अमेरिका-इरानबीच हमलाहरू जारी रहँदा इरानका पूर्व सर्वोच्च नेताको अन्तिम संस्कार

तस्बिर स्रोत, Instagram
- Author, विकी वङ्, म्याट स्पाइभी र ट्याबी विल्सन
- Published
- पढ्ने समय: ३ मिनेट
बिहीवार पनि अमेरिका र इरानबीच आक्रमण-प्रत्याक्रमणको सिलसिला जारी रहँदा होर्मुज जलमार्ग भएर आवतजावत गर्ने पानीजहाजहरूको सङ्ख्यामा "नाटकीय" गिरावट देखिएको छ।
अमेरिकाले ९० वटा निसानामा प्रहार गरेको बताएको छ जसमध्ये केही निसाना सो जलमार्ग नजिकै रहेका छन्।
इरानले गत दुई दिनमा भएका आक्रमणमा १४ जनाको ज्यान गएको बताएको छ।
इरानका सरकारी सञ्चारमाध्यमहरूले बुशेहर परमाणु केन्द्र नजिकै आक्रमण भएको उक्त प्रान्तका उप गभर्नरलाई उद्धृत गर्दै जनाएका छन्। त्यसबारे अमेरिकाले कुनै टिप्पणी गरेको छैन।
इरानको प्रत्याक्रमण कहाँ?
इरानले कुवेत, बाहरेन तथा कतारमा रहेका अमेरिकी केन्द्रहरूलाई निसाना बनाएको बताएको छ।
बाहरेनको राजधानी मानामामा विस्फोटनहरू भएका छन् भने कुवेतले क्षेप्यास्त्र र ड्रोनहरूको प्रतिरोध गरेको अनि कतारमा सुरक्षा सावधानी जारी गरिएको विवरण आएका छन्।
बिहीवार अबेर तेहरानले कुवेत, जोर्डन तथा इराकमा थप प्रहार गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन्।
इरानी अधिकारीहरूले अमेरिकासँग होर्मुज जलमार्गको नियन्त्रणका निम्ति भएका लडाइँका माझ देशका कैयन् इलाकाहरूमा ताजा हवाई प्रहार भएको बताएका छन्।
सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले उक्त महत्त्वपूर्ण जलमार्ग इरानको नियन्त्रणमा नरहेको बताएको छ।
उसका अनुसार अमेरिकी सेनाले आठ सय व्यापारिक पानीजहाज तथा ४० करोड ब्यारल कच्चा तेललाई सो मार्ग हुँदै सफल ढुवानी गराउन सहयोग गरेको छ।
सर्वोच्च नेताको अन्तिम संस्कार
हमलाकै माझ ६ दिनको अन्तिम संस्कारका विभिन्न कार्यक्रमसहित इरानले दिवंगत सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेइको पार्थिव शरीर समाधिस्थ गरेको छ।
त्यसका निम्ति उत्तर पूर्वी सहर माशादका सडकहरूमा ठूलो भिड जम्मा भएको थियो जसले इरानी झन्डा फहराएका थिए। कतिपयले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प लक्षित मृत्युका धम्की उल्लिखित ब्यानर तस्बिर बोकेका थिए।

तस्बिर स्रोत, Getty Images
अमेरिका र इजरेलले इरानमा आक्रमण आरम्भ गरेकै दिन फेब्रुअरी २८ मा खामेनेइ मारिएका थिए।
इरानको विदेश मन्त्रालयले पछिल्ला अमेरिकी हमलालाई "गम्भीर युद्ध अपराध" भन्दै अमेरिकी प्रशासनलाई "दुष्ट र साइकोपथिक" भनेको छ।
दिवंगत सर्वोच्च नेताको अन्तिम संस्कार भइरहेको माशाद सहरलाई तेहरानसँग जोड्ने पुल तथा रेलवे मार्गमा पनि हमलाबाट क्षति पुगेको उसले जनाएको छ।
इरानको स्वास्थ्य मन्त्रालयले १४ जनाको ज्यान गएको तथा ७८ जना घाइते भएको बताएको छ।
अमेरिकासँग वार्ता गर्ने टोलीका प्रमुख समेत रहेका इरानका सभामुख मोहम्मद बगेर गलिबाफले सामाजिक सञ्जाल एक्समा लेख्दै धाकधम्की तथा वाचा तोड्ने काम इरानले आइन्दा चुपचाप नसहने कुरा अमेरिकाले अझै नबुझेको भनेका छन्।
"म स्पष्ट पार्न चाहन्छु: यदि तपाईँले प्रहार गर्नु हुन्छ भने तपाईँमाथि पनि प्रहार हुने छ," उनले लेखेका छन्।
उनले होर्मुज जलमार्ग "अमेरिकी धम्की"ले नभइ इरानी व्यवस्थापनमा मात्र खुल्ने बताएका छन्।
मङ्गलवार अमेरिकी सेनाले इरानले होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण गरेको भन्दै 'शक्तिशाली' प्रहारहरू गरेको थियो अनि बुधवार इरानले बदलास्वरूप बाहरेन र कुवेतस्थित अमेरिकी सैन्य अखाडामा आक्रमण गरेको थियो।
बिहीवार पनि आक्रमण- प्रत्याक्रमण जारी रहे।
यी घटना जुन १७ मा अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएयताकै सबभन्दा खराब हुन्।
अमेरिका र इरानबीचको समझदारीमा १४ बुँदा थिए जसमा ६० दिने अवधिको युद्धविरामका बेला वार्ता जारी रहने अनि होर्मुज जलमार्गमा सुरक्षित आवतजावत कायम हुने तथा इरानविरुद्ध अमेरिकी प्रतिबन्धहरू हटाइने विषय रहेका थिए।
६० दिने अवधि नसकिँदै चनाव चर्किएको देखिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























