‘प्यारिस आक्रमणमा अब्देसलामको मुख्य भूमिका’

Published

फ्रान्सका एकजना अभियोजनकर्ताले प्यारिस आक्रमणका मुख्य संदिग्ध सलाह अब्देसलामले शुरुमा आत्मघाती विष्फोट गराउने योजना बनाएपनि पछि मनस्थिति परिवर्तन गरेको बताएका छन्।

अभियोजनकर्ताका अनुसार प्यारिस आक्रमणमा अब्देसलामकै मुख्य भूमिका थियो।

बेल्जियममा शुक्रबार गरिएको एउटा नाटकीय सुरक्षा कारवाहीमा प्यारिस आक्रमणका मुख्य संदिग्ध सलाह अब्देसलाम पक्राउ परेका थिए।

उनीमाथि आतंकवादी आक्रमण गराएको आरोप लगाइएको छ।

सुपुर्दगी

अब्देसलामका वकिलले उनलाई फ्रान्स सुपुर्दगी गर्ने योजनाविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्।

अनुसन्धानका क्रममा चाहिँ अधिकारीहरुलाई उनले सघाइरहेको अब्देसलामका वकिलले बताए।

उनले भने, “फ्रान्स जान उनले अस्वीकार गरेका छन् किनकि यहाँ बेल्जियममै अनुसन्धान भइरहेको छ यहीँ अनुसन्धान भइरहेकोले हामी उनलाई फ्रान्स लगिएको चाहदैनौँ हामी उनलाई यही राखिएको चाहन्छौँ पहिलो कुरा यही हो, दोस्रो कुरा बेल्जियमको न्यायिक प्रक्रियासँग समन्वय भइरहेको छ।”

गत नोभेम्बरमा प्यारिसमा गरिएका आक्रमणमा १३० जनाको ज्यान गएको थियो।

तथाकथित इस्लामिक स्टेट समूहले विष्फोट र गोलाबारीमा आफ्नो संलग्नता रहेको बताउँदै आएको छ।

सावधानीपूर्वक

बेल्जियमका संघीय अभियोजनकर्ताको कार्यालयका अनुसार अब्देसलाममाथि आतंकवादी हत्या र आतंकवादी समूहका लागि काम गरेको आरोप लगाइएको छ।

एउटा पत्रकार सम्मेलनमा प्यारिसका अभियोजनकर्ता फ्रान्स्वा मोलाङले भने, “बेल्जियमका अनुसन्धानकर्तासँगको सोधपुछका क्रममा आज सलाह अब्देसलामले पुष्टि गरेका छन् कि शुरुमा उनले आत्मघाती विष्फोट गराउन चाहेका थिए तर पछि आफ्नो मनस्थिति परिवर्तन गरे।”

मोलाङले अब्देसलामको स्वीकारोक्तिलाई सावधानीपूर्वक हेरिने बताए।

बेल्जियममा जन्मिएका २६ वर्षीय फ्रान्सेली नागरिक अब्देसलाम फरार रहेको चार महिनापछि बेल्जियमको प्रतिआतंकवाद प्रहरीको कारवाहीमा शुक्रबार पक्राउ परेपछि अहिले हिरासतमा छन्।