यत्रतत्र छरिएका शवका कारण 'अर्को जोखिम', अस्पतालहरूमा दबाव

- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ६ मिनेट
बुधवार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि उद्धार गरिएका घाइतेको उपचार तथा व्यवस्थापनमा ठूलो कठिनाइ नदेखिए पनि यत्रतत्र शव भेटिन थालेपछि थप चुनौती सामना गर्नुपर्ने अवस्था आएको आकस्मिक सेवासम्बन्धी निकायका अधिकारीहरूले बताएका छन्।
मानिस मात्र नभई ठूलो सङ्ख्यामा पशुचौपाया पनि पुरिएको हुन सक्ने भएकाले त्यसबाट महामारी फैलिन सक्ने जोखिमप्रति अधिकारीहरूले चिन्ता व्यक्त गरेका हुन्।
बाढीको तेस्रो दिनसम्म आइपुग्दा बाढी प्रभावित कतिपय बस्तीमा दुर्गन्ध फैलिन थालेका विवरणहरू आउन थालेका छन्।
"त्यसबाट अर्को समस्या वा 'डिजास्टर' पनि आउन सक्ला कि भन्ने पिर हामीलाई परिराखेको छ," गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनईओसी)का प्रमुख फणीन्द्रप्रसाद पौडेलले बीबीसीसँग भने, "बस्तीबस्तीमा शवहरू छन्, खोलाका तिरहरूमा छन् र ती खानेपानीका मुहानहरूमा पनि पुग्न सक्छन्। "
'एनईओसी' गृह मन्त्रालयअन्तर्गत विपद् व्यवस्थापनका लागि काम गर्ने प्रमुख अङ्ग हो।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यस्तो समस्या व्यवस्थापनका लागि स्थानीय स्वयंसेवकहरूको सहयोगको समेत खाँचो पर्न सक्ने बताए।
"सुरक्षाकर्मीहरू दिनरात खटिइराखेकै छन्। यस्तोमा सङ्क्रमण निम्तिन नदिन बस्तीवरपर शवहरू देखा परेमा सुरक्षाकर्मीहरूलाई खबर गर्न सकिन्छ र पशुचौपायहरू भेटिएमा स्थानीय स्तरमै व्यवस्थापन गर्न सकिन्छ।"
"कुहिएको चिजले पानी फोहोर गर्न सक्छ। त्यही पानी पशुचौपायले खान सक्छन् र त्यसले हाम्रो घरमा आउने पानीलाई पनि दूषित बनाउन सक्छ। त्यसका साथै कुहिएका चिजहरू चराचुरुङ्गीले मानिसको घरसम्म लैजान सक्छन् र त्यसबाट पनि रोग निम्तिन सक्छ," मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने।
"यी विविध कारणले गर्दा हामीले बाढीसँगै उत्पन्न कुहिने फोहोरको व्यवस्थापन अत्यन्तै संवेदनशील भएर गर्नुपर्ने देखिएको छ।"

तस्बिर स्रोत, PM Secretariat
बटुलिएका शवको भण्डारण पनि उत्तिकै चुनौतीपूर्ण
अधिकारीहरूका अनुसार अहिलेसम्म बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ५०० नाघिसकेको छ।
रसुवादेखि नवलपुरसम्म मात्र नभई बाढीमा बगेका व्यक्तिका शव भारतसम्म पुगेका विवरणहरू आएका छन्। तीमध्ये केही शव सग्ला अवस्थामा भेटिएका छन् भने कतिपय अङ्गभङ्ग अवस्थामा रहेका बताइएको छ।

तस्बिर स्रोत, PM Secretariat
"ती शवहरूको पहिचान गरेर परिवारजनलाई बुझाउने कार्य पनि चुनौतीकै रूपमा देखिएको छ र केकसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफलमा छौँ," 'एनईओसी' प्रमुख पौडेलले भने।
टिमुरेमा बगेका व्यक्तिका शव नारायणी नदी वा त्यसभन्दा पनि परसम्म पुगेको हुन सक्ने भएकाले शवको खोजी, पहिचान र व्यवस्थापनमा चुनौती देखिएको हो।
सबै शव काठमाण्डू ल्याउँदा यहाँका अस्पतालले धान्न नसक्ने भएकाले शव भण्डारणका लागि विभिन्न उपाय अपनाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताए।
"तिनलाई कसरी राख्ने भन्ने विषयमा समेत चुनौती देखिएको छ। हाल चितवनमा सबैभन्दा धेरै (१०० भन्दा अधिक), त्यसपछि पोखरा (९० को हाराहारी) तथा नवलपुर, रूपन्देही र कपिलवस्तुका सानाठूला अस्पतालहरूमा समेत शवहरू राखिएका छन्," स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने।
तर अस्पतालमा मात्र ती शवहरूको व्यवस्थापन गर्न नसकिने देखिएको छ। "शवको व्यवस्थापन गर्ने स्थानका निम्ति नयाँ ढङ्गले काम गर्नुपर्ने अवस्था देखिएको छ।"
ती शवहरू कहिलेसम्म भण्डारण गरेर राख्ने भन्ने प्रश्नको जवाफ अधिकारीहरूसँग छैन।
"आफन्तहरूले शव पहिचान गर्दै जानुभयो भने ठाउँ खाली हुँदै जान्छ र थप शवहरू राख्न सकिन्छ। तर अङ्गभङ्ग भएका र सानो भाग मात्र भेटिएकाको विस्तृत पहिचान गर्नुपर्ने हुन्छ र त्यसका लागि समय लाग्छ," सहप्रवक्ता अधिकारीले भने, "अर्को, आफन्तहरू (समयमै) सम्पर्कमा नआउने अवस्था हुँदा पनि धेरै समय लाग्न सक्छ।"
अस्पतालहरूमा कस्तो दबाव

तस्बिर स्रोत, RSS
उद्धार गरिएका घाइतेहरूको उपचार भने शुक्रवार अपराह्नसम्मको अवस्थालाई हेर्दा व्यवस्थापन गर्न सकिने स्थितिमै रहेको अधिकारीहरूले बताएका छन्।
यद्यपि, बाढी प्रभावित क्षेत्रका कतिपय अस्पतालका प्रमुखहरूले आफूहरू जनशक्ति र बन्दोबस्तीका सामग्रीको दबावमा रहेको तथा 'एनईओसी'सँग सहयोग मागिएको बताएका छन्।
बिहीवारदेखि शुक्रवार अपराह्नसम्म १,६०० भन्दा बढी व्यक्तिको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
"खोज र उद्धार तथा घाइतेहरूको उपचारका निम्ति विभिन्न 'क्लस्टर'हरू बनाएरै काम गरिरहेका छौँ। त्यस्तै 'एनईओसी'ले पनि विभिन्न अस्पतालहरूलाई निश्चित शय्याहरू तयार पार्न भनेको छ," नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग भने, "त्यसै गरी नेपाली सेनाले धुन्चे र त्रिशूली दुई ठाउँमा विशेषज्ञहरूसहितको चिकित्सा शिविर स्थापना गरेको छ।"
"अहिलेसम्म घाइतेहरूले उपचार पाइरहेका छन् र थप (सुविधा) व्यवस्था गर्न पर्यो भने पनि हामीले त्यहीअनुसार व्यवस्था गरेका छौँ।"
उनका अनुसार हालसम्म त्रिशुली र धुन्चेका मेडिकल क्याम्पमा करिब ९०० जनाले प्राथमिक उपचार पाएका छन्। "निकै कम सङ्ख्यामा मात्रै थप उपचारका निम्ति अन्यत्र पठाएका छौँ, त्यसमा काठमाण्डू पठाइएका पनि छन्।"
"(वीरेन्द्र अस्पताल) छाउनीमा अहिलेसम्म एक जनालाई मात्र लग्नुपरेको छ तर आवश्यक पर्यो भने (अन्य घाइतेलाई) लैजान सक्छौँ," प्रवक्ता बस्नेतले भने।
'एनईओसी' प्रमुख पौडेलका अनुसार काठमाण्डूका अस्पतालहरूमा ठूलो दबाव भने देखिएको छैन।
"अलिकति दबाव परेको भनेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हो, जहाँ ७३ जना ल्याइएका छन्। तिनमा पनि केही डिस्चार्ज भएर गइसकेका छन्," उनले भने, "वीरमा आठदश जना र निजामति अस्पतालमा त्योभन्दा पनि कम सङ्ख्यामा छन्।"
जिल्लाका अस्पतालहरू भने दबावमा
काठमाण्डूका अस्पतालहरू अहिलेसम्म सहज स्थितिमा देखिए पनि बाढी प्रभावित रसुवा र नुवाकोटसहितका जिल्लाका अस्पतालहरू भने दबावमा देखिन्छन्।
नुवाकोटको त्रिशूली अस्पतालमा घाइतेहरू आउनेजाने क्रम जारी छ। अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार त्यहाँ अहिले १८ जना उपचाररत छन्, जसमध्ये दुई जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
"दुई दिनदेखि राम्ररी सुतेका छैनौँ। यहाँ कार्यरर सबै थकित छौँ। पालो दिन अतिरिक्त जनशक्तिको खाँचो परेको 'एनईओसी'लाई जानकारी गराएका छौँ।"
"यहाँ चिकित्सकसहित २५/३० जनाको समूह छौँ। घरिघरी '(बाढी) आयो… आयो' भन्ने सुन्छौँ। त्यसले गर्दा डरमै छौँ," उनले भने, "बाढीपछि मान्छेहरू पसल बन्द गरेर हिँडेकाले हाम्रा कर्मचारीहरूले खाना खानै नपाउने स्थिति आउन लागेको छ।"
यस विषयमा सोधिएको प्रश्नमा 'एनईओसी' प्रमुख पौडेलले जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयसँग तथा बन्दोबस्तीका सामग्रीका लागि जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरेर ती स्थानका समस्या समाधान गर्न खोजिएको बताए।
"कतिपय ठाउँमा थप सहयोग पुग्ने क्रममा छ।"
सडक सम्पर्क प्रभावित भएका कारण रसुवा सदरमुकाम धुन्चेमा भने धेरै घाइते ल्याइएका छैनन्।
"बुधवार र बिहीवार ६० जनाजति ल्याइएका थिए, त्यो सङ्ख्या शुक्रवार घटेको छ," जिल्ला अस्पतालका मेडिकल सूपरिन्टेन्डन्ट डा. अमित प्रजापतिले भने, "यद्यपि शुक्रवार नै स्वास्थ्यकर्मीहरूको ११ जनाको टोली काठमाण्डू र धुलिखेलबाट यहाँ आइपुगेका छन्।"
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले सम्भावित सङ्क्रमणको जोखिमलाई समेत मध्यनजर गर्दै प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मीहरू खटाइएको बताए।
"टिमुरे र स्याफ्रुबेँसीलगायतका माथिल्लो तटीय क्षेत्रका स्वास्थ्यकर्मीहरूसँगै स्वास्थ्य संस्थाहरू पनि बगेका छन्। त्यहाँ केही चुनौती देखिएको हो तर स्याफ्रुसहित बेत्रावती वा उत्तरगयालगायतका ठाउँमा थप स्वास्थ्यकर्मीहरू पठाइसकेका छौँ।"
"तत्काल उपचारका निम्ति (पहिलेदेखि खटिएका) अस्पतालहरूमा भएको टोलीलाई फिर्ता बोलाएर अर्को टोली पठाउने तयारी पनि भइराखेको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।


















