श्रीलङ्कामा फेला पर्‍यो ५८२ जनालाई गाडिएको अर्को चिहान, तमिल विद्रोहसँग कस्तो सम्बन्ध

आफ्ना बेपत्ता बुवाको तस्बिर बोकेकी महिला

तस्बिर स्रोत, Ranjan Arun Prasadh/BBC

    • Author, अनबरसन इथिराजन
    • Role, विश्व मामिला संवाददाता
  • Published
  • पढ्ने समय: ७ मिनेट

श्रीलङ्कामा गत फेब्रुअरी महिनामा जमिन खन्दै जाँदा धेरै शव गाडिएको सामूहिक चिहान फेला पर्‍यो।

जाफ्ना क्षेत्रको चेम्मनीमा समाधिस्थल विस्तार गर्ने क्रममा कामदारहरूले जमिन खन्दा मानिसका पार्थिव अवशेष भेट्टाएपछि त्यो चिहानबारे अनुसन्धान सुरु भएको छ।

अगस्टको अन्त्यसम्म पुरातत्त्वविद्हरूले उक्त क्षेत्रमा तेस्रो चरणको उत्खनन गरिसक्दा ५७२ जनाका कङ्कालहरू फेला परेका छन्। तिनमा शिशु र बालबालिकाका कङ्काल पनि छन्।

उत्खननका क्रममा चुरा, विद्यालयका झोला र दूध खुवाउने बोतलसहित मानिसको संस्कृति र पहिचानसँग जोडिएका वस्तुहरू पनि छन्।

यो ठाउँ अहिलेसम्म श्रीलङ्कामा भेटिएको सबैभन्दा ठूलो सामूहिक चिहान भएको ठानिएको छ।

गृहयुद्धका बेला बेपत्ता

यसअघि गृहयुद्धका बेला यो क्षेत्रमा मानिसहरूलाई सामूहिक चिहानमा पुरिएको बयान बलात्कार र हत्याको अभियोग लागेका दुई व्यक्तिले दिएका थिए।

अधिकारवादी समूहहरूले पनि सर्वसाधारण मानिसलाई बेपत्ता पारिएको विषय उठाएका थिए। तर त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण यसअघि फेला परेको थिएन।

अहिले भेटिएको सामूहिक चिहानले दशकौँ लामो द्वन्द्वकालमा बेपत्ता आफ्ना बुवाको अवस्थाबारे खोजी गरिरहेकी जेयारुबी जेयाबालनजस्ता हजारौँ मानिसका परिवारमा आशा पलाएको छ। शव मात्रै भेटिए पनि हराइरहेका आफन्तको अवस्थाबारे थाहा हुने जेयाबालन र उनको परिवारको आशा छ।

यो सामूहिक चिहानमा गृहयुद्धका समयमा गैरन्यायिक हत्या भएका मानिसहरू पुरिएको हुन सक्ने धेरै तमिलको विश्वास छ। उनीहरूले अनुसन्धान र न्यायको माग गर्दै आएका छन्।

तर चेम्मनीमा भइरहेको उत्खनन निकै सुस्त छ। त्यसप्रतित बेपत्ता भएका मानिसका परिवारजन त्यति सन्तुष्ट छैनन्।

यो चिहान यसअघि फेला परेको यस्तै खालको अर्को चिहाननजिकै छ। यसबाट लामो समयदेखि बेपत्ता मानिसहरूको खोजी होओस् भनेर माग गर्दै आएको तमिल समुदायमा आक्रोश उत्पन्न भएको देखिन्छ।

सत्य पत्ता लगाउने राजनीतिक इच्छाशक्तिको कमीका कारण सामूहिक चिहान फेला परेको विषयमा बिस्तारै चासो घट्दै जाने धेरैको चिन्ता छ। अनि श्रीलङ्काको उत्तरी क्षेत्रमा यो चिहानले राजनीतिक विरोध समेत उत्पन्न गराएको छ।

जिम्मेवार को? दुई दशकदेखि उत्तर खोज्दै

बेपत्ता मानिसको तस्बिरसहित एक महिला

तस्बिर स्रोत, Kumanan Kanapathippillai/BBC

श्रीलङ्कामा खास गरी तमिल समुदायको बाहुल्य रहेका उत्तरी र पूर्वी क्षेत्रहरू लामो समय गृहयुद्धको विभीषिका खेप्न बाध्य भए। सन् १९८३ देखि २००९सम्म चलेको गृहयुद्धले यो दक्षिण एशियाली टापुराष्ट्रलाई जातीय रेखामा विभाजित गरिदियो।

सिन्हाली बाहुल्य रहेको सरकारले आफूहरूमाथि संरचनागत विभेद गरेको भन्दै देशको उत्तरपूर्वी क्षेत्रलाई अलग्गै राज्य बनाउनुपर्ने माग राखेर 'तमिल टाइगर' विद्रोही समूहले सङ्घर्ष गर्‍यो।

झन्डै २६ वर्ष चलेको यो द्वन्द्वमा करिब एक लाख मानिसको ज्यान गयो। अनि बेपत्ता भएका २३,००० जनामध्ये अधिकांश तमिल थिए।

सुरक्षा निकाय र तमिल टाइगर दुवैले अत्याचार र अपराध गरेको आरोप एकअर्कामाथि लगाउँदै आएका छन्।

रक्तपातपूर्ण द्वन्द्वपछि सन् १९९५ मा श्रीलङ्काली सेनाले जाफना प्रायःद्वीपलाई तमिल टाइगर विद्रोहीको नियन्त्रणबाट आफ्नो हातमा लियो। यसलाई श्रीलङ्काको गृहयुद्धमा तमिल टाइगरको पराजयको मुख्य क्षण मानिन्छ।

सन् १९९०को दशको अन्त्यतिर चेम्मनीमा श्रीलङ्काली सेनाको उपस्थिति र सुरक्षा दुवै बढाइयो। अहिले फेला परेको सामूहिक चिहाननजिकै पनि सेनाको क्याम्प थियो।

त्यस बेला केहीले जाफ्ना क्षेत्रलाई 'खुला कारागार'को सङ्ज्ञा दिएका थिए। उनीहरूले सरकारी सुरक्षा निकायमाथि हजारौँ सर्वसाधारण मानिसलाई बेपत्ता बनाएको आरोप लगाएका छन्। तर श्रीलङ्का सरकारले उक्त आरोप सधैँ अस्वीकार गर्दै आएको छ।

जाफ्नाकी जेयाबालन आफ्ना बुवालाई श्रीलङ्काको सेनाले लिएर गएको र त्यसयता उनको अवस्था अज्ञात रहेको बताउँछिन्।

त्यसपछि आफ्नो परिवारले कैयौँ सैन्य क्याम्प र प्रहरी कार्यालयमा गएर सोधपुछ गरेको तर केही पनि पत्ता नलागेको उनले सुनाइन्।

उनका बुवा सरकारी कर्मचारी थिए। उनले चेम्मनीनजिकै सडक छेउमा एउटा क्याफे पनि सञ्चालन गरेका थिए।

"केही पत्ता लाग्छ कि भनेर अहिले सामूहिक चिहान फेला परेको ठाउँमा अरू बेपत्ताका आफन्तहरूजस्तै म पनि गएँ। तर कुनै प्रमाण फेला परेको छैन। त्यहाँका फेला परेका मानवअस्थिपञ्जरको फरेन्सिक विश्लेषण गरिनुपर्छ भन्ने हाम्रो माग छ," उनी भन्छिन्।

उनका बुवा बेपत्ता हुनुभन्दा दुई साताअघि एक १८ वर्षे तमिल किशोरी पनि सोही इलाकाबाट बेपत्ता भएकी थिइन्।

पहिल्यै मिलेका थिए सङ्केत

उत्खननमा फेला परेको दूधदानी

तस्बिर स्रोत, Kumanan Kanapathippillai/BBC

सन् १९९८ मा कोलम्बोको एउटा अदालतले कुमार स्वामी र उनको परिवारका तीन जनाको हत्या गरेको अभियोगमा पाँच जना सजाय सुनायो।

उक्त विषयले त्यस बेला विश्वको ध्यान तानेको थियो। पछि कुमार स्वामी उनका परिवारजनको शव चेम्मनी क्षेत्रमा पुरिएको पत्ता लागेको थियो। उक्त ठाउँ अहिले भेटिएको सामूहिक चिहानभन्दा १०० मिटरको दुरीमा छ।

अदालतमा बयानका क्रममा दोषी ठहर भएका एक सैनिक सोमरत्न राजपक्षले १९९०को मध्यतिर मारिएका ३०० देखि ४०० जनालाई चेम्मनी क्षेत्रमा गाडिएको बताएका थिए। त्यसको एक वर्षमा उक्त क्षेत्रमा उत्खनन गर्दा १० वटाभन्दा बढी कङ्काल फेला परे। तर त्यसपछि थप अनुसन्धान भएन।

विद्रोहीसँग युद्ध चलिरहेका कारण सरकारले थप अनुसन्धान अघि नबढाएको अधिकारकर्मीहरूले बताएका थिए।

अहिले त्यही क्षेत्रमा अर्को सामूहिक चिहान भेटिएपछि त्यसका लागि को उत्तरदायी हो भन्ने प्रश्न उठेको छ।

"प्रारम्भिक अनुसन्धानमा पनि त्यो ठाउँ स्वाभाविक चिहानजस्तो देखिएको थिएन। त्यो हिन्दू परम्परा अनुसारको चिहान थिएन," श्रीलङ्काको मानवाधिकार आयोगका आयुक्त गहन गुणतिलकले गत वर्ष त्यस क्षेत्रको अवलोकन गरेपछि भनेका थिए।

त्यहाँ केही दर्जन शव मात्रै औपचारिक रूपमा गाडिएको तर अधिकांशको कथा भिन्न रहेको देखिएको अधिकारकर्मीहरू बताउँछन्।

अधिकांश मानव अवशेषहरूमा लुगा थिएन। तिनलाई सँगै पोको पारेर गाडिएको थियो र कतिपय ठाउँमा शवहरूका थुप्रा पनि थिए। ती शवलाई जमिनको सतहभन्दा केवल एक-दुई मिटर खाडल खनेर गाडिएको देखिन्छ।

"यसले पनि त्यो चिहान गैरन्यायिक हत्यासँग सम्बन्धित थियो भन्ने आशङ्कामा बल पुगेको छ," श्रीलङ्काको मानवाधिकार आयोगले गत वर्षको प्रतिवेदनमा भनेको थियो।

अनुसन्धान भयो तर मुद्दा चलेन

श्रीलङ्काको गृहयुद्धका बेला हराएका मानिसका आफन्तहरू

तस्बिर स्रोत, Kumanan Kanapathippillai/BBC

अहिले सामूहिक चिहान फेला परेपछि बेपत्ता मानिसका परिवारले विरोध र बेपत्ताको संस्मरणमा कार्यक्रम आयोजना गरेका छन्।

तीमध्ये एक ६५ वर्षकी सुशीला पनि हुन्। उनका छोरा ज्ञानशीलन रविलाई २४ वर्षको उमेरमा सन् २००७ मा सेनाले लिएर गएको थियो।

"ऊ मेरो एकमात्रै छोरा थियो। उसलाई सम्झिएर म दिनैपिच्छे रुन्छु," उनले बीबीसीसँग भनिन्।

चेम्मनीमा सामूहिक चिहान फेला परेको ठाउँमा उनी पुगे पनि छोरासँग मिल्ने कुनै प्रमाण भेटिनन्। तर अवशेषको डीएनए परीक्षण हुन बाँकी छ।

चेम्मनीमा फेला परेका सबै अवशेष जाफ्ना विश्वविद्यालयको विधिविज्ञान विभागमा राखिएको छ।

सामूहिक चिहान उत्खनन गरेका विज्ञहरूले अदालतमा अन्तरिम प्रतिवेदन बुझाउने तयारी भइरहेको बताएका छन्।

ती कङ्कालहरू कति पहिला गाडिएको थियो भन्ने पत्ता लगाउन केही नमुना देशबाहिर पठाउने ठानिएको छ।

विगतका दशकमा श्रीलङ्कामा २० वटाभन्दा धेरै सामूहिक चिहान फेला परेका छन्। तर कुनै पनि चिहान बलपूर्वक बेपत्ता बनाइएको घटनासँग जोडिएको निष्कर्ष निकालिएको छैन। अनि कुनै पनि उत्खननपछि मुद्दा दायर भएको छैन।

यसअघि फेला परेका सामूहिक चिहानबारे अनुसन्धान नभएका कारण अहिले पनि अनुसन्धान हुनेमा तमिल मानिसहरूलाई आशङ्का छ।

यसअघि सन् २०१८ मा मन्नारमा ३५० वटाभन्दा धेरै कङ्काल भेटिएको घटनापछि भएको अनुसन्धान पनि बिनानिष्कर्ष टुङ्गिएको थियो। जसले धेरै परिवारलाई निराश बनाएको थियो। बेपत्ता व्यक्तिका परिवारले यो अनुसन्धान अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई गर्न दिइनुपर्ने बताएका छन्।

राष्ट्रपति अनुर कुमार दिशानायकको सरकारले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ।

सन् २०२४ मा सत्तामा आएपछि दिशानायकले न्याय र जातीय मेलमिलापका पक्षमा काम गर्ने वाचा गरेका थिए। तर तमिलहरू बेपत्ता बनाइएको युद्ध अपराधको आरोप लागेको घटनामा कुनै पनि अन्तर्राष्ट्रिय संयन्त्रलाई अनुसन्धानमा संलग्न गराउने कुराको उनको सरकार विपक्षमा छ।

श्रीलङ्काका न्यायमन्त्रीले चेम्मनी क्षेत्रमा उत्खननको काम जारी राख्ने बीबीसीसँग बताएका छन्। उनले अवशेषहरूको डीएनए परीक्षण पनि गरिने बताए।

उनका अनुसार सरकारले बेपत्ता व्यक्तिका परिवारलाई पनि आफ्नो डीएनए नमुना दिएर सहयोग गर्न भनेको छ।

गत जुन महिनामा चेम्मनीको निरीक्षण गर्न जाँदा ती मन्त्रीले अनुसन्धान गर्ने र सत्यतथ्य पत्ता लगाउने वाचा गरेका थिए।

नरसंहार गरेर गाडिएको आरोप श्रीलङ्काको सेनाका प्रवक्ताले अस्वीकार गरेका छन्। उनले त्यस्तो आरोप अदालतबाट पुष्टि हुनुपर्ने बताए।

अन्तर्राष्ट्रिय सहयोग 'आवश्यक'

विगतका अपराधहरूको अनुसन्धानमा भएको ढिलाइको अधिकारवादी समूहहरूले कडा आलोचना गरेका छन्।

वर्षौँको अन्तर्राष्ट्रिय दबावपछि सरकारले सन् २०१८ मा बेपत्ता बनाइएको घटनामा अनुसन्धान गर्न एउटा स्वतन्त्र निकाय स्थापना गर्‍यो। तर आफन्त र परिवारका अनुसार बेपत्ता पत्ता लगाउन यसले उल्लेख्य प्रगति गरेको छैन।

"जबरजस्ती बेपत्ता पारिएका, यातना दिइएका र हत्या गरिएका धेरै घटनाको अनुसन्धान अझै अघि बढ्न सकेको छैन। पीडितका परिवार र मानवाधिकार रक्षकहरूले धम्की र त्रासको सामना गरिरहेका छन्," ह्यूमन राइट्स वाचले हालै प्रकाशित गरेको एउटा प्रतिवेदनमा भनेको छ।

संयुक्त राष्ट्रसङ्घले पीडितहरूको पहिचान गर्न, उनीहरूको मृत्यु कसरी भयो भन्ने पत्ता लगाउन र त्यसका लागि को जिम्मेवार छ भन्ने निर्क्योल गर्न श्रीलङ्कालाई अन्तर्राष्ट्रिय सहयोग लिन आग्रह गरेको छ।

"पीडितहरू अत्यन्तै निराश भएको अवस्था छ। उनीहरू दशकौँदेखि छटपटिएका र विगतमा गरिएका अनुसन्धानप्रति उनीहरूको विश्वास हराएको छ," राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयका एशिया-प्रशान्त प्रमुख रोरी मुन्गोभेनले बीबीसीसँग भनिन्।

अन्तर्राष्ट्रिय सहयोगले अनुसन्धानप्रतिको विश्वास बलियो बनाउन सहयोग पुग्ने उनी ठान्छन्।

श्रीलङ्कामा बारम्बार सरकार फेरिएको छ। तर युद्धकालमा भएको भनिएका अत्याचारबारे अन्तर्राष्ट्रिय अनुसन्धानका लागि भइरहेका मागको सबै सरकारले कडा विरोध गर्दै आएका छन्।

बीबीसी तमिल सेवाका रञ्जन अरुण प्रसाद र कुमानन कनपतिपिल्लईबाट थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।