'विवाह गरेर बच्चा पाएपछि पनि हामी खेल खेल्न सक्छौँ'
फुटबल खेलमा आफ्नो करिअर बनाउँछु वा यही क्षेत्रमा लाग्छु भनेर निशा सुनारले कहिले पनि सोचेकी थिइनन्।
सुदूरपश्चिममा निम्न वर्गीय परिवारमा जन्मिएकी उनी अहिले अनेकौँ पुरस्कार प्राप्त गर्न सफल खेलाडी बनेकी छन्।
केही समय तत्कालीन माओवादी द्वन्द्वमा जनमुक्ति सेनामा काम गरे पनि पछि उनले त्यो छोडेर खेलतर्फ लागेको बताउँछिन्।
“मेरो भाग्यले तानेर यहाँ सम्म ल्याएको। मलाई चाहिँ मेरो शरीरले अनि त्यसमा मेरो स्पिडले साथ दिएको भन्छु म।” नेपालप्रहरीको महिला फुटबल टोलीको ‘फरवार्ड’ खेलाडीका रूपमा खेल्ने गरेकी सुनारले बीबीसी न्यूज नेपालीलाई बताइन्।
उनले हालसालै सम्पन्न ‘पोखरा वुमन्स गोल्ड कप २०८३’ मा सम्पूर्ण टुर्नामेन्टको सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेकी थिइन्।
उनका लागि यो पुरस्कारको विशेष महत्त्व छ। किनभने आमा बनिसकेपछिको उनको त्यो पहिले ‘कम ब्याक’ खेल थियो।
निशा सुनार भनेर चिनिने निर्मला बिक महिला फुटबलमा एक परिचित पात्र बनेकी छन्। वि स २०७० मा नेपाल प्रहरीमा जोडिएकी उनले थुप्रै ‘बेस्ट प्लेयर’ उपाधि जितिसकेकी छिन्।
विवाह भएपछि र आमा बनिसकेपछि श्रीमान्को साथले खेल क्षेत्रमा यहाँसम्म पुगेको उनी बताउँछिन्। उनकी छोरी अहिले १५महिनाकी भइन्। “बच्चा जन्माएको तीन महिनापछि नै म तालिममा फर्किएर र निरन्तर मेहनतपछि खेल खेल्न सफल भएँ” सुनार भन्छिन्।
उनले फुटबलमा ‘कम ब्याक’ गर्न चुनौतीहरूको सामना कसरी गरिन् र पहिलो खेलमै कसरी सर्वोकृष्ट खेलाडी बनिन्? सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




