हालसम्म सम्पर्कबाहिर रहेका पर्यटकको सङ्ख्या ६४४, कुन देशका कति?

भोटेकोशी-त्रिशूली बाढीपछिको अवस्था

तस्बिर स्रोत, EPA

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

भोटेकोशी बाढीमा मारिएकाहरूको शव फेला पर्ने क्रम बढ्दै जाँदा उक्त घटनामा परी सम्पर्कबाहिर रहेका पर्यटकहरूको सङ्ख्या पनि निकै धेरै रहेको अधिकारीहरूले बताएका छन्।

बिहीवार १२ बजेसम्म प्राप्त जानकारीअनुसार उक्त बाढीका कारण हालसम्म सम्पर्क बाहिर रहेका पर्यटकहरूको सङ्ख्या ६४४ रहेको नेपाल पर्यटन बोर्डले बताएको छ।

ती पर्यटकहरू नेपाल, भारतसहित ३३ विभिन्न देशका रहेको जनाइएको छ।

सबभन्दा धेरै भारतीय पर्यटक

सम्पर्कविहीन रहेका विदेशीमध्ये सबैभन्दा धेरै भारतीय रहेको बोर्डका प्रवक्ता सुनील शर्माले बीबीसीलाई बताएका छन्।

जम्मा १७८ जना भारतीय सम्पर्कबाहिर रहेका छन्। त्यस्तै १२७ जना नेपाली पर्यटक अनि ६५ जना अमेरिकी, ५३ जना युक्रेनी, ५१ जना मलेशियाली, ३५ जना अस्ट्रेलियाली तथा ३३ जना यूकेका पर्यटक पनि सम्पर्कबाहिर रहेको उनले बताए।

"हामी सम्बन्धित निकायहरूसँग मिलेर उनीहरूको खोज तथा उद्धार कार्यको समन्वय गरिरहेका छौँ," शर्माले भने।

नेपाल पर्यटक प्रहरीका डिएसपी विश्वराज अधिकारीले विभिन्न टुर अपरेटरहरूसँग त्यस क्षेत्रमा गएका पर्यटकहरूको जानकारी लिने काम भइरहेको बताए।

रसुवाबाट हालै उद्धार गरिएका २३ जना पर्यटकलाई नुवाकोटमा ल्याइएको पनि उनले जानकारी दिए। तर उनीहरू कुन देशका थिए भन्ने जानकारी आइनसकेको उनले बताए।

कैलाश मानसरोवर यात्रा मार्गमा बाढीको प्रभाव परेको थियो। कतिपय पर्यटक चाहिँ लाङ्गटाङ्ग क्षेत्रको स्याफ्रुबेसी तथा गोसाइँकुण्ड यात्रामा रहेको बताइएको छ।

यसअघि नेपाली सेनाले टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि उद्धार गरी काठमाडौँ ल्याउने क्रम जारी रहेको भनेर प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको थियो।

हराइरहेका पर्यटकहरू बारे नेपालका अधिकारीहरूसँग समन्वय गरी खोजी तथा उद्धारको काम भइरहेको कतिपय ती देशका दूतावासहरूले जानकारी दिएका छन्।

भारतका विदेशमन्त्री एस जयशङ्करले बाढीग्रस्त क्षेत्रमा रहेका भारतीयहरूको अवस्था जान्न प्रयासहरू भइरहेको जनाएका छन्।

"विदेश मन्त्रालयले यस बारेमा विभिन्न मन्त्रालयहरू, राज्य सरकारहरू, टुर सञ्चालकहरू तथा आयोजनाका अधिकारीहरूसँग समन्वय गरिरहेको छ," उनले सामाजिक सञ्जालमा जानकारी दिएका छन्।

"यस बारेमा तथा राहत कार्यका निम्ति पनि हामीले नेपाली पक्षसँग निकट रहेर कार्य गरिरहेका छौँ," उनले भनेका छन्।

बिहीवार बिहान क्यानबेरामा बोल्दै अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वङले हराइरहेका अस्ट्रेलियालीहरू विभिन्न तीर्थयात्रा तथा टुर ग्रुपसँग सम्बद्ध रहेको बताइन्। स्थानीय अधिकारीहरू तथा टुर सञ्चालकहरूसँग निरन्तर सम्पर्क गरिरहेको पनि उनले बताइन्।

"मानवीय सहायताका निम्ति हामीले नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ, रेड क्रस तथा अन्य संस्थाहरूसँग समन्वय गरिरहेका छौँ," उनले भनिन्।

कुन देशका कति?

बिहीवार १२ बजे नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार निम्न ३३ देशका निम्न सङ्ख्यामा पर्यटकहरू सम्पर्क बाहिर रहेका छन्:

अस्ट्रेलिया – ३५

बेलारुस – १

बेल्जिअम – ३

बल्गेरिया – १

क्यानडा – २५

फिनल्यान्ड – १

फ्रान्स – ४

जर्मनी – ८

हङ्गेरी – १

भारत – १७८

इटली – २

आयरल्यान्ड – २

इजरेल – १

जापान – ५

कजाख्स्तान – २

लाट्भिया – ६

लिथुआनिया – १

मलेसिया – ५१

नेपाल – १२७

नेदर्ल्यान्ड्स – २

न्यूजील्यान्ड – ५

फिलिपिन्स – १

पोर्चुगल – २

रुस – ८

सर्विया – १

सिङ्गापुर – ९

दक्षिण अफ्रिका – ६

स्पेन – ३

स्वीडन – १

स्वीट्जर्ल्यान्ड – १

युक्रेन – ५३

यूके – ३३

यूएसए - ६५

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।