोत र खनिज पदार्थसम्पन्न भए पनि बलोचिस्तान आर्थिक रूपमा विपन्न छ।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

बलोच राष्ट्रवादीहरूले इस्लामाबादले शोषण गरेको र प्रान्तलाई अधिकार नदिएको आरोप लगाउँदै आएका छन्।

बलोचिस्तानको सीमा अफगानिस्तान र इरानसँग जोडिएको छ।

सो क्षेत्रमा पाकिस्तानी तालिबान, बलोचिस्तान लिबरेशन आर्मी र सुन्नी मुसलमानको अतिवादी समूह लश्कर-ए-जाङ्ग्भीसहित विभिन्न लडाकु समूह सक्रिय छन्।

Map