बाढीबारे अन्योलग्रस्त समाचार किन आए र तथ्य के हो?

अलपत्र बाढी पिडितहरू

तस्बिर स्रोत, Reuters

    • Author, विनिता दाहाल
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

उच्च हिमाली भेगको अवस्था बुझ्न कठिनाइ भएका कारण प्रारम्भिक समयमा त्यसलाई लिएर धेरै अनुमानहरू गरिएको र गलत जानकारीहरू फैलिएको अधिकारीहरूले बताएका छन्।

विकट ठाउँमा भएको घटनाका कारण बाढी आएकाले भूउपग्रहका तस्बिर हेरेर वा उक्त क्षेत्रमा हेलिकप्टर जान नसकेका कारण सुरुमा कारणबारे धेरै अनुमानहरू भएका उनीहरूले बताएका हुन्।

ठूलो जनधनको क्षति हुने गरी रसुवास्थित भोटेकोशीमा अकस्मात आएको बाढीको कारणबारे प्रारम्भिक रूपमा जल तथा मौसम विज्ञान विभागलगायत सरकारी संयन्त्रहरूले यकिन जानकारी दिन नसकेका बेला भूकम्पदेखि हिमताल फुटेको लगायतका अनुमानहरू गरिएका थिए।

जल तथा मौसम विज्ञान विभागले बाढी आएको भोलिपल्टमात्रै हिमपहिरो फुटेर भोटेकोशीमा विनाशकारी बाढी आएको बताएको थियो।

तर उक्त क्षेत्रमा भूकम्पीय प्रभाव देखिएको अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले जनाएको थियो।

अधिकारीहरूले अहिलेसम्म बाढीमा परेर भेटिएका शवको सङ्ख्या ६२६ पुगेको र करिब २५ सय मानिसहरू अझै बेपत्ता रहेको बताएका छन्।

त्यस्तै करिब ४५ सय मानिसहरूको उद्धार गरिएको उनीहरूले बताएका हुन्।

थप बाढीको सम्भावना के छ?

गुलाफी रङ्गको सुटकेश हिलोबाट निकाल्ने प्रयास गर्दै एक महिला

तस्बिर स्रोत, Reuters

जल तथा मौसम विज्ञान विभागले पानी केही परेको भए पनि पानी आएर नै ठूलो बाढीको सम्भावना भने नदेखिएको जनाएको छ।

वरिष्ठ मौसमविद् विभूति पोखरेलले भन्छिन्, "हल्कासम्ममात्रै वर्षा भएको देखिन्छ र ठूलो वर्षाको सम्भावना देखिएको छैन।"

तर उक्त विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले बुधवार जहाँ हिमपहिरो गएर बाढी आयो त्यो हिमपहिरो आएको ठाउँभन्दा तल दुईवटा ताल बनेका कारण बाढीको जोखिम कायमै रहेको बताएका छन्।

"हिमपहिरोको क्षेत्रभन्दा केही तल र पहिरो गएको तलको क्षेत्रभन्दा माथि पहाडको बीचमा एउटा ताल देखिएको छ। त्यस्तै अर्को जुन खोलामा पहिरो खसिसकेपछि गेग्र्यानले घेरेको कारणले अर्को ताल बनेको देखिन्छ," पराजुलीले भने।

"यी दुवै ताल असाध्यै अस्थीर अवस्थामा छन् किनभने यसै पनि पहिरो गएको क्षेत्र हो र ती तालहरू विस्तारै भरिँदै जाँदा फुट्न सक्ने जोखिमचाहिँ रहन्छ।"

करिब चार हजार मिटर र तीन हजार मिटरको उचाइमा रहेका ती ताल नफुट्न पनि सक्ने तर जोखिमलाई ध्यानमा राखेर तल्लो तटका बस्तीलाई निरन्तर सतर्क गराइएको उनले बताए।

हिमपहिरो गएको क्षेत्र प्रारम्भिक रूपमा तिब्बततर्फ भएको अनुमान गरिए पनि अध्ययन गर्दै जाँदा हिमपहिरो नेपालतर्फ नै गएकोमा विभाग स्पष्ट भएको हाइड्रोलोजिस्ट पराजुलीले बताए।

"भूउपग्रहको तस्बिर हेर्दा तिब्बत क्षेत्रबाट बाढी सिर्जना भएको देखिँदैन। त्यो नेपाल र चीनको सीमाबाट बाढी सिर्जना भएको देखिन्छ," उनले भने।

"र, हिमपहिरोचाहिँ नेपालकै लाङगाङ लिरुङ हिमालको पश्चिमपट्टिबाट खसेको देखिन्छ। त्यसकारण हिमपहिरो नेपालकै जमिन हो भने हिमपहिरो बजारिएको क्षेत्र नेपाल र तिब्बत दुवैतर्फ हो।"

बाढीको थरिथरिका सूचना किन आए?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च हिमाली भेगमा भएको गतिविधि के कारण भएको भन्ने पत्ता लगाउन कठिन हुने भएका कारण विभिन्न अनुमानहरू गरिएको देखिएको जनाएको छ।

"उच्च हिमाली क्षेत्रमा के भएको हो भन्ने सूचना हामीसँग भएन। त्यसले गर्दा मानिसहरूले अनुमान गर्ने भए। अनुमान गर्दा कसैले हिमपहिरो भने कसैले हिमताल विस्फोटन भने। त्यो दुविधा विज्ञानको कमीले भएको हो," प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले भने।

"त्यसले गर्दा यसको जटिलतालाई बुझेर पूर्व जानकारी दिने प्रणाली विकास गर्नुपर्ने हाम्रो बाध्यता छ। त्यसका लागि ठूलो लगानी आवश्यक छ।"

सुरुमा तिब्बतका ताल फुटेर त्यसबाट बनेको बाढीले नेपालमा असर गरेको भन्ने आकलनहरू कतिपय विज्ञहरूले नै गरेका थिए।

तर आजसम्म आइपुग्दा नेपालमै हिमपहिरो आएका कारण त्यसको असर तिब्बतमा पुगेको भन्ने स्पष्टता देखिएको अधिकारीहरूले बताएका छन्।

तर उच्च हिमाली भेगमा भएको उक्त घटनाबारे अझै पनि धेरै अध्ययनहरू गर्न बाँकी रहेको हाइड्रोलोजिस्ट पराजुलीले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।