दश वर्ष अगाडि लुकाइएको १० लाख डलरको खजाना फेला पर्यो

फरेस्ट फेन

तस्बिर स्रोत, Most Wanted/Shutterstock

Published

उत्तरी अमेरिकाको रकी माउन्टेन्समा लुकाइएको १० लाख अमेरिकी डलरभन्दा बढी मूल्यको सुन, मणिमाणिक्य र बहुमूल्य वस्तु सहितको खजाना फेला परेको छ।

प्राचीन वस्तुहरू सङ्कलन गर्ने फरेस्ट फेनले एक दशकभन्दा अगाडि सो पीतलले बनेको कन्तुर लुकाएर भेट्टाउन सक्नेका लागि छाडिदिएका थिए।

उनको आह्वानपश्चात् हजारौँ मानिसहरूले सो कन्तुर खोजेको, केहीले जागिर नै छोडेर बचत पैसा खर्च गरि गरि खोजीमा लागेको र चार जनाले खोजको क्रममा ज्यान समेत गुमाएका थिए।

अहिले फेनले पूर्वका एक व्यक्तिले सो खजाना भेटेको बताएका छन्।

खजाना कसले भेट्टायो?

"त्यो रकी माउन्टेन्सको जङ्गली क्षेत्रमा ताराहरूमुनि रहेको थियो र मैले १० वर्षभन्दा अगाडि लुकाएको स्थानबाट नहटेको अवस्थामा थियो," अमेरिकाको न्यू मेक्सिकोका ८९ वर्षीय अर्बपति फेनले एक विज्ञप्तिमा भनेका छन्।

उनले आफूलाई खजाना पत्ता लगाउने मानिसको परिचय थाहा नभएको तर उसले सन् २०१० मा प्रकाशित आफ्नो आत्मकथामा रहेको २४ हरफको कविताको आधारमा खजाना रहेको स्थान ठ्याक्कै पत्ता लगाएको बताएका छन्।

फेनले स्थानीय पत्रिका सान्ता फे न्यू मेक्सिकानलाई सो व्यक्तिले आफ्नो नाम सार्वजनिक गर्न नचाहेको तर तस्बिर पठाएर खजाना फेला पारेको पुष्टि गरेको बताए।

फेनले नौ किलोको कन्तुरमा दुर्लभ सुनका सिक्का, पुरातन् गरगहना र ऐतिहासिक सुनौला ऐनाजस्ता वस्तुहरू राखेको बताएका छन्।

खजाना फेला परेको सुन्दा कस्तो लाग्यो भन्ने प्रश्नको जबाफमा फेनले पत्रिकालाई भने: "मलाई थाहा छैन। मलाई आधा राम्रो लागेको छ र आधा अलि नरमाइलो लागेको छ किनभने अब त्यो खजानाको खोज सकियो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, नामिबियामा दिनभरि चिकित्सक, राति गायक