क्याम्बोडियाः एङ्कोरबाट चोरिएका प्राचीन राजमुकुट र आभूषण लन्डनमा फेला परे

एङ्कोरबाट तस्करी भएर लन्डन पुगेको एउटा आभूषण
तस्बिरको क्याप्शन, विज्ञहरूले केही वस्तुहरू के कामका लागि प्रयोग हुन्थे भन्ने पत्ता लगाउन सकेका छैनन्
    • Author, सेलिया ह्याटन
    • Role, बीबीसी न्यूज
  • Published
  • पढ्ने समय: ४ मिनेट

क्याम्बोडियास्थित एङ्कोरका प्राचीन शासकका राजकीय अलङ्कार र आभूषणहरू गत ग्रीष्मयाममा लन्डनमा पुनः देखा परेका थिए भन्ने खुलासा गरिएको छ। तीमध्ये केही सातौँ शताब्दीका छन्।

ती सामग्रीहरू एङ्कोरबाट चोरी भएर विदेशिएका थिए। ती सामग्रीहरू पुरातात्त्विक वस्तुको तस्करी गर्ने ब्रिटेनका डग्लस ल्याच्फर्डको स्वामित्वमा थिए।

तीमध्ये अधिकांश राजकीय आभूषणहरू पहिला कहिल्यै पनि आफूले नदेखेको र ती अहिले पनि अस्तित्वमा रहेको थाहा पाउँदा आफूहरू छक्क परेको विज्ञहरूले बताएका छन्।

उक्त आभूषणहरूको सङ्ग्रह गोप्य रूपमा क्याम्बोडियाको राजधानी फिर्ता पठाइएको छ। अब ती पुरातात्त्विक वस्तुहरू त्यहाँको राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिनेछ।

संयुक्त राज्य अमेरिकामा मुद्दाको सुनुवाइको पालो कुर्दाकुर्दै ल्याच्फर्डको सन् २०२० मा मृत्यु भएको थियो। उनको मृत्युपछि उनको परिवारले क्याम्बोडियाबाट चोरिएका ती वस्तुहरू फिर्ता गर्ने वचन दिएको थियो। तर फिर्ता हुन लागेको सङ्ग्रहमा के छ भन्ने क्याम्बोडियाली अधिकारीहरूलाई थाहा थिएन।

"ल्याच्फर्ड परिवारका एक प्रतिनिधिले मलाई गाडीमा राखेर एउटा अज्ञात स्थानमा लगे। त्यहाँको पार्किङस्थलमा चारवटा बाकस राखिएको एउटा गाडी थियो," क्याम्बोडियाको अनुसन्धान टोलीका प्रमुख ब्र्याड गोर्डनले भने।

गत वर्ष लन्डनको भ्रमण गर्दा उनले पहिलो पटक ती प्राचीन आभूषणहरू देखेका थिए।

"मलाई रुन मन लाग्यो। मलाई लाग्यो - आबुइ, प्राचीन क्याम्बोडियाली सभ्यताका राजकीय आभूषणहरू एउटा कारमा चारवटा बाकसमा छन्।"

ल्याच्फर्डको सङ्ग्रहमा के-के छ?

ती बाकस खोलेर हेर्दा राजमुकुट, कम्मरबन्द र कुण्डलसहित सुनबाट बनेका र रत्नजडित ७७ वटा विभिन्न आभूषण फेला परे।

तीमध्ये एउटा ठूलो कचौरा ११औँ शताब्दीको भएको ठानिएको छ। परीक्षण गर्न बाँकी भए पनि त्यो ठोस सुनबाट बनेको जस्तो देखिन्छ।

एङ्कोर वाट मन्दिर
तस्बिरको क्याप्शन, केही आभूषण एङ्कोर वाट मन्दिरबाट लुटिएको हुनसक्छ

त्यो कचौरा एङ्कोरको राजपरिवारका सदस्यले भात खान प्रयोग गरेको हुनसक्ने विज्ञहरूले अनुमान गरेका छन्।

एउटा राजमुकुट एङ्कोरकालभन्दा अगाडिको जस्तो देखिएको विज्ञहरू बताउँछन्।

उनीहरूका अनुसार त्यो मुकुट सातौँ शताब्दीमा बनेको हुनसक्छ।

फूलको एउटा सानो प्रतिमासहित अरू वस्तुको रहस्य खुल्न अझ बाँकी नै छ।

त्यो प्रतिमा किन बनाइएको थियो र त्यसको प्रयोजन के थियो भन्ने कुरा थाहा हुन सकेको छैन।

प्राचीन सामग्रीहरू कसरी पुगे लन्डन?

अधिकांश वस्तुहरू 'एङ्कोर वाट' मन्दिरका भित्तामा कुँदिएका आकृतिसँग मिल्दाजुल्दा छन्। उक्त प्राचीन मन्दिरलाई यूनेस्कोले विश्वसम्पदाका रूपमा सूचीकृत गरेको छ।

विश्वकै सबैभन्दा ठूलो धार्मिक संरचना मानिने उक्त मन्दिरको निर्माण सन् ११२२ मा सुरु भएको थियो। हिन्दू देवता विष्णुको उक्त मन्दिर कालान्तरमा बौद्ध धार्मिक स्थल बन्न पुग्यो।

ती आभूषणहरू कसरी र कहिले हराएका थिए तथा कसरी लन्डन पुगे भन्ने स्पष्ट छैन।

क्याम्बोडिया फ्रान्सको उपनिवेश हुँदा 'एङ्कोर वाट'मा ठूलो लुटपाट भएको थियो। तर सन् १९७० को दशकमा खमेर रुज शासनकालमा क्याम्बोडियाका अरू धेरै मन्दिरहरू लुटिए। दशकौँसम्म त्यो क्रम चलिरह्यो।

पुरातत्त्वविद् सोनेट्रा सेङले केही आभूषण र मन्दिरमा कुँदिएका आकृति उस्तै भएको बताएकी छन्
तस्बिरको क्याप्शन, पुरातत्त्वविद् सोनेट्रा सेङले केही आभूषण र मन्दिरमा कुँदिएका आकृति उस्तै भएको बताएकी छन्

पुरातत्त्वविद् सोनेट्रा सेङले मन्दिरको भित्तामा कुँदिएका आकृतिका आधारमा प्राचीन एङ्कोर क्षेत्रका आभूषणहरूको अध्ययन गरेकी थिइन्। अहिले बल्ल उनले वास्तविक आभूषणहरू देख्न पाएकी छन्।

"यी आभूषणहरूले ढुङ्गामा कुँदिएका आकृति र जे भन्ने गरिन्थ्यो त्यो सत्य हो भन्ने पुष्टि गरेका छन्। क्याम्बोडिया विगतमा निकै धेरै समृद्ध थियो," उनले भनिन्।

"अझै पनि मैले ती सबै वस्तु विदेशमा भेटिएको एउटै सङ्ग्रहमा थिए भनेर पत्याउन सकिरहेकी छैन।"

किन छापियो पुस्तक?

उक्त सङ्ग्रहमा रहेका केही सामग्री पहिला पनि देखा परेका थिए।

डग्लस ल्याच्फर्डले सहलेखन गरेको एउटा पुस्तकमा तीमध्ये पाँच वटाको चर्चा गरिएको छ। उनले एमा बङ्करसँग मिलेर लेखेको 'खमेर गोल्ड' नामक पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो।

‍खमेर पुरातात्त्विक वस्तुकी विज्ञ एश्ली थम्सनले उक्त पुस्तकसहित तीनवटा पुस्तकलाई "सामान बेच्ने उद्देश्यले प्रकाशित विवरणहरू उल्लेख गरिएको पुस्तिका"को सङ्ज्ञा दिएकी छन्। उनका अनुसार ती पुस्तकले पुरातात्त्विक वस्तुहरू सङ्ग्रह गर्ने व्यक्तिहरूलाई सुटुक्क ती सामग्रीबारे जानकारी दिने गरेका थिए।

"ती पुस्तक प्रकाशित गर्नु, अन्य विज्ञहरूलाई योगदान गर्न आमन्त्रण गर्नु र ती सामग्रीलाई सङ्ग्रहालयमा भएका वस्तुहरूसँग तुलना गर्नु भनेको तिनलाई प्रामाणिक बनाउने तथा सङ्ग्रहालयमा भएका वस्तुहरूसँग तिनको सम्बन्ध देखाउने र अन्ततः तिनको मूल्य बढाउने उपाय थियो।"

थम्सन एसओएएस यूनिभर्सिटी अफ लन्डनमा दक्षिणपूर्वी एशियाली कलाकी प्राध्यापक हुन्। बङ्कर र ल्याच्फर्डले लेखेको पुस्तकमा उल्लिखित विवरणहरू "अर्धसत्य" भएकाले ती प्राचीन राजकीय आभूषणहरूको स्रोत के हो भनेर पत्ता लगाउन विज्ञहरूलाई निकै लामो समय लाग्ने उनको धारणा छ।

'खमेर गोल्ड'का पाना पल्टाउँदै उनले भनिन्, "तिनको उद्गम वा स्वामित्वबारे भनिएको कुरा पत्याइहाल्न सकिँदैन।"

पुस्तकमा लेखकद्वयले विभिन्न आभूषणहरू कसको स्वामित्वमा थिए भनेर लेखेको प्रसङ्ग देखाउँदै उनले भनिन्, "निजी थाई सङ्ग्रह, निजी लन्डन सङ्ग्रह, निजी न्यूयोर्क सङ्ग्रह, निजी जापानी सङ्ग्रह आदि। तपाईँ निकै सतर्क हुनुपर्छ।"

क्याम्बोडिया फिर्ता भएका ७७ वटा वस्तुमध्ये केही सुनले बनेका छन् र तीमध्ये केही रत्नजडित छन्
तस्बिरको क्याप्शन, क्याम्बोडिया फिर्ता भएका ७७ वटा वस्तुमध्ये केही सुनले बनेका छन् र तीमध्ये केही रत्नजडित छन्

क्याम्बोडियाली अधिकारीहरू एङ्कोरबाट हराएका अझ धेरै आभूषणहरू फेला पर्न बाँकी नै भएको बताउँछन्।

ल्याच्फर्डले सन् २०१९ मा लन्डनस्थित एउटा गोदामबाट उक्त सङ्ग्रह बेच्ने प्रयास गरेको र त्यस क्रममा उनले इमेलबाट पत्राचार गरेको प्रमाण क्याम्बोडियासँग छ।

'चोर नै बने साक्षी'

बीबीसीले लन्डनको मेट्रोपोलिटन पोलिसलाई ल्याच्फर्डका यूकेस्थित सहयोगीहरूबारे छानबिन गरिएको छ कि छैन भनेर सोधेको थियो। अभियोग लगाउनुअघि कसैबारे अनुसन्धान भइरहेको छ कि छैन भन्ने जानकारी दिन नमिल्ने भन्दै प्रहरीले अरू प्रतिक्रिया दिन मानेन।

गत वर्ष बीबीसीले क्याम्बोडियाको भ्रमण गरेर पहिला पुरातात्त्विक वस्तु चोरी गरेका तर पछि सरकारी साक्षी बनेका केही व्यक्तिलाई भेटेको थियो। उनीहरूले आफूले केही वस्तुहरू मन्दिरहरूबाट चोरेर ल्याच्फर्डलाई बेचेको बताएका थिए।

तीमध्ये केही वस्तु यूकेस्थित ब्रिटिश म्यूजीअम र भीएन्डएजस्ता संस्थामा भएका वस्तुसँग मिलेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्।

त्यतिबेला बीबीसीले कुरा गरेकी एक महिला पनि केही आभूषणहरू चिन्ने काम संलग्न भएकी छन्।

क्याम्बोडियाका तानाशाह नेता हुन सेनले फिर्ता गरिएको सङ्ग्रहको स्वागत गर्नेछन्।

आगामी जुलाई महिनामा क्याम्बोडियामा निर्वाचन हुन लागेको छ। हुन सेनको सत्तारूढ दलले विपक्षीहरूलाई निस्तेज बनाइसकेको छ र उसले लन्डनबाट प्राचीन सामग्री फिर्ता भएको घटनालाई जनताका पक्षमा काम गरेको उदाहरणको रूपमा प्रस्तुत गर्न सक्छ।

राजनीतिमा जे भए पनि सर्वसाधारण क्याम्बोडियाली नागरिकहरू देशबाट लुटिएका सामानहरू फिर्ता होऊन् भन्ने चाहन्छन्। दशकौँसम्म बाकसमा थुपारिएका यी सामग्रीहरू चाँडै क्याम्बोडियाको राजधानी प्नोम पेनमा गरिने प्रदर्शनीमा देख्न पाइनेछ।

रेड लाइन

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालबाट किन चोरी हुन्छन् देवीदेवताका मूर्तिहरू?