झन्डै ५,००० फरार कैदीबन्दी अझै जेलबाहिर, फर्काउन सरकारको नयाँ योजना यस्तो

जेन जी आन्दोलनपछिको अव्यवस्थाका बीच भाग्न लागेका कैदीबन्दीलाई फर्काउँदै सुरक्षाकर्मी
तस्बिरको क्याप्शन, चाडबाडलगत्तै फरार कैदीबन्दी पक्राउ अभियान तीव्र पारिने अधिकारीहरूले बताएका छन्
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

जेन जी आन्दोलनबीच फरार भएका सबै कैदीबन्दीलाई फर्काउने प्रयास जारी राखेको भन्दै कारागार व्यवस्थापन विभागका एक उच्च अधिकारीले उनीहरूका तस्बिर प्रकाशित गर्ने विकल्पमा पनि जाने बीबीसीलाई बताएका छन्।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले आउँदा दिनमा सबै ठाउँमा सम्भव नभए पनि निश्चित स्थानमा कैदीबन्दीका तस्बिर प्रकाशित गरिने बताएका हुन्।

त्यसरी सार्वजनिक स्थलमा कैदीबन्दीका तस्बिर टाँसिएमा पहिचान गर्न र पक्राउका लागि सुरक्षाकर्मीलाई खबर गर्न सर्वसाधारणलाई समेत सहज हुने एक भूतपूर्व प्रहरी नायब महानिरीक्षकले बीबीसीलाई बताए।

विभागका अनुसार असोज मसान्तसम्मको तथ्याङ्कअनुसार फरार कैदीबन्दीहरूमध्ये पाँच हजारको हाराहारीमा अझै फर्किसकेका छैन्।

गृह मन्त्रालयका सचिवले चाडबाडलगत्तै फरार कैदीबन्दीहरूको खोजी तथा लुटिएका हतियार फिर्ता ल्याउने अभियानमा थप तीव्रता दिइने बीबीसीलाई बताएका छन्।

'उपलब्धताअनुसार तस्बिर छापिने'

कारागार व्यवस्थापन विभागका साथै सबै जिल्ला प्रशासन कार्यालयहरूका वेबसाइटमार्फत्‌ फरार कैदीबन्दीहरूको नामावली प्रकाशित गरिएको छ।

विभागले त्यस्तो नामावली अध्यागमन विभागदेखि धेरै भिडभाड हुने सार्वजनिक सेवा दिने स्थलहरूसम्ममा पठाइएको जनाएको छ।

सार्वजनिक स्थलमा फरार कैदीबन्दीका तस्बिर टाँस्ने विषयमा निर्देशक न्यौपानेले बीबीसीसँग भने, "अर्को चरणमा यो पनि गर्नुपर्ने अवस्था छ। सबै ठाउँमा नभए पनि उनीहरूका ठेगाना र फरार भएको जिल्लामा हामी गर्छौँ।"

भाग्न खोज्ने कैदीबन्दीलाई रोक्दै सुरक्षाकर्मी
तस्बिरको क्याप्शन, केन्द्रीय कारागारबाट भाग्न खोजेका कतिपय कैदीबन्दीलाई सेनाले रोकेको थियो

तर कति फरार कैदीबन्दीका हकमा त्यसो गर्न सकिन्छ भन्ने कुरा उनीहरूका तस्बिरको उपलब्धतामा पनि निर्भर गर्ने उनले उल्लेख गरे।

"कत्तिको उपलब्ध छ र कति पुराना तस्बिर छन् - जे छ, हामी त्यो पब्लिश गर्दै जान्छौँ," न्यौपानेले अगाडि थपे।

मुलुककै इतिहासमा एकैचोटि निकै ठूलो सङ्ख्यामा कैदीबन्दीहरू फरार भएको "अभूतपूर्व" घटनाले सुरक्षा चुनौती बढाइदिएको भन्दै चौतर्फी चिन्ता व्यक्त हुँदै आएको छ।

कारागार व्यवस्थापन विभागको तथ्याङ्कअनुसार फरार अवस्थाका कैदीबन्दीहरूमा नेपालीपछि दक्षिणी छिमेकी देश भारतका सबैभन्दा धेरै नागरिक रहेका छन्।

चाडबाडलगत्तै खोजी 'तीव्र पारिने'

नेपाली समुदायको प्रमुख चाड दशैँ र तिहारपछि केही दिनमा अब अर्को मुख्य चाड छठ पनि सकिँदै छ।

गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालका अनुसार चाडबाडलगत्तै फरार कैदीबन्दी तथा लुटिएका हतियारहरू खोज्ने कार्यमा तीव्रता दिइने छ।

"तीनवटै सुरक्षा निकायको संयुक्त अपरेशनमार्फत् खोजी भइरहेको छ। अब चाडबाडपछि त्यो झन् म्यासिभ [व्यापक] हुन्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

"अपेक्षित नतिजा नदेखिएपछि ल इन्फोर्समन्टमै जानुपर्ने देखियो," भावी कदमबारे दङ्गालले अगाडि थपे।

लुटिएका हतियारहरू खोज्ने सन्दर्भमा "जोखिम क्षेत्र पहिचान गरी कारबाही गरिने"सम्म उनले स्पष्ट पारे।

फरार कैदीबन्दीहरूलाई आफ्नो टोलछिमेकमा देखेमा सुरक्षाकर्मीलाई सूचना दिएर सर्वसाधारणले सहयोग गर्न सक्ने गृहसचिव दङ्गालको तर्क छ।

तस्बिरले सजिलो हुने अपेक्षा

फरार कैदीबन्दीका तस्बिर प्रकाशित गरी जनमानसमा चिनाउने एउटा राम्रो विकल्प भएको नेपाल प्रहरीका भूतपूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल पनि बताउँछन्।

सबैको गर्न नसकिने भए पनि सकेजतिको हकमा त्यसो गरिए सहयोगी सिद्ध हुन सक्ने उनको तर्क छ।

"फरार कैदीबन्दीहरू को हुन् भनेर आमनागरिकलाई चिनाइदिनुपर्‍यो किनकि फरार व्यक्तिका नाम सुने पनि सबैले तिनको अनुहार देखेका हुँदैनन्। सार्वजनिक स्थलमा फोटो देखियो भने नोटिस हुन्छ कि?," मल्लले बीबीसी न्यूज नेपालीसँग भने।

कुख्यात फरार अपराधीहरूको हकमा सूचना दिने व्यक्तिलाई पुरस्कारको पनि घोषणा गर्न सकिने पनि उनको सुझाव छ।

"तर त्यस्ता कैदीबारे सूचना दिने व्यक्तिको सुरक्षाबारे राज्यले आश्वस्त पार्नुपर्ने हुन्छ," भूतपूर्व डीआईजी मल्लले सजग गराए।

फरार कैदीबन्दीहरू समाजमा लुकेर बस्ने भएकाले उनीहरूको पक्राउमा आमनागरिकको भूमिका महत्त्वपूर्ण हुने मल्ल बताउँछन्।

भाग्न खोज्ने कैदीबन्दीलाई नियन्त्रणमा लिँदै सेना
तस्बिरको क्याप्शन, विभागले भाग्ने र लुकाउने दुवैलाई कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ

सबै जिल्लामा कार्यदल सक्रिय

हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित फरार बन्दी खोजी तथा पक्राउ कार्यदल सक्रिय रहिआएको विभागले जनाएको छ।

कार्यदलले स्थानीय सरकार र वडा कार्यालयसँग समेत समन्वय गरेर फरार कैदीबन्दीको सूचना सङ्कलन गर्ने र पक्राउ गर्ने काम गर्ने जिम्मेवारी पाएको छ।

विभागले शैक्षिक संस्था, टोल सुधार समिति तथा स्थानीय क्लब, सार्वजनिक सवारीसाधन, बसपार्क, मनोरञ्जन स्थलहरू, सीमा नाकालगायतका स्थानमा फरार रहेका कैदीबन्दीको नामावली पठाएर खोजतलास भइरहेको जनाएको छ।

भदौ २४ अघि देशभरिका जेलहरूमा कुल २९,००७ जना कैदीबन्दी रहेकामा १३,२०७ जना फरार भएका थिए।

बालसुधार गृहका समेत जोड्दा ३०,४२९ जना कैदीबन्दी रहेकामा १४,००० जनाभन्दा बढी व्यक्ति भागेका थिए।

जेन जी आन्दोलनपछि भाग्न खोज्ने कैदीबन्दी
तस्बिरको क्याप्शन, कतिपय कारागारमा तोडफोड गरी कैदीबन्दीहरू फरार भएका थिए

लुकाउनेलाई पनि कारबाही

फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गरिने कारागार व्यवस्था विभागका अधिकारीहरूले बताउँदै आएका छन्।

कारागारबाट व्यक्ति भगाएमा वा भगाउन सहयोग गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

जेन जी आन्दोलनका प्रदर्शनका क्रममा भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्कन विभागले मौका दिएकोमा उक्त समयसीमाभित्र नफर्किएका व्यक्तिहरूलाई विद्यमान ऐनअनुसार थप सजाय हुने निर्देशक न्यौपाने बताउँछन्।

कारागार व्यवस्था ऐन २०७९ को दफा ४९ मा कारागार सुधार गृह, पुनर्स्थापना केन्द्र तथा बालसुधार गृहमा प्रोबेशन वा परोलमा रहेका व्यक्ति भागेको अवस्थामा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

त्यस्तै कारागारबाट भागेका कतिपय कैदीबन्दी कारागारको भौतिक संरचना तोडफोडमा समेत संलग्न भएका कारण त्यस्तो कसुर गर्ने कैदीबन्दीलाई १० वर्षसम्मको कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था छ।

उक्त ऐनमा कारागारको पर्खाल, झ्याल वा ढोका भत्काएको अवस्थामा अधिकतम १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।