एशियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शनका कारण

- Author, निरञ्जन राजवंशी
- Published
- पढ्ने समय: ४ मिनेट
'स्वर्णसहित दोहोरो अङ्कको पदक' अर्थात् कम्तीमा १० वटा पदक जित्ने उद्देश्यसहित राष्ट्रिय खेलकुद परिषद्ले २०औँ एशियाली खेलकुद प्रतियोगिताका लागि तीन वर्ष लामो तयारी गर्यो।
'मिसन २०२६' नाम दिइएको उक्त अभियान १९औँ एशियाली खेलकुद सकिएलगत्तै सुरु भएको थियो। यसअघि नेपाली खेलकुदमा यति लामो तयारी भएको कहिल्यै देखिएको थिएन।
परिणाम आउँदा उक्त अभियान सार्थक भएको देखिएन। नेपालले जम्मा २ कांस्य पदक मात्र जित्न सक्यो। चर्चामा आएका 'सुपर स्टार' खेलाडीहरूले पदक जित्न सकेनन्।
र, जापानको आइची नागोया एसियाड पनि नेपाली टोलीको लागि अनुभव बटुल्ने एक अर्को थलो मात्र बन्न पुग्यो।

कहाँ चुक्यो नेपाल?

कतिपय विश्लेषकहरूका अनुसार प्रतियोगिताअगाडि नै खेलाडीहरू दबावमा परेका थिए। नेपालको योजना महत्त्वाकाङ्क्षी थियो, तर कागजमा लेखिएअनुसार कार्यान्वयन थिएन। नेपालले यथार्थभन्दा माथिको सपना मात्र बुन्यो।
नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भनेका थिए, "१० वटा पदक जित्ने योजना निकै राम्रो हो, तर यथार्थमा भन्नुपर्दा त्यो अनुरूपको तयारी नभएकोले कार्यान्वयन हुने सम्भावना निकै कम छ।"
सरकारले एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय टोलीको प्रस्थान त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट गरेको थियो।
कराते टोलीलाई बिदा गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल विमानस्थल पुगेका थिए। एशियाली खेलकुदमा स्वर्ण पदकको सम्भावित विजेताको रूपमा चर्चा गरिएकी कराते खेलाडी एरिका गुरुङ आधा घण्टाभन्दा ढिलो विमानस्थल आइपुगिन्।
अनि बिदाइ भाषणमा उनले भनिन्, "हामीले आफ्नो क्षमताले भ्याएसम्म पदकका लागि मेहनत गर्छौँ। त्यसमा स्वर्ण पदक पनि जितिएला वा पदक नजित्न पनि सक्ला। त्यो भन्न सकिने विषय होइन।"
एरिकाको भनाइले खेलाडीहरू दबावमा थिए भन्ने पुष्टि गर्यो।
खास गरी गत एशियाडमा रजत पदक जितेकी एरिकालाई स्वर्णको दाबेदारको रूपमा चित्रण गरिएको थियो भने करातेबाट बढीभन्दा बढी पदक आउने चर्चा व्यापक भएको थियो।
पछि मन्त्री पोखरेलले एरिकाकै कुरामा सहमति जनाउँदै सरकारले दबाव सिर्जना गरेको नभई राम्रो खेल्नू भनेर शुभकामना दिनुपर्यो।
प्रतियोगितामा एरिका पदकविहीन हुन पुगिन्। फाइनल पुग्ने खेलमा उनी २ सेकेन्डको अन्तरमा हारेकी थिइन् भने कांस्य जित्ने भिडन्तमा १ अङ्कले पछि परिन्।
पदकका अर्का दाबेदार मानिएका बक्सिङका चन्द्र थापा, उसुका विजय सिँजाली, करातेकै सानुमाया थिङ जस्ता खेलाडीहरू नमज्जासँग पराजित हुन पुगे।

'योजना कार्यान्वयन फितलो'
नेपालबाट सहभागी कुल २१ खेलका १३५ खेलाडी सबै पदकका दाबेदार थिएनन्।
तर केही खेलाडीहरू दाबेदार थिए। त्यस्ता खेल र खेलाडीहरूलाई विशेष तरिकाले प्रशिक्षण दिनु रणनीतिक अभ्यास मानिन्छ।
तर यसपालि खेलकुद परिषद्ले गरेको तयारी 'गरे जस्तो तर अप्रभावी' देखिएको गुनासो खेलाडीहरूले नै गरेका थिए।
हुन त तीनवर्षे तयारीमा सुरुमा पाँच खेल मात्र समावेश थियो। पछि बढाएर १० खेल भयो। तर त्यसका लागि सरकारले नियमित बजेट उपलब्ध नगराउँदा तयारी कहिले रोकिने र कहिले चालु हुने अनियमित प्रक्रिया बन्यो। यसले खेलाडीहरूलाई फाइदा पुगेको देखिएन।
पदकका सम्भावित विजेता केही खेलका खेलाडीलाई विशेष वैदेशिक प्रशिक्षणमा राख्ने योजना कार्यान्वयन भएको देखिएन। एरिका गुरुङ सम्मिलित कराते टोलीले इजिप्टमा विशेष प्रशिक्षणको माग गरेको थियो। तर त्यो पूरा भएन।
एशियाली खेलकुदका डेप्यूटी सेभ द मिसन टासी घलेले भने, "एरिका जस्ता खेलाडीलाई विदेशमा विशेष प्रशिक्षण गराउन पाएको भए पदक आउन सक्थ्यो। नेपालमै राखेर त्यही पुरानो शैलीले कहाँ पदक आउँछ। मैले कति पटक भनेँ। तर कार्यान्वयन भएन। '
जसरी महिला कबड्डी टोलीलाई एक महिने लामो प्रशिक्षण भारतमा राखिँदा टोलीलाई निकै फाइदा पुगेको थियो, त्यस्तो फाइदा करातेले पनि उठाउन सक्थ्यो भनिन्छ।
तयारी कमजोर रहेको एशियाली खेलकुद लक्षित भई काम गरिरहेको खेलकुद परिषद्अन्तर्गतको राष्ट्रिय टीम तयारी समितिका उपनिर्देशक दीपक श्रेष्ठ स्वीकार्छन्। उनले भने- "६ सय रुपैयाँको भत्ताले कसरी एशियाडमा पदक जित्न सकिन्छ ?"
यथार्थ चाहिँ फरक
खेलकुदका विश्वका एकसे एक शीर्ष राष्ट्रका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने एशियाली खेलकुदमा पदक जित्नु नेपालका लागि सहज विषय भने होइन।
पचहत्तर वर्षको एशियाली खेलकुदको इतिहासमा नेपालले अहिलेसम्म ३ रजत र २३ कांस्य पदक मात्र जित्न सकेको छ।
आधुनिक युगमा प्रत्येक राष्ट्रले खेलकुदमा राम्रो लगानी र तयारी गरिरहँदा प्रतिस्पर्धीहरू झन् तगडा बन्न पुगेका छन्।
पछिल्लो समय एशियाली खेलकुदमा पुग्न नै छनोट चरण पार गर्नुपर्ने अवस्था आइसकेको छ।
यद्यपि यसपालिको असफलताले शिक्षा लिन सकिने थुप्रै ठाँउहरू देखिएको विश्लेषकहरू बताउँछन्, "कागजी तयारी र हल्ला मात्र होइन, कार्यान्वयन तहमा साँच्चै नै गम्भीर हुन सके परिणाम निकाल्न सकिन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















