पृथ्वीमा कति वटा उत्तरी ध्रुव छन्?

ध्रुवीय भालु
Published
पढ्ने समय: ५ मिनेट

हामी सबैले उत्तरी ध्रुवबारे सुनेकै हुनुपर्छ। जमेको समुद्र, ध्रुवीय भालु, उत्तरी प्रकाश अनि मध्यरातको सूर्य त्यहाँका विशेषता हुन्।

तर के तपाईँलाई थाहा छ, उत्तरी ध्रुवको परिभाषा त्यति सजिलो छैन। अनि तिनीहरू एकभन्दा धेरै वटा छन्।

ब्रिटिश जलवायु वैज्ञानिक तथा अन्वेषक फेलिसिटी एस्टनका अनुसार "पृथ्वीमा कैयौँ उत्तरी ध्रुव छन्।"

"सबैको परिभाषाभित्र पर्ने दुई वटा उत्तरी ध्रुव छन्। ती चुम्बकीय उत्तरी ध्रुव र भौगोलिक उत्तरी ध्रुव हुन्," बीबीसीको पडकास्ट द इन्फनिट मङ्की केजसँग कुरा गर्दै उनले भनिन्।

भौगोलिक उत्तरी ध्रुव

एस्टनका अनुसार आममानिसहरूले उत्तरी ध्रुव भनेर बुझ्ने र कुरा गर्ने भनेको भौगोलिक उत्तरी ध्रुव हो।

पृथ्वीलाई अलिकति ढल्किएको गोलाकार वस्तुका रूपमा कल्पना गर्नुहोस्। यसको बीच भागबाट माथिदेखि तलसम्म एउटा डन्डी छिराएको कल्पना गर्दा जुन काल्पनिक रेखा बन्छ त्यसलाई पृथ्वीले परिक्रमा गर्ने अक्ष भनिन्छ।

यो काल्पनिक अक्षले पृथ्वीको उत्तरी सतहलाई जहाँ भेट्छ, त्यही बिन्दु भौगोलिक उत्तरी ध्रुव हो। यो आर्कटिक महासागरको पानी र बरफमाथि पर्छ। यही अक्षको ठीक अर्कोपट्टिको छेउमा दक्षिणी ध्रुव पर्छ। त्यो अन्टार्कटिकामा पर्छ।

भौगोलिक र चुम्बकीय ध्रुव देखाउने चित्र

भौगोलिक उत्तरी ध्रुव "हाम्रो ग्रहको ठीक ९० डिग्रीमाथि पर्छ," एस्टन भन्छिन्। यो बिन्दुमा देशान्तरका सबै रेखाहरू एक ठाउँमा जोडिन्छन्।

यो बिन्दु चुम्बकीय उत्तरी ध्रुवजस्तो परिवर्तनशील हुँदैन।

चुम्बकीय उत्तरी ध्रुव

पृथ्वीलाई बाहिरी सतहमा हुने विद्युतीय प्रवाहबाट उत्पन्न हुन्ने चुम्बकीय क्षेत्रले घेरेको छ। यो क्षेत्रले सौर्य वायु र विकिरणबाट हामीलाई जोगाउन मद्दत गर्छ।

सामान्य चुम्बकमा जस्तै पृथ्वीमा पनि दुईवटा चुम्बकीय ध्रुव छन्, एउटा माथिल्लो भागमा र अर्को तल्लो भागमा।

पृथ्वी वरिपरिका चुम्बकीय क्षेत्रको स्वरूप पनि चुम्बकको एउटा डन्डी वरिपरि बन्नेजस्तै हुन्छ। चुम्बकीय रेखा चुम्बकीय क्षेत्रको दिशा र शक्ति देखाउन प्रयोग गरिने दृश्यात्मक माध्यम हो।

चुम्बकीय उत्तरी ध्रुव पृथ्वीको त्यो बिन्दु हो, जहाँ चुम्बकीय क्षेत्रले ठाडो रूपमा तलतिर सङ्केत गर्छ। यसलाई कम्पासको सहायताले मापन गर्न सकिन्छ। कम्पासले चुम्बकीय उत्तरतर्फ सङ्केत गर्छ।

तर पृथ्वीको बाहिरी सतहमा रहेको तरल धातु चलिरहने भएकाले पृथ्वीको चुम्बकीय क्षेत्र पनि सर्छ। यसको अर्थ समयसँगै चुम्बकीय उत्तरी ध्रुवको स्थान पनि बदलिरहन्छ।

पृथ्वीको चुम्बकीय ध्रुव देखाउने चित्र

"वर्षौँदेखि यो उत्तरी क्यानडाको क्वीन एलिजाबेच टापुहरू लगायतका तैरिरहेको थियो," एस्टन भन्छिन्। "पछिल्ला १० वर्षमा यसको गति अझै बढेको छ।"

सन् २०१९सम्म यो प्रतिवर्ष ५० देखि ६० किलोमिटरi सरिरहेको युरोपेली अन्तरिक्ष निकायले जनाएको छ।

एस्टनका अनुसार अहिले चुम्बकीय उत्तरी ध्रुव क्यानडाभन्दा साइबेरियाको तटनजिक पुगेको छ।

कहिलेकाहीँ उत्तरी र दक्षिणी ध्रुवको स्थानसमेत साटफेर हुन सक्छ। यस घटनालाई भूचुम्बकीय ध्रुव उल्टिने प्रक्रिया भनिन्छ।

प्राचीन चुम्बकीय अभिलेखबाट हामीलाई थाहा हुन्छ कि पछिल्लो १६ करोड वर्षमा यस्तो सयौँ पटक भएको छ। सबैभन्दा पछिल्लो पटक करिब ७,८०,००० वर्षअघि यस्तो भएको थियो।

अन्य उत्तरी ध्रुवहरू

उत्तरी ध्रुव अन्य किसिमका व्याख्याहरू निकै कम मात्र थाहा छन्। तीमध्ये केही व्याख्याहरू चुम्बकीय वा भौगोलिक उत्तरी ध्रुवको तुलनामा केही विवादित पनि छन्।

त्यसमध्येको एक भूचुम्बकीय उत्तरी ध्रुव, चुम्बकीय उत्तरी ध्रुवभन्दा फरक छ।

चुम्बकीय उत्तरी ध्रुव पृथ्वीको वास्तविक चुम्बकीय क्षेत्रका आधारमा निर्धारण गरिन्छ। तर भूचुम्बकीय उत्तरी ध्रुव पृथ्वीको चुम्बकीय क्षेत्रको काल्पनिक र सरलीकृत नमुनाका आधारमा गणना गरिएको स्थान हो।

"यो एक प्रकारको सैद्धान्तिक उत्तरी ध्रुव हो अर्थात् पृथ्वी साँच्चिकै निश्चित प्रकारको चुम्बकको रडजस्तै भएको र त्यसको चुम्बकीय क्षेत्र सबैतिर पूर्ण रूपमा समान र एकरूप भएको अवस्थामा हुने उत्तरी ध्रुव हो," एस्टन भन्छिन्।

उनका अनुसार धेरै कम्प्युटर मोडलहरूमा भूचुम्बकीय उत्तरी ध्रुव प्रयोग गरिन्छ।

उत्तरपूर्वी साइबेरियाको ओइम्याकनलाई उत्तरी ध्रुवको सबैभन्दा चिसो बस्ती
तस्बिरको क्याप्शन, उत्तरपूर्वी साइबेरियाको ओइम्याकनलाई उत्तरी ध्रुवको सबैभन्दा चिसो बस्तीका रूपमा चिनिन्छ

त्यसपछि आउँछ चिसो उत्तरी ध्रुव अनि दुर्गम वा पुग्नै नसकिने उत्तरी ध्रुव।

पहिलो पृथ्वीमा मानव बसोबास भएको सबैभन्दा चिसो ठाउँ हो। पूर्वोत्तर साइबेरियाको ओइम्याकन उत्तरी ध्रुवको सबैभन्दा चिसो बस्तीका रूपमा चिनिने गर्छ।

दुर्गम उत्तरी ध्रुव आर्क्टिक सागरमा पर्छ र पृथ्वीको जमिनबाट सबैभन्दा टाढा र सबै दिशाबाट पुग्न नसकिने स्थानमा पर्छ।

अर्को खगोलशास्त्रीहरूले प्रयोग गर्ने खगोलीय उत्तरी ध्रुव पनि छ।

यो उत्तरी आकाशको एउटा काल्पनिक बिन्दु हो, जहाँ पृथ्वीको परिक्रमण अक्ष सीधा अन्तरिक्षतर्फ सोझिएको हुन्छ। यो आकाशमा भौगोलिक उत्तरी ध्रुवको ठीक माथि र ध्रुवतारा 'पोलारिस'को निकै नजिक पर्छ।

यो तस्बिरको मध्यभागमा खगोलीय उत्तरी ध्रुव नजिक देखिने ध्रुवतारा छ
तस्बिरको क्याप्शन, यो तस्बिरको मध्यभागमा देखिने ध्रुवतारा खगोलीय उत्तरी ध्रुवबाट निकै नजिक छ

"यदि आकाश एउटा पृथ्वीलाई वरिपरिबाट घेरेको एउटा गोलो क्षेत्रका रूपमा कल्पना गर्ने हो भने, त्यस्तो खगोलीय गोलाको उत्तरी ध्रुवलाई पृथ्वीको सतहसम्म प्रक्षेपण गर्दा केही मानिसले त्यसलाई पृथ्वीको सतहमा रहेको अर्को उत्तरी ध्रुव पनि भन्छन्," एस्टन भन्छिन्।

उत्तरी ध्रुव पत्ता लगाउने तरिका

उत्तरी ध्रुव कैयौँ किसिमका भए पनि सैद्धान्तिक रूपमा ती कहाँ छन् भन्ने ठम्याउन धेरै कठिन चाहिँ छैन। तर तपाइँ साँच्चिकै उत्तरी ध्रुव पुगेर तीमध्ये केही ठ्याक्कै कहाँ छन् भनेर पत्ता लगाउनु चाहिँ निकै मुस्किल पर्न सक्छ।

"पछिल्लो पटक म स्की गर्न [भौगोलिक] उत्तरी ध्रुव जाँदा हेलिकप्टरले मलाई आर्क्टिक महासागरको जमेको सतहमा, करिब ८० किलोमिटर टाढा छोडिदियो... त्यसपछि मैले आफैँ बाटो पत्ता लगाउनुपर्‍यो," एस्टन सुनाउँछिन्। "चारै दिशा ठ्याक्कै उस्तै देखिन्छ।"

"त्यस्तो अवस्थामा भए के गर्ने? तपाइँ कम्पास प्रयोग गर्नुहुन्छ?" उनको प्रश्न छ।

भौगोलिक उत्तरी ध्रुवमा केही मानिसहरू
तस्बिरको क्याप्शन, भौगोलिक उत्तरी ध्रुवमा सबैभन्दा पहिले को पुग्यो भन्ने दाबीमा कतिपयको विमती छ

तर कम्पासको पनि एउटा समस्या छ। यसले भौगोलिक उत्तरी ध्रुव नभई चुम्बकीय उत्तरी ध्रुवतर्फ देखाउँछ।

तर उपाय छ। यस्तो अवस्थामा आफू जाने ठाउँ पत्ता लगाउन 'डिक्लिनेसन' भनिने कोण प्रयोग गर्न सकिन्छ। यो भौगोलिक उत्तर र कम्पासको सुईले देखाउने दिशाबीचको कोण हो। तर एस्टनका अनुसार, डिक्लिनेसन "तपाईं कहाँ हुनुहुन्छ भन्ने आधारमा परिवर्तन हुन्छ।"

"अनि तपाईं उभिनु भएको बरफ पनि अनियमित रूपमा चलिरहेको बेला यो सबै गर्न खोजिरहनुभएको हुन्छ। त्यो बरफ सधैँ एउटै गतिमा वा एउटै दिशामा चलिरहेको पनि हुँदैन," उनी थप्छिन्।

यस्तो अवस्थामा अर्को विकल्प जीपीएस हो।

तर यो प्रणाली पनि प्रायः ब्याट्रीबाट चल्छ। चिसो तापक्रममा ब्याट्री निकै छिटो सकिने भएकाले यसमा सधैँ भर पर्न सकिँदैन।

अर्कोतर्फ 'सेक्स्ट्यान्ट'जस्ता पुराना दिशा देखाउने उपकरण पनि सूर्यमा निर्भर हुन्छन्। तर आकाश बाक्लो बादलले ढाकिएको बेला तिनको प्रयोग गर्न गाह्रो हुने एस्टन बताउँछिन्।

"उत्तरी ध्रुवतर्फ जाने बाटो पत्ता लगाउने अनेक विधि छन् तर तीनका पनि आ-आफ्नै कमजोरी छन्। त्यसैले अन्ततः ती सबै विधिलाई अलिअलि मिसाएर प्रयोग गर्नुपर्ने हुन्छ," उनी भन्छिन्।

"यो अलिअलि अनुमानको खेल पनि हो।"

इन्फनिट मङ्की केजको एक संस्करणबाट। डेजी स्टेफन्सबाट थप रिपोर्टिङ।