भारतमा मोदीलाई चुनौती दिइरहेकी ऊर्जाशील जेन जी प्रदर्शनकारी

    • Author, गीता पाण्डे
    • Role, महिला मामिला सम्पादक, भारत
  • Published
  • पढ्ने समय: ४ मिनेट

भारतको जेन जी नेतृत्वका प्रदर्शनकारीहरू देशका सर्वोच्च निर्वाचन अधिकारीको राजीनामाको माग गर्दै प्रदर्शनका लागि गत सप्ताहान्तमा दिल्ली फर्किए। अग्रपङ्क्तिका मुख्य अनुहारहरूमध्ये एक हुन् २९ वर्षीया पीएचडी विद्यार्थी विद्यार्थी नेहा बोरा।

नाट्यकलाकार बोरा क्याम्पस राजनीतिका लागि परिचित वामपन्थी सङ्गठन अल इन्डिया स्टूडन्ट असोसिएशन (आइसा) को दुई वर्षदेखि अध्यक्ष छन्।

तर नेहाको उपस्थिति अब क्याम्पसहरूमा मात्र सीमित छैन।

पछिल्ला केही दिनयता 'भाइरल' भइरहेका भिडिओ फुटेजहरूमा महिला प्रहरी अधिकारीहरूको समूहले उनलाई सडकमा घिसार्दै लगेको, उनले प्रहरीले राखेको बारमाथि चढेर मुठ्ठी उचालेर नारा लगाएको र हिरासतमा लिएको देखिन्छ।

महिला प्रहरीले लगिरहेका बेला उनी मुस्कुराउँदै गरेका तस्बिरहरू पनि भाइरल भएका छन्।

तर हालै बीबीसी बाङ्ग्लालाई दिएको एउटा अन्तर्वार्तामा नेहाले आफूहरूले पाइरहेको चर्चालाई महत्त्व दिन चाहिनन्।

"मलाई थाहा छ कि यो क्यामराको अगाडि भएको थियो, त्यसैले त्यो केही फरक देखियो," उनको भनाइ छ, "तर मैले वामपन्थी संस्थासँग सम्बद्ध सबै विद्यार्थी कार्यकर्ताहरूले मैले जस्तै काम गरेको देखेको छु। क्यामराको ध्यान ममाथि रहेकाले मात्र मानिसहरूले केही फरक सोचेका हुन्।"

नेहामाथि ध्यान यस्तो बेला ध्यान केन्द्रित भएको छ जुन बेला भारतका सडकमा कैयौँ उच्चस्तरका विरोध प्रदर्शनहरू भइरहेका छन्, जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको १२ वर्षको कार्यकालको सबैभन्दा ठूलो चुनौतीको रूपमा हेरिएको छ।

बाल्यकालमा फौजी बुवासँगसँगै

जेन जी नेतृत्वको अनलाइन व्यङ्ग्य आन्दोलन 'कक्रोच जनता पार्टी' (सीजेपी) ले शिक्षा सुधारको माग गर्दै यसपालिको गर्मी याममा दिल्लीमा हप्तौँ लामो विरोध प्रदर्शन गरेको थियो।

जुलाईमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि मात्र त्यो रोकियो।

त्यस्तै भारतका केही विपक्षी दलहरू, विशेष गरी भारतीय कंग्रेस पनि निर्वाचन सुधारको माग गर्दै सडकमा उत्रिएका छन्। केही दिनदेखि कंग्रेस नेता राहुल गान्धी र प्रियङ्का गान्धी वाड्रालाई धकेलेको, लछारपछार गरेको र हिरासतमा लिइएको भिडिओ भारतमा 'भाइरल' हुनुका साथै समाचारमा छाए।

मोदीको पक्षमा मतदाता सूचीमा हेरफेर गरेको आरोप लगाउँदै सीजेपीले दिल्लीमा शनिवार विरोध प्रदर्शन आह्वान गरेको थियो।

भारतका मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने उनीहरूको माग छ। निर्वाचन आयोग र भारतीय जनता पार्टी (भाजपा) दुवैले उक्त आरोपको खण्डन गरेका छन्।

आफू सीजेपीको सदस्य नभए पनि यी प्रदर्शनहरूमा आफ्नो समूहको सहभागिता रहने नेहाले घोषणा गरेकी थिइन्।

भारतको उत्तरी राज्य उत्तराखण्डमा जन्मिएकी नेहाले सैन्य अधिकारी बुवाको सरुवासँगै बाल्यकाल विभिन्न सहरहरूमा बिताइन्।

दिल्ली विश्वविद्यालयबाट स्नातक गरेपछि अम्बेडकर विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी उनी अहिले प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा विद्यावारिधि गरिरहेकी छन्।

नेहा शिक्षा सुधारको विरोधमा सीजेपीले गरेको प्रदर्शनका बेला पहिलो पटक चर्चामा आएकी थिइन्।

नेहा र उनको सङ्गठन आइसा त्यसभन्दा अगाडि नै आन्दोलनमा संलग्न थिए, तर त्यस बेलासम्म धेरै मानिस उनीहरूबारे जानकार थिएनन्।

गत २८ जुनमा शिक्षाविद् र वैज्ञानिक सोनम वाङ्चुकले सीजेपीको समर्थनमा अनसन सुरु गरेपछि यसमा परिवर्तन आयो किनकि नेहा र आइसाका केही अन्य सदस्यहरू पनि उनीसँगै सहभागी बने।

"त्यो हाम्रा निम्ति स्वाभाविक छनोट थियो। हामीले प्रश्नपत्र चुहावट र शिक्षा सुधारको पक्षमा लामो समयदेखि विरोध प्रदर्शन गर्दै आएका छौँ," पछि नेहाले एउटा अन्तर्वार्तामा भनेकी छन्।

धेरैजसो ध्यान वाङ्चुकमा केन्द्रित थियो, जसको प्रतिष्ठा र उपस्थितिले आन्दोलनलाई उत्प्रेरित गर्‍यो, नेहाको स्पष्ट र जुझारु भाषणले उनीहरूप्रति ध्यान खिच्यो।

वाङ्चुक र अरूलाई अस्पताल सारिएपछि पनि नेहाले आठ किलो वजन घट्दासम्म पनि अनशन जारी राखिन्।

परिवारसँग मतभेद

अस्पताल लगिएपछि पनि उनले एउटा भिडियोमा भनिन्, "लडाइँ जारी छ। म निको भएपछि, अधिकारको लडाइँ जारी राख्न हामी फेरि तपाईँसँग सडकमा भेट्ने छौँ।"

जुलाईमा विरोध प्रदर्शन अन्त्य भएपछि नेहाले आफूलाई एक जेन जी नेत्रीका रूपमा स्थापित गरिन्। उनलाई सीजेपी र मिडियाले आमन्त्रण गर्न थाले। साथै, पत्रकार सम्मेलनमा पनि उनी राहुल गान्धीसँग देखा परिन्।

तर वामपन्थी राजनीति र आइसासँग नेहाको सम्बद्धता र प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह तथा अन्य भाजपा नेताहरूको आलोचनायुक्त अभिव्यक्तिले उनको "परिवारसँग धेरै असहमति उत्पन्न भयो किनभने मेरा अभिभावक भाजपाका कट्टर समर्थक हुन्।"

उत्तर प्रदेशमा भाजपाले नेहामाथि मुख्यमन्त्रीविरुद्ध "आपत्तिजनक टिप्पणी" गरेको आरोप लगाउँदै गत महिना कम्तीमा तीन वटा उजुरी प्रहरी कार्यालयमा दर्ता गरेको छ।

नेहालाई ज्यान मार्ने धम्की आएको भनी आइसाले प्रहरीमा उजुरी गरेको दुई दिनपछि उनीविरुद्ध उजुरी परेको हो।

विद्यार्थीहरूको विरोध प्रदर्शनमा समर्थन जनाउँदै त्यसमा भाग लिन भारतका विभिन्न सहरहरूमा यात्रा गरिरहेकी नेहामाथि झारखण्ड राज्यमा एउटा विरोध प्रदर्शनका बेला एक जना व्यक्तिले मसी फ्याँकेपछि पनि उनी चर्चामा आइन्। नेहाले इन्स्टाग्राममा 'शेअर' गरेको एउटा फोटोमा उनको अनुहारमा मसी लतपतिएको देखिन्छ।

प्रहरीले ती व्यक्तिलाई हिरासतमा लिएको बताएको छ।

सडकबाट परिवर्तन?

चर्को प्रदर्शन र पटकपटक हिरासतमा पर्दा नेहाले सडक योद्धाका रूपमा ख्याति प्राप्त कमाएकी छन्।

"यो देशमा सडकले सधैँ यहाँको राजनीतिलाई निर्देशित गर्दै आएको छ र आगामी केही वर्षहरूमा पनि त्यो जारी रहने छ," उनले बीबीसी बाङ्ग्लालाई भनिन्।

"यदि हालसालैका सामाजिक परिवर्तनहरू हेर्ने हो भने, ती सामाजिक परिवर्तनहरू संसद्‌मा बसेका मानिसहरूबाट आएका होइनन्, सडकबाट आएका हुन्," उनको भनाइ छ।

मुख्य निर्वाचन आयुक्त कुमारविरुद्धको प्रदर्शनलाई निस्तेज पार्ने अधिकारीहरूको प्रयासबीच नेहा र आइसा "लोकतन्त्रको रक्षा" को निम्ति सीजेपीसँगै सडकमा देखा परेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।