इरानविरुद्ध अमेरिकी आक्रमण तेज, दक्षिणी इलाकाहरूमा विस्फोट

तस्बिर स्रोत, Reuters
- Author, म्याट स्पाइभी
- Published
- पढ्ने समय: ३ मिनेट
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "यो रात फेरि तिनलाई सशक्त प्रहार" गरिनेछ भने लगत्तै अमेरिकी सेनाले इरानविरुद्ध नयाँ चरणका आक्रमणहरू गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले सिरिक तथा बन्दर अब्बासजस्ता होर्मुज जलमार्गमा रहेका बन्दरगाह सहरहरू सहित देशको दक्षिणी भागमा विस्फोटनहरू भएको जनाएका छन्।
पछिल्ला प्रहारहरूपश्चात् ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्: "हिजो इरानले जहाजहरूमाथि बम प्रहार गरेको बदलामा यी (आक्रमण) भएका हुन्। फेरि यस्तो भयो भने स्थिति झन् खराब हुने छ!"
इरानले कुनै टिप्पणी गरिसकेको छैन तर वरिष्ठ अधिकारीहरूले कुनै पनि अमेरिकी आक्रमणको "तत्काल जबाफ" दिइने भनेका छन्।
"इरानी खतरा विरुद्ध प्रहार"
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले ती आक्रमणहरू "(महत्त्वपूर्ण जलमार्गमा) निर्वाध आवतजावतलाई प्रभावित पार्न सक्ने तेहरानको क्षमतालाई थप कमजोर" बनाउनका निम्ति भएका जनाएको छ।
उसले भनेको छ: "अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र आवतजावत गरिरहेका व्यापारिक जहाज तथा गैरसैनिक नाविकहरूलाई हालै अनुचित हमला गरेको विषयमा अमेरिकाले इरानलाई जबाफदेही बनाउँदै छ।"
इरानी तटका कोनाराक तथा चाबहारजस्ता कैयन् नगरहरूमा पनि विस्फोटनका विवरणहरू आएका छन्।
इरानी सरकारी टेलिभिजनले बन्दर अब्बासमा ८ वटा विस्फोटन भएका तथा २ वटा क्षेप्यास्त्रले दक्षिण इरानका सिरिक र जस्कमा प्रहार गरिएको जनाएको छ।
साथै अबु मुसा नामक टापुमा पनि प्रहार भएको उसले जनाएको छ। उक्त टापुको स्वामित्वलाई लिएर इरान र युनाइटेड अरब इमिरेट्स (युएई)बीच विवाद छ।

तस्बिर स्रोत, Reuters
अमेरिकी हमलाले पुर्याएको क्षतिको स्तरबारे यकीन थाहा हुन सकेको छैन। इरानी सञ्चारमाध्यमहरूले चाबहारमा बिजुली गएको अनि बुशेहरस्थित इस्लामिक रिभोल्युशनरी गार्ड्स (आईआरजीसी)को ब्यारेकमा आगलागी भएको जनाएका छन्।
बुधवार बेलुकी एअर फोर्स वन विमानमा पत्रकारहरूसँग बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले "केही बेर अगाडि सम्पर्क गरेको" भन्दै तिनले सम्झौता गर्न "एकदमै चाहेको" बताए।
ट्रम्पले भने: "मलाई थाहा छैन उनीहरू सम्झौता गर्न लायक छन् कि छैनन् – मलाई थाहा छैन तिनले सम्झौता पालना गर्छन् कि गर्दैनन्, समस्या त्यहीँनेर छ।"
आक्रमण र प्रत्याक्रमणको सिलसिला
मङ्गलवार अमेरिकी सेनाले इरानले होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण गरेको भन्दै 'शक्तिशाली' प्रहारहरू गर्यो।
बुधवार इरानले बदलास्वरूप बाहरेन र कुवेतस्थित अमेरिकी सैन्य अखाडामा आक्रमण गर्यो।
जुन १७ मा अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएयताकै सबभन्दा खराब आक्रमण-प्रत्याक्रमणको घटनामा बुधवार थुप्रै प्रहारहरू भए।
बुधवार ट्रम्पले गत महिनाको युद्धविराम सम्झौता अब समाप्त भएको पनि भने।
"म अब उनीहरूसँग 'डील' गर्न चाहन्न, उनीहरू खराब छन्," टर्कीको एङ्कारामा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को सम्मेलनमा बोल्दै उनले भने, "उनीहरू बिरामी मान्छे हुन्। उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्। उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्। उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे। जहाँसम्म मेरो सवाल छ, अब यो सकियो।"
ट्रम्पको भनाइको प्रतिक्रियामा इरानी विदेश मन्त्री अब्बास अराग्चीले एक्समा लेखेका छन्: "हामी अश्लीलताको जबाफ अश्लीलताबाट दिँदैनौँ। बरू कामबाटै दिन्छौँ – निडरतापूर्वक र अति बहादुरीका साथ।"
अमेरिका र इरानबीचको समझदारीमा १४ बुँदा थिए जसमा ६० दिने अवधिको युद्धविरामका बेला वार्ता जारी रहने अनि होर्मुज जलमार्गमा सुरक्षित आवतजावत कायम हुने तथा इरानविरुद्ध अमेरिकी प्रतिबन्धहरू हटाइने विषय रहेका थिए।
६० दिने अवधि त सकिएको छैन तर ट्रम्पले थप वार्ता गर्नु भनेको "समय खेर फाल्नु" भएको भनेका छन्।
यसअघि पनि जुन २६ मा इरानले एक कार्गो जहाजमा प्रहार गरेपछि अमेरिकाले शृङ्खलाबद्ध हमला गरेको थियो। तर पछि फेरि दुवै पक्षले आक्रमण रोक्ने सहमति गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






















