इराकस्थित अमेरिकी दूतावासमा आक्रमण गराएको भन्दै डोनल्ड ट्रम्पले दिए इरानलाई धम्की

इराक अमेरिका इरान
Published
पढ्ने समय: ३ मिनेट

इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरान संलग्न रहेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कुनै क्षति भए इरानले 'ठूलो मूल्य' चुकाउनुपर्ने धम्की दिएका छन्।

आइतवार अमेरिकाले इराक र सिरियामा गरेको हवाई आक्रमणमा केही लडाकुको मृत्यु भएपछि प्रदर्शनकारीहरूले अमेरिकी दूतावासमा आक्रमण गरेका हुन्।

नववर्ष २०२० को पूर्वसन्ध्यामा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै ट्रम्पले दूतावासमा आक्रमणका कारण कसैको मृत्यु भए वा कुनै पनि किसिमको क्षति पुगे इरानले ठूलो मूल्य चुकाउनुपर्ने 'धम्की' दिएका छन्।

ट्वीटमा ट्रम्पले लेखेका छन्, "...यो चेतावनी होइन, धम्की हो।"

अमेरिकी रक्षामन्त्री मार्क एस्परले सो क्षेत्रमा तत्काल ७५० सैनिक परिचालित गरिने बताए।

"संयुक्त राज्यले संसारभरि जुनसुकै ठाउँमा पनि आफ्ना नागरिक र स्वार्थको रक्षा गर्छ," उनले ट्विटरमा लेखे।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

क्रुद्ध प्रदर्शनकारीहरूले अमेरिकी दूतावासमा सुरक्षाकर्मी बस्ने चौकी जलाएका थिए।

उनीहरू दूतावासभित्र आगन्तुकलाई स्वागत गरिने क्षेत्रसम्म पुगेपछि अमेरिकी सैनिकहरूले अश्रुग्यास प्रहार गरेका थिए।

के भन्छ इरान?

इरानले ट्रम्पले लगाएको आरोपको खण्डन गरेको छ।

उसले त्यस्तो दाबी गर्ने अमेरिकी "धृष्टता"को निन्दा गरेको छ।

अमेरिकाले निसाना बनाएको लडाकु समूह कताइब हेज्बुलालाई इरानले समर्थन गरेको बताइन्छ। आइतवार गरिएको हवाई आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको थियो।

उक्त समूहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर अमेरिकाले आक्रमण गरेको थियो। अमेरिकाले हेज्बुलालाई आतङ्कवादी सङ्गठन मानेको छ।

इराकको सैन्य शिविरमा रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदार मारिएपछि अमेरिकाले उक्त कारबाही गरेको बताउँदै आएको छ।

इराक अमेरिका इरान
Presentational white space

हवाई आक्रमणमा मृत्यु भएका लडाकुहरूको अन्तिम संस्कारपछि मङ्गलवार बग्दादमा विरोधप्रदर्शन भएको हो।

हजारौँ मानिसहरूले सरकारी कार्यालय र विदेशी दूतावासहरू अवस्थित ग्रीन जोनमा प्रदर्शन गरे। विरोधप्रदर्शनमा वरिष्ठ लडाकु नेताहरू पनि सहभागी थिए।

इराकी सुरक्षाकर्मीले उनीहरूलाई ग्रीन जोनमा प्रवेश गर्न र अमेरिका दूतावासबाहिर भेला हुन दिएका थिए।

"यो दूतावासले इराकविरुद्ध षड्यन्त्र गरेको प्रमाणित भएको छ," असाइब अहल अल-हक लडाकु समूहका प्रमुक काइस अल खजालीले भने।

कताइब हेज्बुला र अन्य लडाकु समूहका झण्डा फर्फराउँदै र अमेरिकाविरोधी नारा लगाउँदै प्रदर्शनकारीहरूले दूतावासको मुख्यद्वारमा ढुङ्गा हाने, सुरक्षाका लागि जडान गरिएका क्यामरा चुँडाए, द्वारपाल बस्ने रित्ता चौकीमा तोडफोड गरे र आगो लगाइदिए।

दूतावासको हाताभित्र प्रदर्शनकारीहरू छिरेपछि परिस्थिति तनावपूर्व बन्यो।

इराक
Presentational white space

समाचारसंस्था एपीका अनुसार दूतावासको ढोका बलपूर्वक खोलिएको थियो र दर्जनौँ मानिसहरू दूतावासको मुख्य भवन भएतिर जान लाग्दा अमेरिकी सैनिकहरूले अश्रुग्यास प्रयोग गरेर प्रतिरोध गरेका थिए।

तर एक अमेरिकी अधिकारीले सीबीएस न्यूजलाई प्रदर्शनकारीहरू दूतावासको हाताभित्र नछिरेको बरु केही मानिसहरू एउटा भर्‍याङ प्रयोग गरी पर्खाल चढेर बाहिर नै भएको आगन्तुकक्षेत्रमा पुगेको बताए।

पछि इराकी सैनिक र दङ्गा प्रहरीहरूलाई परिचालित भएको बताइएको छ। रात परेपछि प्रदर्शन सेलाएको थियो।

अश्रुग्यासका कारण बिरामी परेका ५० जनाको विभिन्न अस्पतालमा उपचार गरिएको इराकी स्वास्थ्य मन्त्रालयस्थित स्रोतले बीबीसीलाई बताए।

सीबीएसका अनुसार दूतावासका कुनै पनि कर्मचारीलाई बाहिर निकाल्नुपरेन। घटना हुँदा अमेरिकी राजदूत त्यहाँ नभएको बताइएको छ।

कस्तो छ प्रतिक्रिया?

विरोधप्रदर्शन सुरु भएको केही घण्टापछि इराकका प्रधानमन्त्री अदेल अब्दुल महदीले दूतावास भएको क्षेत्रबाट मानिसहरूलाई अन्यत्र जान आग्रह गरेका थिए।

दूतावास र विदेशी प्रतिनिधिमण्डलमाथि हुने जुनसुकै आक्रमणलाई सुरक्षाबलले रोक्ने र कानुनले दण्ड दिने उनले बताए।

अमेरिकी दूतावास
तस्बिरको क्याप्शन, दूतावासभित्र अमेरिकी सैनिकहरू

तर उनले अमेरिकाले आइतवार गरेको आक्रमणले आफ्नो देशको सार्वभौमिकताको उल्लङ्घन गरेको बताएका छन्।

ट्रम्पले इराक सरकारलाई धन्यवाद दिँदै अमेरिकी दूतावास र कर्मचारीहरूको रक्षा इराकी सुरक्षा निकायले पनि गर्ने आफ्नो अपेक्षा रहेको बताएको छन्।

कताइब हेज्बुला के हो?

इरानको समर्थन रहेको शिया मुस्लिमहरूको मिलिसिया समूह कताइब हेज्बुला सन् २००७ मा गठन भएको हो।

बग्दाद

अमेरिकाका अनुसार उक्त समूहको इरानको कुड्स फौजसँग बलियो सम्बन्ध छ र यसले इरानबाट पटकपटक सहयोग प्राप्त गर्दै आएको छ।

ट्रम्प प्रशासनले कुड्स फौज अमेरिकाप्रति लक्षित विभिन्न आतङ्कवादी समूहलाई लगानी गर्ने, तालिम, हतियार र विभिन्न किसिमका उपकरण दिने इरानी संयन्त्र रहेको आरोप लगाउँदै आएको छ।