रियाद विमानस्थलमा आक्रमणपछि साउदी अरबमा रहेका नेपालीलाई दिइएका तीन निर्देशन

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

रियाद विमानस्थलमा हूथी विद्रोहीहरूको हमलापछि साउदी अरबमा कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्।

विमानस्थलमा गरिएका पछिल्ला आक्रमणपछि विमानस्थलमा कार्यरत नेपालसहित विभिन्न देशका कामदारहरूलाई हालका लागि बिदा दिइएको उनीहरूले बताएका छन्।

रियादस्थित नेपाली राजदूतावासले साउदी अरबको सरकारले जारी गरेका सुरक्षासम्बन्धी सूचनाहरूलाई पालना गर्न र अनावश्यक रूपमा यात्रा नगर्न त्यहाँ कार्यरत रहेका नेपालीहरूको ध्यानाकर्षण गराएको छ।

विमानस्थलमा कार्यरत एक श्रमिकले हमलाका कारण कम्तीमा दुईवटा टर्मिनलमा क्षति पुगेको जानकारी दिँदै सुरक्षा सतर्कता उच्च बनाइएको र अर्को सूचना नभएसम्मका लागि घरमै बस्न कामदारलाई भनिएको बीबीसीलाई जानकारी दिए।

सुरक्षाका कारण दर्शाउँदै नाम उल्लेख नगरेका ती कामदारले उक्त विमानस्थलमा बाङ्ग्लादेशीपछि धेरै नेपाली श्रमिक कार्यरत रहेका भन्दै उनीहरूलाई मनोसामाजिक परामर्शको आवश्यकता आफूले देखेको बताए।

नेपालको परराष्ट्र मन्त्रालयले रियादस्थित राजदूतावासलाई नेपाली कामदारहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर आवश्यक समन्वय गर्न निर्देशन दिएको यसका प्रवक्ताले बताएका छन्।

सप्ताहन्तबाट सुरू भएका आक्रमणहरूमा हालसम्म दुई जना नेपाली घाइते भएको जानकारी आएको अधिकारीहरूले बताएका छन्।

त्यसबाहेक हूथी विद्रोहीहरूले निसाना बनाएको सो विमानस्थलको भिडिओ खिचेको आरोपमा एक जना नेपाली कामदारलाई पक्राउ गरिएको थियो। तर भिडिओ मेटाएपछि उनलाई रिहा गरिएको बीबीसीले थाहा पाएको छ।

अधिकारीहरू के भन्छन्?

काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बीबीसीसँग कुरा गर्दै उक्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी दिए।

उनी भन्छन्, "अहिले हामीलाई हाम्रो नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारीअनुसार सम्पूर्ण नेपालीहरू सकुशल हुनुहुन्छ। दुई जना नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी आएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू उपचाररत भएको अस्पतालमा हाम्रो राजदूतावासका साथीहरूले भ्रमण गर्नुभएको छ। उहाँहरू छिट्टै डिस्चार्ज हुने भनिएको छ।"

रियाद विमानस्थलमा शनिवार भएको आक्रमणका क्रममा कम्तीमा १३ जना मारिएका र ३०० भन्दा बढी घाइते भएका विवरण आएका थिए। त्यसपछि पनि हूथी विद्रोहीहरूले आक्रमण गरेका विवरणका माझ उक्त विमानस्थल कम्तीमा यो साताका लागि बन्द भएका विवरणहरूमा जनाइएको छ।

हमलालगत्तैको परिस्थितिमा उद्धारको कुनै योजना तत्कालै कार्यान्वयन भएको जस्तो नदेखिएको र स्थिति "भद्रगोलपूर्ण" बनेको प्रतिक्रिया कतिपय कामदारहरूबाट आएका छन्।

किङ खालिद इन्टर्न्याश्नल एअरपोर्टमा ठूलो सङ्ख्यामा नेपालीहरूले पनि काम गर्ने गरेका जानकारहरू बताउँछन्। तर अहिले त्यहाँ साउदी एअरफोर्ससहितका सुरक्षा निकायको बाक्लो उपस्थिति छ।

कामदारहरूलाई छुट्टीमा राखिएको भन्दै एक नेपाली अधिकारीले आफूहरूले त्यहाँको अवस्थालाई नजिकबाट पछ्याइरहेको जानकारी दिए।

बीबीसीसँग कुरा गरेका एक कामदारले भने, "बाङ्ग्लादेशीपछि धेरै सङ्ख्या नेपाली कामदारहरूकै जस्तो छ। ट्रली, सरसफाइ र ग्राउन्ड ह्यान्ड्लिङ् नेपालीहरूको एकदमै ठूलो कार्यक्षेत्र हो। अहिले सबै बन्द छ। उच्च सुरक्षा कायम गरेर केही मर्मतका कामहरू भइरहेका छन्।"

"अर्को जानकारी नआएसम्मका लागि कोही पनि ड्यूटीमा गएका छैन्। सबै जना आफू बस्ने ठाउँतिरै हुनुहन्छ। जुन घटना भयो, त्यसले मानसिक रूपमा पनि गाह्रो पारेको छ। कुनै किसिमको मानसिक परामर्श दिनुपर्ने अवस्था छ।"

साउदी अरब नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्य हो। सरकारले त्यहाँ साढे तीन लाख हाराहारीमा नेपाली कामदार रहेको बताए पनि त्योभन्दा अझ ठूलो सङ्ख्यामा श्रमिकहरू रहेको ठानिएको छ।

तीन कुरा पालना गर्न ध्यानाकर्षण

रियादस्थित नेपाली राजदूतावासका काउन्सिलर कविराज उप्रेतीका अनुसार नेपालीहरूको सुरक्षालाई ध्यान दिएर दूतावासले विभिन्न सूचनाहरू पनि जारी गरेको छ।

उनले भने, "हामीले तीनवटा कुरामा जोड गरेका छौँ। अनावश्यक रूपमा यात्रा नगर्न भनेका छौँ। फोटो भिडिओ नखिच्ने कुरालाई सम्प्रेषित गरेका छौँ। अनि एअरलाइन्सहरूसँग सम्पर्क गरेर उनीहरूले कन्फर्म गरेपछि मात्रै विमानस्थलमा जान भनेका छौँ।"

परराष्ट्र मन्त्रालयका प्रवक्ताले चाहिँ वैदेशिक रोजगारी व्यवसायीसमेतसँग समन्वय गरेर साउदी अरबमा रहेका नेपालीहरूको विवरण सङ्कलन गर्न थालिएको जानकारी दिए।

उनका अनुसार सबैभन्दा पहिला आफू सुरक्षित रहन र अत्यावश्यक अवस्थामा मात्रै साउदी अरब सरकारले जारी गरेका सुरक्षासम्बन्धी सूचनाहरूलाई पालना गर्दै यात्रा गर्न ध्यानाकर्षण गराइएको छ।

उनले भने, "हामीले साउदी सरकार, त्यहाँका स्थानीय निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी मापदण्डहरूलाई पूर्ण रूपमा पालना गर्न र कुनै पनि समस्या परेमा नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ।"

"दोस्रो, युद्ध अथवा आक्रमण भएको अवस्थालगायतका कुनै पनि भिडिओ र फोटोहरू नखिच्न भनेका छौँ किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित छन्।"

दशैँअगाडि विमानस्थलमा आक्रमण भएकाले चाडपर्वको समयमा घर आउन लागेका कतिपय नेपालीहरू प्रभावित हुन सक्ने ठानिएको छ।

प्रवक्ता क्षेत्रीले दशैँलगायत चाडपर्वलाई लक्षित गरेर नेपालीहरूको यात्रालाई कसरी सहजीकरण गर्न सकिन्छ भन्नेबारे पनि सरकारले गृहकार्य थालेको जानकारी दिए।

"अहिले हामी पर्ख र हेरकै अवस्थामा छौँ। आवश्यकता र परिस्थितिमा हुने सुधारलाई हेरेर बिस्तारै हामीहरू उहाँहरूका लागि थप सूचना जारी गर्छौँ।"

आइतवार एउटा विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको आक्रमणको निन्दा गरेको थियो।

साउदी अरबसँग ऐक्यबद्धता जनाउँदै परराष्ट्र मन्त्रालयले कुनै पनि आवरणमा गैरसैनिक र सार्वजनिक पूर्वाधारलाई निसाना बनाउने कुरा अस्वीकार्य हुने उल्लेख गरेको थियो। साथै, सबै पक्षलाई शान्तिपूर्ण माध्यमबाट विवाद र द्वन्द्वको समाधान खोज्न उसले आह्वान गरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।