ट्रम्प र प्रमुख एआई कम्पनीका अगुवाहरूबीच नियमनबारे सहमति

ट्रम्प र प्रविधि कम्पनीका अगुवाहरू
Published
पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रमुख प्रविधि कम्पनीका नेताहरूले आर्टिफिशल इन्टेलिजन्स एआईलाई नियमन गर्नेबारे एउटा सहमतिमा हस्ताक्षर गरेका छन्।

ट्रम्पले उक्त सहमतिलाई "नैतिक रूपमा बाध्यकारी" भनेका छन्।

ह्वाइट हाउसमा प्रविधि कम्पनीका प्रतिनिधिहरूसँगको बैठकपछि यो घोषणा भएको छ।

मानवजातिलाई आर्टिफिशल इन्टेलिजन्सले निम्त्याएको खतरालाई सम्बोधन गर्न ट्रम्प प्रशासनमाथि बढ्दो दबावबीच राष्ट्रपति ट्रम्पले एआई कम्पनीहरूले आफैँलाई नियमन गर्न सक्ने बताए।

सुरक्षा उपायबारे गरिएको आह्वानलाई फेरि एक पटक अस्वीकार गर्दै उनले त्सको सट्टा "व्यापक रूपमा स्वनियमन" हुने जिकिर गरे।

एआईको नयाँ सहायक

ट्रम्प र प्रविधि कम्पनीका प्रमुखहरू

यसअघि राष्ट्रपति ट्रम्पले आर्टिफिशल इन्टेलिजन्सको क्षेत्रमा चीनसँग कुनै पनि संयुक्त व्यवसायलाई अस्वीकार गर्दै त्यसो गर्नु भनेको अमेरिकाको मुख्य आर्थिक प्रतिद्वन्द्वीलाई गोप्य कुराहरू बताउनु बराबर हुने टिप्पणी गरेका थिए।

मङ्गलवार ओपनएआईले 'डट्स' नामक आर्टिफिशल इन्टेलिजन्सको नयाँ सहायक सार्वजनिक गरेको छ। त्यसले प्रयोगकर्ताका तर्फबाट सक्रिय रूपमा काम गर्न सक्ने दाबी गरिएको छ।

सान फ्रान्सिस्कोमा आयोजित एउटा कार्यक्रममा त्यसका प्रमुख कार्यकारी अधिकृत साम अल्ट्मन ले 'डट्स' लाई "असाधारण रूपमा सक्षम र तपाईँले सोच्ने कुनै पनि कामलाई सम्हाल्न सक्ने सधैँ सक्रिय एजेन्ट" भनेर व्याख्या गरे।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा प्रविधि जगत्‌का अगुवा तथा सभामुख माइक जोन्सनसँग खाना खाइरहेका बेला मङ्गलवार ओपनएआईको कार्यक्रम भएको थियो।

आर्टिफिशल इन्टेलिजन्स कम्पनीहरूले आफूलाई नियमन गर्नुपर्नेमा ट्रम्पले पुनः जोड दिएका छन्।

उक्त क्षेत्रसँग सम्बन्धित विषय हेर्ने गरी आफूले १० सदस्यीय समिति गठन गर्नेबारे उनीहरूसँग छलफल गरेको भन्दै ट्रम्पले त्यसबाट "व्यापक रूपमा स्वनियमन" हुने जनाएका छन्।

'मध्यमार्ग अपनाउनुपर्छ'

एआई कम्पनीका मोडेलहरूबाट सुरक्षा उल्लङ्घनका घटनाहरू सार्वजनिक भएपछि केही अनुसन्धानकर्ता तथा कम्पनीका नेताहरूले एआई विकासको गतिमा कमी ल्याउन आह्वान गरेका छन्।

"हामीले मध्यमार्ग अपनाउनुपर्ने हुन्छ," मङ्गलवार पत्रकारहरूसँगको प्रश्नोत्तरमा बीबीसीसँग कुरा गर्दै अल्ट्मनले भने।

"मलाई आशा छ कि हाम्रो उद्योगले केही सदस्यहरूले लिएकाभन्दा अझ सुझबुझपूर्ण र व्यावहारिक नीति अवलम्बन गर्ने छ," उनले भने।

अल्ट्मनले कुनै निश्चित कम्पनी वा तिनका नेताहरूको नाम लिन भने अस्वीकार गरे।

आगामी महिनाहरूमा ओपनएआई र एन्थ्रोपिक दुवै सार्वजनिक शेअर बजारमा सूचीकृत हुने अपेक्षा गरिएको छ।

एन्थ्रोपिक सम्भवतः यस वर्ष सूचीबद्ध हुने छ भने ओपनएआई सन् २०२७ का सूचीकृत हुने लागि तय भएको छ।

अल्ट्मनले सार्वजनिक बजारमा आफ्नो कम्पनीको शेअर बेच्न आफू उत्सुक रहेको बताएका छन्।

"मलाई लाग्छ यदि ओपनएआई सार्वजनिक रूपमा आउन धेरै समय ढिला भयो भने विश्वका लागि त्यो नराम्रो हुने छ। म चाहन्छु एआईबाट हुने फाइदाहरूमा मानिसहरू संलग्न हुन सकून्।"

एआईले सार्वजनिक पूर्वाधार अथवा सार्वजनिक सुरक्षामा ठूलो स्तरमा वास्तविक खतरा निम्त्याउन सक्छ भन्ने कुरामा विश्वास रहेको दुवै कम्पनीले हालै स्पष्ट पारेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।