साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि हमला गरेको हूथी विद्रोहीको दाबी

अरामको तेल प्रशोधन केन्द्र
Published
पढ्ने समय: २ मिनेट

यमनका हूथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादस्थित अरामको तेल प्रशोधन केन्द्रमाथि गरिएको हमलाको जिम्मेदारी लिएको बीबीसी न्यूज पर्सिअनले जनाएको छ।

समाचार संस्थाहरूले जनाएअनुसार हूथीहरूले शनिवारको हमलामा बलिस्टिक क्षेस्यास्त्र तथा ड्रोनहरूको प्रयोग गरेका थिए।

साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा गरेका आक्रमणहरूको जवाफ स्वरूप आफूहरूले हमला गरेको हूथी विद्रोहीहरूले बताएका छन्।

यसअघि एक जना प्रत्यक्षदर्शीले समाचार संस्था रोएटर्सलाई बताएअनुसार शनिवार बिहान रियादस्थित अरामको तेल प्रशोधन केन्द्रनजिकै धुवाँ र आगोको मुस्लो देखिएको थियो।

प्रतिक्रिया आउन बाँकी

साउदी अरबका अधिकारीहरूले अरामको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरिएको अझैसम्म पुष्टि गरेका छैनन्।

अरामकोले पनि हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। साउदी सरकार स्वामित्वको अरामको विश्वका ठूला ऊर्जा तथा रसायन कम्पनीहरूमध्ये एक हो।

यसअघि सेप्टेम्बर दोस्रो सातातिर इराकी भूमिबाट गरिएको ड्रोन हमलापछि साउदी अरबले एउटा महत्त्वपूर्ण तेलको पाइपलाइन बन्द गरेको थियो।

बाह्र सय किलोमिटर लामो उक्त पाइपलाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबलाई होर्मुज जलमार्ग प्रयोग नगरीकनै आपूर्ति गर्न मद्दत पुर्‍याउँदै आएको छ।

हूथीमाथि यमनमा आक्रमण

सानामा क्षतिग्रस्त हलअगाडि हूथी लडाकुहरू

यसैबीच यमनको सरकारी सेनाले राजधानी साना र हुथीको बलियो पकड रहेको सादामा इरान समर्थित हूथी विद्रोहीहरूमाथि आक्रमण गरिरहेको जनाएको छ।

सेनाले प्रमुख स्थानहरूलाई निशाना बनाइरहेको एक जना प्रवक्ताले बताएका छन्। यसअघि हूथी विद्रोहीद्वारा सञ्चालित अल मसिराह टीभीले साउदी लडाकु विमानहरूले राजधानीमा बारम्बार आक्रमण गरेको जनाएको थियो।

इरानसँग युद्ध शुरू भएदेखि हूथीहरूले साउदी तेल प्रशोधन केन्द्रहरू र जहाजहरूलाई लक्षित गर्दै साउदी अरबमाथि नौसैनिक नाकाबन्दी लगाएका छन्।

हूथी विद्रोहीहरूले रेड सीको तटमा पर्ने रणनीतिक बिन्दुहरूमाथि पनि नियन्त्रण कायम गरेका छन्।

इरान समर्थित हूथी विद्रोहीहरूले यसै वर्षको जुलाई महिनायता साउदी अरबमाथि आक्रमण बढाएको बताइन्छ।

हूथीहरूले साउदी अरबको समर्थन रहेको यमनको सरकारविरुद्ध गृहयुद्ध गरिरहेका छन्। यमनको उक्त सरकारले अन्तर्राष्ट्रिय मान्यता पाएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा पछिल्लो समय जारी लडाइँका कारण हजारौँ मानिसहरू विस्थापित भएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।