लाइभ, बाढी प्रभावित स्थानमा खोज र उद्धार जारी, सयौँ जनाको मृत्यु भएको पुष्टि
रसुवाको भोटेकोशी नदी र तलपट्टि त्रिशूलीमा आएको बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन्। सयौँ मानिस अझै सम्पर्कविहीन छन्।
सारांश
भोटेकोशी-त्रिशूली बाढीका कारण मृत्यु भएका ४७५ जनाको शव विभिन्न स्थानमा फेला परेको सरकारी निकायहरूद्वारा पुष्टि
बाढीप्रभावित स्थानहरूमा खोज र उद्धारकार्य जारी
विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गर्दै सेना
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म विदेशी नागरिकहरूसहित ९७७ जना अझै सम्पर्कविहीन
लाइभ कभरेज
मृतकको सङ्ख्या बढ्यो
रसुवामा बुधवार आएको विनाशकारी बाढीका कारण शुक्रवार बिहान ९:०० बजेसम्म ४७५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
तीमध्ये रसुवामा १२ जना,नुवाकोटमा ३७ जना,धादिङमा ३७ जना,चितवनमा १७९ जना,गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा १ १० र नवलपरासी पश्चिम २८ जना गरी कुल ४७५ जनाको शव फेला परेको छ।
विभिन्न स्थान अनि त्रिशूली र नारायणी नदीमा शव भेटिने क्रम जारी छ।
अधिकारीहरूले प्रभावित स्थानमा खोज र उद्धारकार्य जारी रहेको बताएका छन्।
'बाढी आउनुअघि रसुवागढीमा ९० जनाले तिब्बत प्रस्थान गर्ने अनुमति लिएका थिए', तीमध्ये ५७ जना विदेशी नागरिक
तस्बिर स्रोत, Reuters
तस्बिरको क्याप्शन, रसुवाको सीमापारि तिब्बतपट्टि रहेको चिनियाँ अध्यागमनको कार्यालयमा बाढी बज्रिँदै गरेको देखिने भिडिओ सार्वजनिक भएको छ
नेपालको अध्यागमन विभागले बुधवार बिहान बाढी आउनुअघि
रसुवास्थित नेपालको अध्यागमनबाट झन्डै ९० जनाले प्रस्थानको अनुमति लिएको र त्यसमा
५७ जना विदेशी नागरिक रहेको जनाएको छ।
अध्यागमन विभागको सूचनामा चार जनाले अध्यागमन
कार्यालयबाट नेपालतर्फ आगमन गरेको देखिन्छ। तीमध्ये एक जना भारतीय नागरिक छन्।
विभागका प्रवक्ता शिवप्रसाद लम्सालले बीबीसीसँग
भने, “त्यो दिन बिहान ८:३५ बजेसम्म हाम्रो अध्यागमन
कार्यालयबाट उहाँहरू ‘एक्जिट’ हुनुभएको देखिन्छ।”
“चिनियाँ अध्यागमन कार्यालय केही ढिला खुल्छ। हाम्रो
कार्यालयभन्दा उता पनि नेपाली भूभाग छ।”
प्रस्थान गर्नेहरूको सूचीमा ३२ जना भारतीय र १२
जना चिनियाँ नागरिक छन्। त्यसमा संयुक्त राज्य अमेरिकाका ९ अनि यूके, क्यानडा, अस्ट्रेलिया र इटलीका एक-एक नागरिक छन्।
ठाउँठाउँमा सडक अवरुद्ध
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, नुवाकोटको विदुरस्थित ढुङ्गेबजारमा थुप्रिएको लेदोमा फसेको एउटा टिपर
भोटेकोशी तथा त्रिशूली नदीमा बुधवार आएको बाढी विभिन्न राजमार्ग र सडकखण्ड अवरुद्ध भएको राष्ट्रिय
समाचार समितिले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी राजमार्गअन्तर्गत
मुग्लिन–गल्छी र मुग्लिन–नारायणगढ खण्ड र पासाङल्हामुसहितका मार्गहरू अझै खुलेका छैनन्।
तर पृथ्वी राजमार्गको गल्छी-बैरेनी खण्डमा बिहीवार
साँझदेखि एकतर्फी सवारीसाधन सञ्चालनमा आएको छ।
सोही खण्डको जरिखेत खण्डमा थुप्रिएको माटो तथा
ढुङ्गा पन्छाएर यातायात पुनः सञ्चालनमा आएको सडक विभागका प्रवक्ता शुभराज
न्यौपानेले राससलाई बताए।
अहिले मलेखु-गलौदी खण्डमा ७०० मिटर लेदो
हटाउने काम भइरहेको र त्यो काम सकिएपछि पृथ्वी राजमार्ग
सञ्चालनमा आउने विभागले जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० ज्याङखोलामा र सोही
गाउँपालिकामा पर्ने बिहानी पम्पतर्फ पनि लेदो हटाउने काम भइरहेको छ।
तर उक्त गाउँपालिकाको गलौदीमा एक्स्कभेटरसहितका
उपकरण जान नसकेकाले सडकमा अवरोध कायम छ।
धादिङको गजुरी गाउँपालिका-६ जहरेखेत र
बाङ्गेमोड सडकखण्ड पनि अवरुद्ध छ। गल्छी गाउँपालिका–६ बैरेनीको लेदो हटाउने कार्य
भइरहेको छ।
अस्ट्रेलियाले मानवीय सहायताविज्ञ नेपाल पठाउँदै
तस्बिर स्रोत, AP
अस्ट्रेलियाको सरकारले नेपाल-चीन सिमानामा
आइपरेको बाढीको प्रकोपसँग जुझ्न सहयोगका निम्ति द्रुत गतिमा कन्सुलर तथा मानवीय
सहायता प्रदान गरिने बताएको छ।
प्रभावित समुदायका निम्ति ५० लाख डलरको सहायता
प्याकेज दिने उसले भनेको छ।
“सरकारले तीनजना मानवीय सहायता विज्ञहरूको प्रारम्भिक टोली
आगामी ४८ घण्टाभित्र पठाउने छ जसले त्यहाँ रहेका अस्ट्रेलियाली कर्मचारीहरूलाई
मद्दत गर्ने छन्,” अस्ट्रेलियाकी
विदेशमन्त्री पेनी वङ तथा अन्तर्राष्ट्रिय विकासमन्त्री एन एलीको संयुक्त
वक्तव्यमा उल्लेख छ।
अस्ट्रेलियाले प्रतिबद्धता जनाएको सहायता
रकममध्ये २० लाख डलर विश्व खाद्य कार्यक्रममार्फत् प्रदान गरिने भनिएको छ।
करिब ३९ जना अस्ट्रेलियाली नागरिकहरू हराइरहेको
बुझिएको उक्त वक्तव्यमा उल्लेख छ।
“यस विपद्को असाधारण स्तर तथा प्रभावित क्षेत्रको दुर्गमताका
कारण उद्धारकार्यका निम्ति ठूलो चुनौती प्रस्तुत भएको छ।”
बाढीमा मारिनेको सङ्ख्या ४६९
तस्बिर स्रोत, Reuters
नेपाल प्रहरीले शुक्रवार बिहान दिएको
जानकारीअनुसार भोटेकोशी-त्रिशूली बाढीका कारण मारिने मानिसको सङ्ख्या ४६९ पुगेको छ।
तीमध्ये रसुवामा १२ जना, नुवाकोटमा ३७
जना, धादिङमा ३३ जना, चितवनमा १७८
जना, गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी
पूर्वमा ११० जना र नवलपरासी पश्चिम २७ जना गरी ४६९ जनाको शव फेला परेको प्रहरीले
जनाएको छ।
हालसम्म घाइते तथा उद्धार गरिएकाहरूको सङ्ख्या
१,५४५ रहेको बताइएको छ।
अझै २८ प्रहरीहरू हराइरहेको बताइएको छ।
खोज तथा उद्धारकार्यका
लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १३,००० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको सरकारले जनाएको छ।
रसुवामा जलविद्युत् आयोजनाको सुरुङमा उद्धारकार्य जारी
तस्बिर स्रोत, PM Secretariat
रसुवास्थित जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धारकार्य तीव्र पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार "जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बावजुद" उद्धारमा खटिएको नेपाली सेनाको टोलीले अहिलेसम्म उक्त स्थानबाट दुई जनाको सकुशल उद्धार गरिसकेको छ।
"सुरुङभित्र अझै कति मानिसहरू फसेका छन् भन्ने विषयमा खोजी जारी छ र उनीहरूको उद्धार कार्यको प्रयास पनि भइरहेको छ।
टनेलको अप्ठ्यारो स्थितिमा पनि सेनाले प्राविधिक उपकरण र विशेष तालिमप्राप्त टोली परिचालन गरी बाँकी रहेका मानिसहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।"
जलविद्यु्त् आयोजनाको टनेलमा फसेका '३५० मजदुर र स्थानीयवासीको उद्धार'
तस्बिर स्रोत, PM Secretariat
रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बुधवारदेखि अपर त्रिशुली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
बिहीवार राति एउटा विज्ञप्ति जारी गर्दै सचिवालयले टनेलमा फसेका १०० जनाभन्दा बढी मानिसलाई सुरक्षित बाहिर निकाल्न सेना जुटेको जनाएको छ।
सचिवालयले हिलाम्मे बाटो हुँदै सैनिकहरू टनेलको मुखभित्र जाँदै गरेको भिडिओ पनि सार्वजनिक गरेको छ।
"प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको टोलीले केही बेर अगाडि टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको सफलतापूर्वक उद्धार गरेको छ," राति प्रकाशित विज्ञप्तिमा उल्लेख छ।
"टनेलभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली) बाट जमदार भक्तजन बस्नेतको कमान्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको छ।"
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रवार बिहानसम्म विभिन्न ठाउँबाट ३,२५३ जनाको उद्धार गरिएको जनाएको छ।
मन्त्रिपरिषद्को बैठक बस्दै
तस्बिर स्रोत, PM Secretariat
प्रधानमन्त्री वालेन्द्र शाहले बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
हिजो नुवाकोटको बाढी प्रभावित क्षेत्र निरीक्षणमा पुगेका प्रधानमन्त्री शाहले काठमाण्डू फर्किएपछि मन्त्रिपरिषद् बैठक राखेका हुन्।
यसअघि सरकारले उद्धार तथा राहतका लागि सरकारी संयन्त्रहरूलाई परिचालन गर्ने निर्णय गरेको थियो।
अहिलेसम्म हामीलाई के थाहा छ
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा मृतकको सङ्ख्या ४६९ जना पुगेको नेपाल प्रहरीले शुक्रवार बिहान जनाएको छ।
प्रधानमन्त्रीको कार्यालयले अपर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनालाई नेपाली सेनाले उद्धार गरेको जनाएको छ।
यद्यपि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यसबारे केही जानकारी दिएको छैन।
प्राधिकरणले ९७७ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ। हराइरहेका विदेशी नागरिकको सङ्ख्या ५१७ जना छन्।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भन्सार र अध्यागमन कार्यालयका कर्मचारीसहित नेपाली र विदेशी पर्यटकहरू सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार खोज, उद्धार र राहतकार्यका लागि १३,००० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन्।
तस्बिर स्रोत, Reuters
लाइभ पेजमा यहाँलाई स्वागत छ
नमस्कार। बीबीसी नेपाली सेवाको लाइभ पेजमा यहाँलाई स्वागत छ।
यो पेजमा आज हामी भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षति र त्यसपछि जारी उद्धार तथा राहतका प्रयासबारे भइरहेका गतिविधिको अप्डेट गराउने छौँ।