जेल नफर्किएका कैदीबन्दीलाई आश्रय दिनेलाई पनि 'कारबाही' गर्ने सरकारको चेतावनी

डिल्लीबजार कारागारमा भएको तोडफोड
तस्बिरको क्याप्शन, डिल्लीबजार कारागारमा तोडफोड र अगजनीपछि भाग्ने प्रयास गरेका कैदीबन्दीलाई नेपाली सेनाले रोकेको थियो
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

जेन जी प्रदर्शनको मौकामा कारागारबाट भागेका १४ हजारभन्दा बढी कैदीबन्दीमध्ये पाँच हजारभन्दा बढी कैदीबन्दी फिर्ता नआएपछि कारागार व्यवस्थापन विभागले खोजीसँगसँगै उनीहरूलाई आश्रय दिने व्यक्तिलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ।

कारागार व्यवस्थापन विभागका अनुसार शुक्रवारसम्म ८,८५० जना कैदीबन्दी कारागार फर्किएका छन्।

भदौ २४ को प्रदर्शनका क्रममा पूर्वमन्त्रीहरू रवि लामिछाने, टोपबहादुर रायमाझी तथा पूर्वराज्यमन्त्री सञ्जयकुमार साहसहित देशभरिका २६ वटा कारागारबाट कैदीबन्दीहरू भागेका थिए।

उनीहरू तीनै जना कारागार फर्किएको विभागले जनाएको छ। विभागका निर्देशक चोमेन्द्र न्यौपानेले शुक्रवारसम्म ५,७०० जना कैदीबन्दी कारागार फर्किएको जानकारी दिए।

अझै फरार रहेका कैदीबन्दीमध्ये उल्लेख्य सङ्ख्यामा विदेशी नागरिकहरू रहेको विभागले जनाएको छ। विभागले अध्यागमन विभागलाई फरार विदेशी कैदीबन्दीलाई कालोसूचीमा राख्न यसअघि पत्राचार गरेको थियो।

खुला सीमानाका कारण भारततर्फ जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमानाकामा फरार कैदीबन्दीको विवरण पठाउनुका साथै निगरानी बढाइएको अधिकारीहरूले बताएका छन्।

नफर्किएका कैदीबन्दीलाई 'थप सजाय'

डिल्लीबजार कारागार

यसअघि विभागले प्रदर्शनका क्रममा भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म कारागार फर्कन मौका दिएको थियो। उक्त अवधिभित्र नफर्किएका कैदीबन्दीलाई थप सजाय हुने निर्देशक न्यौपानेले बताए।

"मौका दिँदा पनि नफर्किएका कैदीबन्दीलाई कारागार व्यवस्था ऐनअनुसार कारबाही हुन्छ," उनले भने।

कारागार व्यवस्था ऐन २०७९ को दफा ४९ मा कारागार सुधार गृह, पुनर्स्थापना केन्द्र तथा बालसुधार गृहमा प्रोबेशन वा परोलमा रहेका व्यक्ति भागेको अवस्थामा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

निर्देशक न्यौपानेले कारागारबाट भागेका कतिपय कैदीबन्दी कारागारको भौतिक संरचना तोडफोडमा समेत संलग्न भएका कारण त्यस्तो कसुर गर्ने कैदीबन्दीलाई १० वर्षसम्मको कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने बताए।

उक्त ऐनमा कारागारको पर्खाल, झ्याल वा ढोका भत्काएको अवस्थामा अधिकतम १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ।

'आश्रय दिनेलाई पनि सजाय हुन सक्ने'

कारागार व्यवस्था विभागले दशैँअघि एक सूचना जारी गर्दै 'फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गरिने' चेतावनी दिएको थियो।

विभागका निर्देशक न्यौपानेले कैदीबन्दीको खोजी गर्ने क्रममा कसैले आश्रय दिएर लुकाएको भेटिए आश्रय दिनेलाई पनि कारबाही गरिने बताए।

"कसैले आफन्त, साथीभाइको नाताले आश्रय दिएर राखेको छ भने पनि अब त्यसको खोजी गर्न, पहिचान गर्न हामीले सुरक्षा निकायहरू र स्थानीय सरकारहरूलाई भनिसकेका छौँ," उनले भने।

कानुनमा कारागारबाट व्यक्ति भगाएमा वा भगाउन सहयोग गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

कैदी खोज्न कार्यदल

कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दी

कारागार व्यवस्था विभागले प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा 'फरार बन्दी खोजी तथा पक्राउ कार्यदल' गठन गरिएको जनाएको छ।

"सरकारले कतिपय मानिसको नियत खराब पनि भएको हुन सक्ने अनुमान गरेर खोजीका लागि कार्यदल बनाउने निर्णय गरेको छ," विभागका निर्देशक न्यौपाने भन्छन्।

"यस्तो कार्यदलले स्थानीय सरकार र वडा कार्यालयसँग समेत समन्वय गरेर फरार कैदीबन्दीको सूचना सङ्कलन गर्ने र पक्राउ गर्ने काम गर्छ।"

विभागले शैक्षिक संस्था, टोल सुधार समिति तथा स्थानीय क्लब, सार्वजनिक सवारीसाधन, बसपार्क, मनोरञ्जन स्थलहरू, सीमा नाका लगायतका स्थानमा फरार रहेका कैदीबन्दीको नामावली पठाएर खोजतलास भइरहेको बताएको छ।

"केही फरार भएका कैदीबन्दीहरू पक्राउ परिरहेका पनि छन् र बाँकीको खोजी जारी छ," न्यौपाने भन्छन्।

कति छन् कैदीबन्दी

कारागार बाहिर निस्किएका कैदीबन्दीहरू

भदौ २४ अघि देशभरका जेलहरूमा कुल २९,००७ कैदीबन्दीहरू रहेकामा १३,२०७ जना फरार भएका थिए।

बालसुधार गृहका समेत जोड्दा ३०,४२९ कैदीबन्दी भएकामा १४,००० भन्दा बढी कैदीबन्दी भागेका थिए।

के उनीहरू समातिएलान्?

सुरक्षा विज्ञहरूले विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका कैदीहरू अझै ठूलो सङ्ख्यामा बाहिरै हुँदा समाजमा सुरक्षा चुनौती बढ्ने चेतावनी दिएका छन्।

कारागार व्यवस्था विभागका पूर्वमहानिर्देशक जनकराज दाहाल ठूलो सङ्ख्यामा कैदीबन्दी फरार हुँदा चुनावको मुखमा सुरक्षा चुनौती थपिएको ठान्छन्।

तर फरार भएका कैदीबन्दीको ठेगाना र पारिवारिक सम्पर्कजस्ता अभिलेख जेल प्रशासनसँग रहने भएका कारण त्यस्ता धेरै व्यक्ति पुनः पक्राउ हुन सक्ने बताउँछन्।

"समय लाग्न सक्छ तर कारागारबाट भागेकाहरू ढिलोचाँडो पक्राउ चाहिँ पर्छन्," दाहाल भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।