भूकम्पले रुकुम पश्चिमको एकै नगरपालिकामा ४३ जनाको मृत्यु

आठविसकोट
तस्बिरको क्याप्शन, रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकामा भूकम्पले धेरै क्षति पुर्‍याएको छ
Published

शुक्रबार मध्यरातमा आएको शक्तिशाली भूकम्पले पुर्‍याएका जनधनको क्षतिका विवरणहरू आउँदै गर्दा सबैभन्दा धेरै प्रभावितमध्येमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका रहेको देखिएको छ।

त्यहाँका नगर प्रमुख रवि केसी तथा स्थानीय पत्रकार अर्जुन विष्टले शनिवार बिहान साढे ८ बजे बीबीसीलाई दिएको जानकारी अनुसार ४३ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्।

विष्टका अनुसार वडा नम्बर १४ मा मात्रै २४ जनाको ज्यान गएको छ।

‘सात सेकेन्डजति निकै हल्लायो’

आठबिसकोट
तस्बिरको क्याप्शन, सयौँ मानिस भूकम्पमा परेर घाइते भएका छन्

केसीले त्यहाँ ६० जना जति सख्त घाइते भएको अनि बाँकी सामान्य घाइते भएको जानकारी दिए।

तीन जना सख्त घाइतेहरूलाई सेनाको हेलिकप्टरमार्फत् बिहानै थप उपचारका लागि सुर्खेत पठाइएको उनले बताए।

“मध्यरातमा करिब ७ सेकेन्डजति निकै झड्का दिएको थियो। केही बेर परकम्पहरू आए तर अहिले बिहान चाहिँ ठीकै छ,” केसीले भने।

त्रासका कारण मानिसहरू घर बाहिर नै बसिरहेका उनले बताए।

मौसम चिसो भएकाले पीडितहरू थप अप्ठेरोमा पर्ने उनले जानकारी दिए।

आठबिसकोट

‘कच्ची घरहरू धेरै भत्किए‘

करिब ३५ हजार जनसङ्ख्या भएको आठविसकोट नगरपालिकामा सयौँ घरहरू पूर्ण रूपमा क्षति भएको केसीले बताएका छन्।

“सामान्य क्षति पुगेका घरहरूको सङ्ख्या त हजारौँ छ।”

“खासगरी ढुङ्गा-माटोका कच्ची घरहरू भत्किएका छन्। अरू घरहरू पनि चर्किएका चाहिँ छन्।”

“नगरपालिका क्षेत्रमा धेरै क्षति पुगेको छ। घरहरू धेरै भत्किएका छन्,“ आठविसकोटका पत्रकार अर्जुन विष्टले बताए। उनी स्वयंको घर पनि भत्किएको तर मानवीय क्षति नभएको उनले बताएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सहित प्रधानमन्त्री र कर्णाली प्रदेशका मुख्यमन्त्री आउने जनाइएको विष्टले जानकारी दिए।

अहिले स्थानीय तहका साथै सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी उद्धारमा खटिएको बताइएको छ।

भग्नावशेषबाट केही शवहरू झिक्न बाँकी रहेको पनि बताइएको छ।

आठबिसकोट नगरपालिका

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।