भूकम्प प्रभावितलाई चीनद्वारा सहायता घोषणा, अन्य देशले पनि जनाए सहयोगको प्रतिबद्धता

भूकम्प
तस्बिरको क्याप्शन, भूकम्पका घाइतेलाई उपचारका लागि अस्पताल लगिँदै
Published

नेपालका छिमेकी सहित अन्य देशहरूले पश्चिम नेपालका भूकम्प प्रभावितहरूलाई राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तो प्रतिबद्धता जनाउनेमा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसहित पश्चिमा देशहरू पनि रहेका छन्।

उत्तरी छिमेकी चीनले भूकम्प पीडितका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भूकम्प प्रभावितका लागि “सक्दो सहयोग गर्ने” प्रतिबद्धता जनाएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई सन्देश पठाउँदै सहानुभूति व्यक्त गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १५७ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ। भूकम्पका कारण घाइते हुनेहरुको सङ्ख्या ३७५ पुगेको छ।

शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र आफूहरूको ध्यान उद्धार तथा खोजमा केन्द्रित रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बीबीसीलाई बताए।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पपछि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास गएका थिए।

चीनले के भन्यो?

चीन

काठमाण्डूस्थित चिनियाँ राजदूतले “पहिलो आपत्कालीन सहयोग” भन्दै नेपालाई उपलब्ध गराउने सहायताबारे उल्लेख गरेका छन्।

चिनियाँ राजदूत चेङ सोङ्ले पहिले ट्विटर भनिने सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “चीनले चाइना साउद एशियन कन्ट्रिज इमर्जेन्सी सप्लाइज् रिजर्भबाट पाल, कम्बल लगायतका १० करोड नेपाली रुपैयाँ बराबरका सामग्रीहरू भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने छ।”

“यी सबै सामग्री एकाध दिनमा आइपुग्छन्। थप सहायता पनि आउँदै छन्।”

भारत र अमेरिकाले के भने?

नेपाल भारत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।

“भारत नेपाली जनताको साथमा छ र सबै सम्भव सहयोग गर्न तयार छ।”

नेपालस्थित अमेरिकी राजदूतावासले नेपालमा गएको भूकम्पले आफूलाई स्तब्ध बनाएको जनाएको छ।

सामाजिक सञ्जाल एक्समा अमेरिकी दूतावासले लेखेको छ, “नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी मानिसहरूले ज्यान गुमाएकाहरुको खबरले नेपालस्थित अमेरिकी दूतावास गहिरो रूपमा दु:खी भएको छ।“

नेपाललाई भूकम्पपछिको पुनर्निर्माणमा तथा राहतमा सहयोग गर्न अमेरिका तयार रहेको पनि उसले जनाएको छ।

राष्ट्रपति पौडेललाई पुटिनको पत्र

भूकम्प

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई एउटा पत्र पठाउँदै भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनले शनिवार पठाएको पत्रमा भूकम्प प्रभावितप्रति सहानुभूति प्रकट गरिएको छ।

“पत्रमा राष्ट्रपति पुटिनले भूकम्प पीडितहरूका आफन्त तथा नेपाली जनाताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति प्रकट गर्नुभएको छ,” पोखरेलले भने।

भूकम्प

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।