'अडियो विवाद' मा तानिएका खगेन्द्र सुनारमाथि पार्टीले थाल्यो आन्तरिक छानबिन, प्रहरी के भन्छ?

    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित सांसद खगेन्द्र सुनारसँग सम्बन्धित सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सार्वजनिक भएका भनिएका श्रव्य सामग्रीबारे पार्टीले आन्तरिक छानबिन सुरु गरेको प्रवक्ता जगदीश खरेलले बीबीसीलाई बताएका छन्।

"पार्टीको अनुशासन आयोगले उक्त अडियोका सन्दर्भमा अनुसन्धान थालेको छ," खरेलले भने, "सभापति रवि लामिछानेले स्वतन्त्र रूपमा अनुसन्धान गर्न निर्देशन दिनुभएको छ।"

सांसद सुनारलाई आरोपित गरिएको गालीगलौज युक्त ''अडिओ' अहिले चर्चामा छ, यद्यपि उक्त अडियोमा रहेको आवाज उनकै हो वा होइन भन्ने स्वतन्त्र पुष्टि हुन बाँकी छ।

सुनार स्वयंले भने उक्त अडियोलाई 'झुटा र एआई लगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचार ' भनेका छन्।

मङ्गलबार फेसबुकमा एक भिडिओ सार्वजनिक गर्दै उनले भनेका छन्, "ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु।"

प्रहरी के भन्छ?

प्रहरीले भने अहिले चर्चामा रहेको अडियोका सन्दर्भमा आफ्ना निकायमा कुनै उजुरी नपरेको जनाएको छ।

"त्यस सम्बन्धमा उजुरी परेको जानकारी छैन," नेपाल प्रहरीका सह प्रवक्ता दीपशम्सेर जबराले बीबीसीसँग भने।

उनले "पीडितले उजुरी नदिएसम्म प्रहरीले 'इन्टरभेन्सन' गर्न नमिल्ने" बताए। "कहिँबाट निवेदन आएपछि चाहिँ प्रक्रियामा जान्छ।"

अहिले सुनारसम्बद्ध रास्वपाकै सरकार भएकाले सरकारले यो विषयलाई कसरी अघि बढाउँछ भन्नेमा धेरैको चासो छ।

रास्वपाले भने "राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने" भनेको छ।

"सार्वजनिक भएका यी विषयहरूको गम्भीरतालाई मनन गरी राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने छ भन्ने हाम्रो विश्वास छ," मङ्गलबार बिहान एक वक्तव्य जारी गर्दै पार्टीका महामन्त्री विपिनकुमार आचार्यले भनेका छन्।

प्रवक्ता खरेलले यस विषयमा सरकारमा रहेका पदाधिकारीहरूसँग अनौपचारिक रूपमा छलफल भइरहेको बताए।

"तर औपचारिक सन्दर्भमा पार्टीले गर्ने भूमिका पार्टीको र सरकारले गर्ने भूमिका सरकारको हुन्छ," उनले भने, "(यस सन्दर्भमा) सरकारले गर्ने कुरामा पार्टीको सहयोग रहन्छ।"

पार्टीको प्रतिनिधित्व गर्न रोक

आन्तरिक छानबिन सुरु भएसँगै रास्वपाले उनलाई "सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन" निर्देशन दिएको छ।

पार्टीका तर्फबाट जारी वक्तव्यमा महामन्त्री आचार्यले अहिले आइरहेका विषयहरू अत्यन्त गम्भीर र संवेदनशील भएको उल्लेख गरेका छन्।

"सञ्चारमाध्यममार्फत् आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाव, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील छन्," त्यसमा भनिएको छ।

"विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन।"

खगेन्द्रको विगत

प्रतिनिधिसभा निर्वाचन, २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका रूपमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सुनार त्यसअघि दलित अभियानकर्मीका रूपमा परिचित थिए।

त्यसअघि पत्रकारितासमेत गरेका उनी आक्रामक प्रस्तुति र शैलीका कारण पटक–पटक चर्चा र विवादमा आउने गरेका छन्।

हालै एक संसदीय समितिको बैठकमा प्रहरी नेतृत्वप्रति अमर्यादित व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो। त्यसअघि अदालतको अवहेलनासँग जोडिएका अभिव्यक्तिका कारण उनी विवादमा तानिएका थिए।

जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा गठित सरकारमा उनलाई मन्त्री बनाउने चर्चा चले पनि विगतका विवादित घटनालाई लिएर उठेका प्रश्नका कारण प्रधानमन्त्री कार्की पछि हटेको विवरण त्यतिबेला सञ्चारमाध्यममा प्रकाशित भएका थिए।

रास्वपामा किन बारम्बार उठिरहेको देखिन्छ अनुशासनको प्रश्न?

सत्तारुढ दल रास्वपाका पदाधिकारी र सांसदको आचरणमाथि प्रश्न उठेको यो पहिलो घटना होइन। यस दलका सांसद र नेताहरू विभिन्न समयमा आर्थिक अनियमितता, पदको दुरुपयोग, विवादास्पद अभिव्यक्ति र कानुनी विवादमा मुछिँदै आएका बेला बेलमा देखिँदै आएको छ।

पार्टी सभापति रवि लामिछानेदेखि गृहमन्त्री सुधन गुरुङसम्मका सम्बन्धमा विभिन्न विवादमा देखा पर्दै आएका छन्।

अघिल्लो प्रतिनिधिसभामा पनि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ लेनदेनसम्बन्धी 'अडियो प्रकरणमा' मुछिएका थिए। त्यसपछि पार्टीले उनलाई कारबाही गरेको थियो भने उनले सांसद पदसमेत गुमाएका थिए।

उक्त दलका प्रवक्ता खरेल पनि पार्टीभित्र बेलाबखत यस्ता समस्याहरू देखा पर्ने गरेको स्वीकार्छन्।

"पार्टी एकदमै ठूलो छ। ठूलो पार्टी भएकाले कतिपय घटनाक्रमहरू यसरी आउँछन्, तर यो गलत हो र यसरी आउनु हाम्रो लागि पनि राम्रो होइन भन्ने कुराको महसुस हामीलाई छ," उनले भने।

"हामीले यही ठानेरै प्रशिक्षणलाई प्राथमिकता दिइरहेका छौँ र गराइरहेका पनि छौँ।"

"जसलाई जे जिम्मेवारी दिइएको होस्, चाहे त्यो पार्टीको, संसद् र सरकारको नै किन नहोस्─ त्यो जिम्मेवारीमा जानुअघि र गइसकेपछि पनि उसको भूमिका जवाफदेही हुनुपर्छ भन्ने तर्फबाट हामीले (काम) गरिरहेका छौँ," पार्टी प्रवक्ता खरेलले भने, "तर त्यो अझै पर्याप्त भएनछ र अझै गर्नुपर्छ भन्ने कुराको महसुसचाहिँ कतिपय यस्ता किसिमका घटनाले हामीलाई गराएको छ।"

त्यस्तै रास्वपाका महामन्त्री आचार्यले पनि "कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीतको कार्य गर्ने जो-कोहीलाई राजनीतिक संरक्षण दिने कार्य पार्टीबाट कहिल्यै नहुने" दाबी गरेका छन्।

"राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्ने छ," खगेन्द्र सुनार प्रकरणमा मङ्गलवार जारी महामन्त्री आचार्यको वक्तव्यमा भनिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।