कोरोना भाइरस: कार्यालय वा घरभित्र भाइरस सङ्क्रमणबाट जोगिने पाँच तरिका

मास्क लगाएर काम गर्दे एक महिला
    • Author, डेभिड शुकमन
    • Role, बीबीसी न्यूज विज्ञान सम्पादक
  • Published

मानिसहरूले धेरै समय घरभित्रै बिताउने हिउँद नजिकिँदै गर्दा कोरोनाभाइरसबाट जोगिने एउटा महत्त्वपूर्ण पाटो भनेको कोठामा हावा आउजाउ हुने व्यवस्था गर्नु हो।

कोरोनाभाइरसबाट जोगिनका लागि महिनौंदेखि हामीलाई हात राम्रोसँग धुन र सामाजिक दूरी कायम गर्न भनिएको छ।

तर वैज्ञानिकहरू भने कुनै भवनभित्र रहँदा हामीले सास फेर्ने वायुबारे पनि सोच्नुपर्ने बताउँछन्।

हावा खेल्ने राम्रो व्यवस्था हुनुको पाँचवटा कारणले अर्थ राख्छ:

१: गुम्सिएको ठाउँबाट निस्कनुहोस्

तपाईँ कोठाभित्र पस्दा त्यहाँको हावा ताजा अनुभव भएन भने त्यहाँको हावा आउजाउ नभएको हुन सक्छ।

पर्याप्त ताजा हावा छैन भने त्यसले कोरोनाभाइरसबाट सङ्क्रमित हुने सम्भावना बढाउँछ।

हालैका अनुसन्धानहरूले हावा धेरै खेल्न नपाउने बन्द ठाउँहरूमा भाइरसका मसिना कणहरू लामो समय रहने हुँदा "हावामार्फत् सर्नसक्ने" देखाएका छन्।

विश्वव्यापी महामारीभन्दा अगाडि काम गर्ने स्थानमा प्रत्येक मानिसले प्रत्येक सेकेन्डमा १० लिटर ताजा हावा पाउनुपर्ने भनिन्थ्यो। त्यो नियम अहिले अर्थपूर्ण भएको छ।

त्यसैले यदि कुनै ठाउँ गुम्सिएको देखिन्छ भने त्यहाँबाट तत्काल निस्कन डा. हावेल डेभिस सुझाउँछन्।

चार्टर्ड इन्स्टिट्यूसन अफ बिल्डिङ सर्भिसेस इन्जिनियर्सका प्राविधिक निर्देशक डेभिस ताजा हावा महत्त्वपूर्ण रहने बताउँछन्।

"यदि तपाईँ बस्ने भवनमा कोही सङ्क्रमित छ र त्यहाँ पर्याप्त मात्रामा बाहिरको हावा आइरहेको छ भने सङ्क्रमण हुने सम्भावना कम हुन्छ।"

२: एअर कन्डिसनको अवस्था हेर्नुहोस्

चाहे घर होस् वा पसल वा कार्यालय, गर्मी दिनमा एअर कन्डिसनको प्रयोग गर्न सबैलाई मनपर्छ। तर त्यसो गर्दा कुन किसिमको एअर कन्डिसन हो भनेर हेर्नुहोस्।

सबैभन्दा सामान्य भनेको भित्तामा राखिने सेतो रङ्गको एउटा सलक्क परेको बाकसजस्तो वस्तु हो जसलाई स्प्लीट् एअर कन्डिसनर भनिन्छ।

यसले कोठाबाट वायु लिन्छ, चिसो बनाउँछ र पुन: कोठामै फ्याँक्छ।

स्प्लीट एअर कन्डिसनर

अर्को शब्दमा यसले हावालाई कोठाभित्रै घुमाउँछ।

केही क्षणका लागि मात्रै त्यस्तो हावा घुम्ने कोठामा जान त समस्या हुँदैन तर धेरै घन्टा बस्ने हो भने चाहिँ खतरा हुन्छ।

चीनस्थित एउटा रेस्टुराँमा गरिएको एउटा अध्ययनले भाइरस फैलाउनका लागि यस्ता किसिमका एअर कन्डिसनरको भूमिका रहेको देखाएको छ।

एकजना ग्राहक सङ्क्रमित भए उनले बोल्दा र सास फेर्दा भाइरस निस्कन्छ र एअर कन्डिसनरले हावा लिने र फाल्ने गर्दा कोठाभरि भाइरसको सङ्क्रमणको जोखिम बढ्यो।

डा. डेभिस ताजा हावाको महत्त्व पुन: प्रकाश पार्छन्: "बाहिरबाट राम्रोसँग हावा आएको भए, थोरैमात्रै मानिसहरू सङ्क्रमित हुन्छन्।"

३: 'ताजा हावाको मात्रा' सोध्नुहोस्

झ्यालहरू बन्द रहने आधुनिक भवनहरूमा कसरी पर्याप्त ताजा हावा हुन सक्छ?

अर्को खाले एअर कन्डिसनरमा एउटा उपकरण बाहिर हुन्छ जसले बाहिरको हावा तान्छ र भित्रको पुरानो हावासँग मिसाउँछ।

कोरोनाभाइरस सङ्क्रमणको जोखिम मध्यनजर गर्दै त्यस्ता उपकरणलाई धेरै बाहिरको हावा तान्ने गराउन विज्ञहरूले सुझाएका छन्।

छतमा राखिएको एअर कन्डिसन युनिट
तस्बिरको क्याप्शन, छतमा राखिएको एअर कन्डिसन युनिट

"शतप्रतिशत बाहिरको हावा हुनु वा शतप्रतिशत हाराहारी हुनु राम्रो कुरा हो," युनिभर्सिटी अफ लिड्सकी प्राध्यापक क्याथ नोक्स भन्छिन्।

"जति धेरै ताजा हावा हुन्छ, भवनभित्र भाइरस यताउता भइरहने खतरा उति कम हुन्छ।"

शतप्रतिशत ताजा हावाका लागि एउटै पक्ष भनेको त्यसको खर्च हो।

जाडोमा भित्र छिर्ने हावा तताउने र गर्मीमा चिसो बनाउनुपर्छ। त्यसका लागि थप ऊर्जा आवश्यक पर्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस: महामारीको अदृष्य सङ्कट

४: फिल्टरमा भाइरस छ कि छैन

आधुनिक प्रणालीमा फिल्टरहरू हुन्छन् तर तिनीहरू समस्या नै नआउने गरी बनाइएका भने हुँदैनन्।

अमेरिकाको ओरेगन हेल्थ एन्ड साइन्स युनिर्सिटी अस्पतालका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरसका केही अंशलाई फिल्टरले राख्ने र केही फुत्किने पत्ता लगाएका छन्।

उक्त अध्ययनका नेतृत्वकर्ता केभिन भ्यान डेन वाइमेलेनबर्गले फिल्टरहरूको स्वाब परीक्षण गर्दा पनि त्यसले भवनभित्र रहेकालाई सङ्क्रमित गर्न सक्छ कि सक्दैन थाहा हुने बताउँछन्।

दक्षिण कोरियामा ११औँ तलामा रहेको एउटा कल सेन्टरमा एकजना मानिसले ९० भन्दा बढीलाई सङ्क्रमित गरे। यदि फिल्टरलाई परीक्षण गरिएको भए भाइरस छ भन्ने कुरा धेरै अघि नै थाहा हुन्थ्यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोरोनाभाइरसको दोस्रो लहर आउँछ?

५: सुख्खा हावा हेर्नुहोस्

विज्ञहरूले ताजा हावा नै सबैभन्दा महत्त्वपूर्ण रहेको बताउने छन्।

तर एक विशेषज्ञ भने हावा यताउता कसरी गराउने भन्ने कुरा त्यति सहज नभएको बताउँछन्।

झ्यालबाट बाहिर हेर्दै एक पुरुष

प्राध्यापक क्याथ नोक्स भन्छिन्, "पर्याप्त मात्रामा ताजा हावाले भाइरस सङ्क्रमणको जोखिम कम गर्ने कुरा अन्य जोखिमभन्दा महत्त्वपूर्ण हुन्छ।"

उनको बुझाइमा झ्याल खुला राख्दा धेरै मानिसहरूले भाइरस लिन सक्ने सम्भावना भए पनि त्यो एकदमै थोरै हुन्छ र कम जोखिमपूर्ण पनि हुन्छ।

यी बुझाइहरूमा असहमति हुनुमा कुनै आश्चर्य छैन। भाइरसबारे हामीलाई अझै थाहा नभएका थुप्रै कुराहरू छन्।

तर हामीले सास फेरिरहेको हावा सुरक्षित होस् भन्नका लागि भवनहरू सुरक्षित राख्ने प्रयासहरू भने भइरहनुपर्छ।

कोरोनाभाइरस ब्यानर