रुससँग सम्झौता नगरे युक्रेनलाई झन् गाह्रो हुने अमेरिकाको चेतावनी

तस्बिर स्रोत, Reuters
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुससँग सम्झौता गर्न युक्रेनमाथि फेरि दबाव दिएका छन्।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा ट्रम्पले युक्रेनले युद्धको "व्यवस्थापन गर्नुपर्ने" कुरा बारम्बार दोहोर्याएका हुन्। रुससँग सम्झौता नगरेमा किएभको अवस्था झन् खराब हुने उनको तर्क छ।
अमेरिकी विशेषदूतले नयाँ चरणको कूटनीतिक संवाद गरिरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो।
विशेषदूत स्टिभ विट्कफले मङ्गलवार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, नर्वेका प्रधानमन्त्री र फिनल्यान्डका राष्ट्रपतिसँग ओस्लोमा वार्ता गरेका छन्। ती वार्ताहरूलाई ह्वाइट हाउसले "निकै रचनात्मक एवं उपलब्धिमूलक" भनेको छ।
विशेषदूत रुसतर्फ
नर्वेका प्रधानमन्त्रीले युक्रेन "गम्भीर समयबाट गुज्रिरहेको" भन्दै अमेरिका र युरोपेली साझेदारहरूसँग किएभको बैठक आयोजना गरिएको बताएका थिए।
उनले कूटनीतिक संवादमार्फत् युद्धको अन्त्य एवं दीर्घकालीन शान्ति सुनिश्चित गर्न खोजिएको संसद्लाई जानकारी गराएका थिए।
विट्कफले बुधवार रुसको सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै छन्।
पछिल्लो समय युक्रेन र ट्रम्प प्रशासनबीचको सम्बन्धमा तिक्तता देखिएको विवरण आइरहेको छ। तर जेलेन्स्कीले केही समयको विश्रामपछि अमेरिकाले रुसी क्षेप्यास्त्र हमलाहरूअघि फेरि पूर्वसूचना दिन थालेको सङ्केत गरेका छन्।

तस्बिर स्रोत, Getty Images
यसअघि युक्रेनी राष्ट्रपतिका एक सैन्य प्राविधिक सल्लाहकारले रुसी हमला हुनुअघि अमेरिकाले पूर्वसूचना नदिनुको अर्थ धेरै युक्रेनी नागरिकले ज्यान गुमाउनु रहेको बीबीसीलाई बताएका थिए।
तर त्यसको खण्डन गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबिओले अमेरिकाले गुप्तचर सूचना रोक्दा युक्रेनीहरूले ज्यान गुमाइरहेको भनी युक्रेनी राष्ट्रपतिको दाबीलाई "प्रचारबाजी" भएको टिप्पणी गरेका थिए।
ओस्लो वार्तामा सहभागी फिनल्यान्डका राष्ट्रपति एलेक्सान्डर स्टुबले शान्ति प्राप्तिसम्बन्धी प्रस्तावहरूमा "वास्तविक प्रगति" हासिल भएको बताएका छन्। यद्यपि उनले त्यसबारे विस्तृत खुलाएनन् तर धैर्य आवश्यक रहेको टिप्पणी गरे।
जेलेन्स्की र उनका युरोपेली साझेदारहरूले ओस्लोमा सहमति जुटाइएका प्रस्तावहरूबारे के गर्ने भन्ने कुरा अब रुसमाथि निर्भर गर्ने बताएका छन्।
ट्रम्पका आरोप
पछिल्ला साताहरूमा युक्रेन र अमेरिकाबीचको सम्बन्धमा यतिसम्म तिक्तता देखियो कि युक्रेनले नयाँ राष्ट्रपति खोज्नुपर्ने ट्रम्पले टिप्पणी गरे भने "युक्रेनको तर्फबाट अरू कसैले सम्झौता गर्नुपर्ने"सम्मका कुरा गरे।
अमेरिकी मध्यावधि चुनाव आउन लागेका बेला ट्रम्पले तेलको मूल्य बढ्नुमा रुसी प्रशोधन केन्द्रहरूमाथि युक्रेनी हमलाहरू जिम्मेवार रहेको आरोप समेत लगाएका छन्।
जेलेन्स्कीले ओस्लोमा पत्रकार सम्मेलनमा बोलिसकेपछि ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किएभलाई मस्कोसँग एउटा सम्झौता गर्न भने। रुसले "त्यो चाहेको" भन्दै ट्रम्पले "युक्रेनले युद्ध अन्त्य गर्ने समय आएको" उल्लेख गरे।
सन् २०२२ देखि पूर्णस्तरमा अतिक्रमण थालेको रुसले हाल युक्रेनको करिब २० प्रतिशत भूभागमाथि नियन्त्रण गरिसकेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























