कोरोना भाइरस नेपाल: कर्णाली प्रदेशमा सङ्क्रमण पुष्टि भएका पहिलो व्यक्ति ४१ दिन भारतको क्वारन्टीनमा बसेका थिए

कोरोनाभाइरस

तस्बिर स्रोत, EPA

कर्णाली प्रदेशमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति ४१ दिन भारतको क्वारन्टीनमा बसेर जेठ १ गते मात्र नेपालस्थति आफ्नो गाउँ फर्किएका बताइएको छ।

दैलेखको आठबीस नगरपालिका घर भएका उनले गत चैत २० गतेदेखि बैसाख ३० गतेसम्म भारतको टनकपुरस्थित एमडीएम बोर्डिङ स्कुलको क्वारन्टीन बसेको बताएका छन् । पहिलो कोरोना संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा चेकजाँचको दायरा समेत बढाइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशक रीता जोशी भण्डारी हालसम्म कर्णालीका ३ हजार ३ सय भन्दा बढीको पिसिआर चोक जाँच गरिएको बताउँछिन् ।

भारतबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारन्टीनमा राख्ने र पिसिआर परिक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

समुदायमा नफैलियोस भनेर ति सङ्क्रमित व्यक्तिलाई क्वारन्टीनबाट अलग्याएर दैलेख अस्पतालको आइसोलेशन कक्षमा राखिने पनि निर्देशक जोशीले बताइन् ।

ठेकेदारले बीचबाटामै छाड्यो

घरको खेतबारीमा उब्जनी हुनेअनाजले तीन महिना पनि खान नपुग्ने भएपछि कमाईको लागि भारतको कालापार जानुको विकल्प नभएको उनले बताए ।

यसपाली २० दिन काम गरेर कमाएको ४-५ हजार रुपैयाँ बाटोमै सकिएको समेत उनले बताए । गत बर्षको फागुन १६ गते कामको खोजीमा भारतको आग्रा गएका उनले त्यहाँ २० दिनसम्म आलु भण्डारमा काम गरेका थिए ।

काम सकिएपछि लकडाउनकै बीच उनीसहित ५१ जना मजदुरलाई ठेकेदारले आलु बोक्ने ट्रयाक्टरमा राखेर बनबासा भन्दा ३० किलोमिटर टाढा ल्याएर छाडिदिएको थियो ।

उनीहरु मध्ये ४७ जना दैलेखको आठबीस नगरपालिका र ठाँटीकाँध गाउँपालिकाका तथा ४ जना बर्दियाका थिए ।

पैदल हिँडेर चैत्र १८ गते नेपाल भारत सीमा बनबासा पुगेपछि भारतीय प्रहरीले उनीसहित ६० जनालाई टनकपुरस्थित एमडीएम स्कुल र ७४ जना नेपालीलाई बनबासको शारदा इन्टर कलेजमा राखेको थियो ।

कोरोनाभाइरस

तस्बिर स्रोत, Reuters

भारतको क्वारन्टीनमा बस्दा ज्वरो नाप्ने बाहेक अरू कुनै पनि किसिमको स्वास्थ्य परिक्षण नगरिएको उनी बताउँछन् ।

क्वारन्टीनमा बसिरहेका उनको शनिवार दैलेखका स्वास्थ्यकर्मीले स्वावको नमुना प्रदेश अस्पताल पठाएका थिए।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजिटिभ देखिएपछि पुन: परीक्षणका लागि सोमवार नमुना नेपालगञ्ज पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नेपालगञ्जमा पुन:परीक्षण गर्दा ३५ बर्षका उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

टिपरमा राखेर महेन्द्रनगर

उनीसहित ३९ जनालाई महेन्द्रनगरबाट उद्धार गरेर क्वारन्टिमा राखिएको आठबीस नगरपालिकाका नगर प्रमुख खड्कराज उपाध्ययायले बताए ।

टनकपुरबाट गड्डाचौकी पुगेपछि झण्डै २५० जनालाई टिपरहरूमा राखेर महेन्द्रनगरको बैद्यनाथ माध्यामिक विद्यालयमा ल्याएर एक दिन राखेको र अर्कोदिन त्यहाँबाट उद्धार गरिएको थियो ।

महेन्द्रनगर पुगेपछि मात्रै आफुहरूको पहिलो पटक र्यापिड टेस्ट गरिएको समेत उनले बताए ।

भारतमा क्वारन्टिनमा बस्दा कसैसँग सम्पर्क नभएपनि महेन्द्रनगर आउने वित्तिकै एकै पटक धेरैजनासँग घुलमिल हुन पुगेको उनले बताएका छन्।

महेन्द्रनगरमा दैलेखसहित बैतडी, कैलाली, दाङ, सल्यानका मजदुरहरुसँग घुलमिल भएको उनले बताए ।

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

एउटै कोठामा ८ जना

कोरोनाभाइरस

तस्बिर स्रोत, RSS

अहिले उनीसहित ३९ जना जेठ १ गतेदेखि आठबीस नगरपालिकाले लक्ष्मी माध्यामिक विद्यालयमा बनाइएको क्वारन्टिन बसेका छन् ।

त्यहाँ अहिले एउटा कोठमा ८ जना बसिरहेका छन् । क्वारन्टिनमा एक मिटरको दुरी बनाएर सुत्ने गरेको उनीहरु बताउँछन् ।

एउटै ठाउँमा बसेका ३९ जनाको पिसिआर चेकगर्दा उनमा मात्र पोजिटिभ देखिएको प्रदेश निर्देशनालयले जनाएको छ ।

अहिले उनीसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि निर्देशनालयको भनाई छ ।

कर्णाली प्रदेश सरकारले परीक्षण विनै भारतबाट आएका नागरिकलाई बसमा राखेर धमाधम गाउँ पठाइ रहेको भन्दै धेरैले आलोचना समेत गरिरहेका छन् ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण