धेरैजसो 'दशैँका सामान रसुवामा बगे', बचेका 'कोरलामा अड्किए'

कोरलामा जम्मा भएका ट्रकहरू
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

नजिक आउन लागेका दशैँतिहारसहितका चाडबाडका लागि चीनबाट रसुवाको टिमुरे आइपुगेका कपडा गएको भदौ १० गते भोटेकोशी-त्रिशूली बाढीमा परेपछि केरुङमै बाँकी रहेका कारण बचेका थोरै सामान व्यवसायी भक्त पराजुलीले कोरला नाकातर्फ पठाएका थिए।

काठमाण्डूबाट करिब चार घण्टामा पुग्न सकिने १०० किलोमिटर मात्रै टाढाको तातोपानी नाका चीनबाट राजधानीसम्म सामान ल्याउन सबैभन्दा छोटो बाटो हो।

तर चीनले सिन्धुपाल्चोकको तातोपानीको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेपछि नेपालमा आयात हुने सरसामान उक्त बाटो हुँदै आउन थालेको एक महिनामै यो नाकासम्मको बाटो कैयौँ ठाउँमा पहिरो र कटानमा परेको छ। अधिकारीहरूले यो बाटो खोल्न कम्तीमा १० दिन लाग्ने आकलन गरेका छन्।

"रसुवामा भन्सारतिर आइसकेका सामान बाढीले बगाएर लग्यो। बाँकी समान कोरला पठाएको, त्यो पनि दशैँअगाडि आइनपुग्ने भयो," हिमालय सीमापार व्यापार सङ्घका भूतपूर्व वरिष्ठ सचिव समेत रहेका पराजुली सुनाउँछन्।

नेपालमा दशैँतिहारमा नयाँ लुगा लगाउने र उपहार समेत दिने प्रचलनका कारण चीनमा उत्पादित कपडाको चाडबाडअघि उच्च माग हुने गरेको व्यवसायीहरू बताउँछन्।

कोरलाबाट बाटो सहज भए पनि काठमाण्डूसम्म सामान आइपुग्न तीन दिन लाग्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान बेच्ने गरेका पराजुली कोरला नाका खुलेपछि दशैँका लागि सामान बेच्न नभ्याइने बताउँछन्।

गत बिहीवारदेखि आइतवारसम्मको वर्षाले कोरला नाकामा हिउँ थुप्रिनुका साथै उक्त नाकासम्म पुग्ने कालीगण्डकी करिडर सडक कैयौँ ठाउँमा अवरुद्ध गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए।

"यताका सामानहरू डाइभर्ट गरेर कोरला नाकाबाट ल्याउन गरेको व्यवस्थामा पनि भर्खरैको बर्षाका कारण सडक अवरुद्ध छ। यता दुई वटा नाका पहिलेबाटै बन्द भएको अवस्था हो। त्यसकारण अहिले उत्तरी सीमा भएर ढुवानी हुने हाम्रा मालबस्तुलाई प्रत्यक्ष असर परेको छ," बस्नेतले बीबीसी न्यूज नेपालीसँग भने।

नेपाल र चीनबीचका १३ वटा व्यापारिक नाकामध्ये तीन वटा मात्रै मोटर गुड्न मिल्ने नाका थिए।

कोरलासम्मको बाटो बन्न कति समय लाग्छ?

कालीकण्डकरी करिडरको बाटो

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार जोमसोमबाट कोरलासम्म केही ठाउँमा र लेतेबाट म्याग्दीसम्म पनि कैयौँ ठाउँमा पहिरोका कारण सडक अवरुद्ध छ। ठाउँठाउँमा सडक अवरुद्ध हुँदा मुस्ताङ सदरमुकाम नै राष्ट्रिय सडक सञ्जालबाट टुटेको उनले बताइन्।

"अहिले म्याग्दीसम्म पनि पुग्ने बाटो छैन। गलेश्वर मन्दिरनजिकै राहुघाटमा र तातोपानीमा सडक नै बगाएको छ," शर्माले टेलिफोनमा भनिन्।

सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीका अनुसार कोरला नाकासम्म सडक खुलाउन अझै दुई सातासम्म लाग्न सक्छ।

"हामी म्याग्दीसम्मको सडक चाहिँ आजभोलि नै खुलाउँछौँ। त्यहाँभन्दा उता कोरलासम्मको सडक खुलाउन चाहिँ १०-१५ दिन लाग्न सक्छ," अधिकारीले भने।

दशैँको घटस्थापना सुरु हुन अबको दुई साताभन्दा पनि कम समय बाँकी रहँदा कोरला नाकासम्मको सडक अवरोधले दशैँका लागि चीनबाट लत्ताकपडासहितका सामान मगाएका व्यापारीहरूलाई चिन्तित तुल्याएको छ।

"दशैँका लागि सामान ल्याउन वित्तीय संस्था र सहकारीबाट ऋण काढेर मगाएको सामान बाढीमा पर्‍यो। बचेको सामान पनि दशैँ अघि दिन सकिएन," व्यवसायी पराजुलीले भने।

उनका अनुसार बजारमा अहिले नै चिनियाँ सामानको अभाव देखिन थालेको छ।

वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले सडकहरू मर्मत गरेर सकेसम्म छिटो नाका खुलाउन सरकारले पहल गरिरहेको बताए।

"अर्को विकल्प भनेको सामुद्रिक बाटोबाट सामान ल्याउने हो। तर चाडपर्व एकदम नजिकिँदै गरेका कारण समयलगायतका कारणले आयातकर्ताहरू पनि समस्यामा हुनुहुन्छ," बस्नेत भन्छन्।

तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि कोरला नाका प्रभावकारी सञ्चालनका लागि पहिले भएकोभन्दा पाँच गुणा बढी जनशक्ति पठाइएको यसअघि अधिकारीहरूले बताएका थिए।

जोमसोमबाट कालीगण्डकी नदीको किनारैकिनार ११६ किलोमिटरको यात्रा गरेपछि समुद्र सतहबाट ४,६०० मिटरको उचाइमा रहेको कोरला नाका पुगिन्छ। यसअघि वर्षमा दुई पटक मात्रै व्यापारिक मेलाका लागि खुला गरिने यो नाका तीन वर्षअघिबाट बाह्रै महिना खोलिए पनि हिउँ परेको समयमा यो बाटोबाट सवारी आवागमनमा समस्या हुने गरेको व्यवसायीहरूले बताएका छन्।

विसं २०७२ मा भूकम्पले क्षति पुर्‍याएर लामो समय रोकिएर पुनः सुरु भए तापनि तातोपानी नाका अझै पहिलेको स्वरूपमा फर्कन सकेको छैन। यो नाकाबाट सवारी साधनदेखि चिनियाँ स्याउलगायतका फलफूल, तयारी पोसाक र विद्युतीय उपकरणसहित रसुवागढी नाकाबाट भित्रने सबै किसिमका सामग्री भित्र्याउन सकिने अधिकारीहरू बताउँछन्।

विकल्प 'हुन सक्छ' तातोपानी नाका

तातोपानीको भन्सार यार्ड

लगातार तीन दिनको वर्षाले केही ठाउँमा सामान्य पहिरोले सडक अवरुद्ध भए पनि त्यो पहिरो तत्कालै पन्छाएर तातोपानी नाकासम्मको सडक खुलाउन सकिने नेपाली अधिकारीहरू बताउँछन्।

भदौ १० को बाढीले रसुवागढी नाका र नाकासम्म पुग्ने पासाङ ल्हामु राजमार्गमा ठूलो क्षति पुर्‍याएदेखि नै नेपाली अधिकारीहरूले यो नाका खोलिदिन चीनसँग बारम्बार आग्रह गरिरहेका छन्।

कोरला पनि बन्द भएपछि तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष रामहरि कार्की बताउँछन्।

"हामीले परराष्ट्र मन्त्रालयदेखि अर्थ मन्त्रालय र भन्सार विभागसम्म 'कूटनीतिक पहल गरिदिनुपर्‍यो, तत्काल रसुवा खोल्न सक्ने अवस्था छैन, हिउँ परेपछि कोरला पनि जान नसक्ने अवस्था हुन सक्छ, त्यसको विकल्प भनेको सजिलो र छोटो दूरीको तातोपानी खोल्न पहल गर्नुपर्‍यो' भनेर भनेका छौँ। उहाँहरूले [चिनियाँ पक्षलाई] भन्नुभएको छ कि छैन कि, अथवा किन खुलेको छैन, अन्योलकै विषय भएको छ," कार्की भन्छन्।

वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेत तातोपानी नाका खुलाउन कूटनीतिक पहल भइरहेको बताउँछन्। "‍तर उताबाट कुनै जानकारी आएको छैन। उहाँहरूतर्फ पनि अलिकति समस्या छ भन्ने कुरा आएको थियो। त्यो विषय के हो, उहाँहरूले जानकारी गराउनुभएको छैन," बस्नेतले भने।

उनका अनुसार उक्त नाका खोल्ने विषय परराष्ट्र मन्त्रालयमार्फत् चीनसम्म पुर्‍याइएको थियो।

तर पहल प्रभावकारी नभएको व्यवसायीहरू बताउँछन्। "पहल मात्रै भएर भएन। यो पनि नाका नभएपछि हाम्रो चीनसँगको सम्पर्क नै टुटेजस्तो भएको छ," व्यापार सङ्घका अध्यक्ष कार्कीले भने।

गएको असार अन्तिममा पहिरोले नेपालतर्फको सडक अवरुद्ध भएको केही समयमै चीनले असार २७ गतेबाट 'एकतर्फी रूपमा' तातोपानी नाका बन्द गरेको व्यापारी र अधिकारीहरू बताउँछन्।

तातोपानी भन्सार कार्यालयका निमित्त प्रमुख रमेशबहादुर शाहले भदौ १० को बाढीपछि सीमापारि रोकिएका केही गाडीहरू पार भएका बाहेक कुनै पनि व्यापारिक गतिविधि यो नाकाबाट नभएको बताए।

नेपाली अधिकारीहरूले बारम्बार गरेको आग्रहका बाबजुद पनि चीनले तातोपानी नाका खुलाउने सङ्केत नगरेको जानकारहरू बताउँछन्।

कोलकाताबाट ल्याउँदा खर्च र समय धेरै

चीनबाट सामान ढुवानी गरिँदै

चीनबाट आयात गर्ने सामग्री सामुद्रिक बाटो हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट सडकमार्ग हुँदै राजधानी काठमाण्डूसहित देशका प्रमुख सहरहरूमा पुर्‍याउने विकल्प पनि व्यापारीहरूसँग छ।

तर यसमा खर्च र समय धेरै लाग्ने गरेको हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष कार्की बताउँछन्।

उनका अनुसार भारतको बाटो हुँदै सामान आयात गर्न कम्तीमा पनि एक महिना समय लाग्छ। तर सबैभन्दा छोटो तातोपानी नाकाको बाटो हुँदै चीनबाट पठाइएको सामान १० देखि १३ दिनमा काठमाण्डू आइपुग्ने कार्की बताउँछन्।

"कोलकाताको बाटो ल्याउँदा एक कन्टेनरको ढुवानी खर्च एकदेखि दुई लाख रुपैयाँ बढी लाग्छ। अर्को कुरा, तातोपानीतिरबाट दुईचार पोका पनि सामान ढुवानी सेवाले ल्याइदिने भएकाले साना र मझौला आयातकर्तालाई सजिलो छ," कार्कीले भने।

"कोलकाताबाट कन्टेनर नभरिएसम्म सामान नआउने भएका कारण थोरै सामान त्यताबाट ल्याउन सहज छैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।