एशियाली खेलकुदमा नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले जिते कांस्य पदक

बीसौँ एशियाली खेलकुदमा कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्।
जापानको नागोया सहरमा कुमिते विधाअन्तर्गत ८४ केजीभन्दा माथिको तौल समूहको खेलमा शेर्पाले लाओसका खेलाडीलाई ९-१ अङ्कले पराजित गर्दै कांस्य पदक जितेका हुन्।
यसअघि उनी सेमिफाइनलमा इरानका खेलाडीसँग पराजित भएका थिए।
करातेबाट पदकका आशा गरिएका खेलाडीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा बुधवार बिहान करातेको अन्तिम खेल भएको थियो।
प्रतियोगिताको क्वार्टरफाइनलमा मकाऊका खेलाडी लियोन अन टेक अयोग्य घोषित भएपछि शेर्पा विजयी घोषित भएका थिए। सेमिफाइनलमा उनी इरानका महमुद नेमातीसँग ०–५ ले पराजित भएपछि फाइनल पुग्ने उनको बाटो थुनियो।
त्यसपछि कांस्य पदकका लागि भएको 'रेपिचेज'मा शेर्पाले लाओसका वात्थाना जायासनलाई ९–१ को फराकिलो अङ्कले हराएर नेपालको पदक हात पारेका हुन्।

जितपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुसी व्यक्त गरेका छन्।
नेपाली राष्ट्रिय कराते टोलीका नियमित सदस्य तेन्जिङ शेर्पाले गत वर्ष श्रीलङ्कामा भएको १० औँ साफ कराते च्याम्पियन्शिपमा ८४ केजीमाथिकै तौल समूहमा स्वर्ण पदक जितेका थिए।
उनले एशियाली करातेका थुप्रै प्रतियोगिताहरुमा पनि प्रतिस्पर्धा गर्दै आइरहेका छन्।
नेपाल सहभागी अरू खेलको स्थिति
एशियाली खेलकुदको यो संस्करणमा नेपालबाट २१ खेलमा १३५ खेलाडीहरू सहभागी भएका छन्।
तीमध्ये पदक हात पर्ने सक्ने सम्भावना भएका अधिकांश खेलमा नेपाली खेलाडीहरू पराजित भइसकेका छन्।
यद्यपि महिला कबड्डीमा नेपालले पदक जित्न सक्ने सम्भावना कायम छ। नेपाली टोलीले आफ्नो पहिलो खेलामा थाईल्यान्डलाई पराजित गरेको छ।
गत संस्करणको एशियाली खेलकुदका रजत पदक विजेता करातेकी खेलाडी एरिका गुरुङबाट यसपालि धेरै आशा गरिएको थियो। तर उनी पदकविहीन हुन पुगिन्। उनी सहित करातेका तीन खेलाडी सेमिफाइनलमा पुगे पनि पदक हात पार्न भने विफल भए।
त्यसै गरी उशु र बक्सिङका आशा गरिएका खेलाडीहरू पनि प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा यसपालि नेपाली टोली पदकविहीन हुने हो कि भन्ने आशङ्का उत्पन्न हुन थालेको थियो।
सन् १९८६ को एशियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यसयताको हरेक एशियाली खेलकुदमा नियमित रूपमा पदक जित्दै आइरहेको छ।
यसपालि नेपालले एशियाली खेलकुदलाई लक्षित गरी तीन वर्षअगावै महत्त्वाकाङ्क्षी कार्यक्रम 'मिशन २०२६' सुरु गरेर खेलाडीहरूलाई नियमित प्रशिक्षण दिएको थियो।
उक्त अभियानले यसपालिको एशियाली खेलकुदमा 'एक स्वर्णसहित दोहोरो पदक जित्ने' लक्ष्य राखेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















