भारी वर्षाको सम्भावना 'लगभग सकियो', रातिको पानीले केही नदी खतराको तहमाथि

नेपालमा बिहीवारदेखि जारी वर्षा हुने क्रम आइतवारबाट सकिने देखिएको मौसमविद्हरूले बताएका छन्।
मौसमविद् विनोद पोखरेलले आइतवार दिउँसोसम्म केही स्थानमा पानी पर्ने देखिए पनि भारी वर्षाको सम्भावना "लगभग सकिएको" बीबीसीलाई बताए।
यद्यपि शनिवार राति र आइतवार बिहानसम्म परेको पानीको प्रभाव खास गरी ठूला नदीहरूमा देखिने भएकोले अझै सतर्कता अपनाउन जरुरी रहेको मौसम पूर्वानुमान महाशाखास्थित मौसमविद् सन्जीव अधिकारीले बताए।
हाल मुलुकका केही स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका केही प्रमुख नदीहरूमा जलसतह बढेर खतराको तहमा पुगेको छ।
प्रणाली कमजोर हुँदै

मौसमविद् सन्जीव अधिकारीले शनिवार राति र आइवार बिहानसम्म वर्षा निम्त्याएको मौसमी प्रणाली कमजोर हुँदै गएको बताए।
"गएराति र अहिले [आइतवार] बिहानसम्म जुन प्रणालीले वर्षा गराएको हो, त्यो कमजोर हुँदै गएको छ र मध्याह्नपछि झन् कमजोर हुने छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
"केही स्थानमा आइतवार पानी पर्ने देखिए पनि त्यो मध्यम वर्षा हुने पूर्वानुमान रहेको छ," अधिकारीले अगाडि थपे।
हाल अमेरिकामा रहेका मौसमविद् विनोद पोखरेलले पनि अब ठूलो वर्षा हुने सम्भावना नदेखिएको बताए।
"आइतवार दिउँसोसम्म केही स्थानमा पानी पर्ने देखिए पनि भारी वर्षाको सम्भावना लगभग सकिएको छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
मौसमविद् अधिकारीका अनुसार सोमवारबाट मौसममा उल्लेख्य सुधार आउने पूर्वानुमान छ। "भोलिदेखि त धेरै ठाउँमा घाम नै लाग्ने पूर्वानुमान रहेको छ," उनले अगाडि थपे।
ठूला नदी खतराको तहमा
यो खबर तयार पार्दासम्म बाढी पूर्वानुमान महाशाखाका अनुसार केही ठूला नदीहरूको जलसतहले कतिपय स्थानमा खतराको तह पार गरेको छ।
चितवन, म्याग्दी, पर्वत र लमजुङ जिल्लाका केही स्थानमा नारायणी नदीको जलसतहले खतराको तह पार गरेको उसले जनाएको हो।
महाशाखास्थित वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीका अनुसार नारायणी नदीमा आइतवार बेलुकासम्म खतरा रहने पूर्वानुमान छ।
त्यसबाहेक कर्णाली, तिनाउ, कोशीलगायत नदीको हकमा पनि बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ।
"गएराति र आइतवार बिहानसम्म परेको पानीको प्रभाव नदीहरूमा आइतवारसम्म रहने देखिएको छ। त्यसैले सम्बन्धित क्षेत्रमा कटान, पहिरो हुन सक्ने भएकोले उच्च सतर्क रहन हामीले भनेका छौँ," मौसमविद् सन्जीव अधिकारीले भने।

तस्बिर स्रोत, Nepal Photo Library
महाशाखाले आइतवार बिहान पौने ८ बजे जारी गरेको बुलेटिन अनुसार नारायणी नदीमा जलसतह खतरा तह (९ मिटर)भन्दा माथि अर्थात् करिब ११ मिटर पुगेको र अझै बढ्दो क्रममा रहेको छ।
नारायणीका प्रमुख सहायक नदीहरूमध्ये कालीगण्डकीमा बहाव खतरा तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको उसले जनाएको छ।
नेपाल प्रहरीका अनुसार पर्वतको जलजला गाउँपालिकास्थित फर्सेमा आइतवार बिहान कालीकण्डकी नदी बस्तीमा पसेर २५ घर बगाएको छ।
"उक्त बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको तथा अन्य घरहरू जोखिममा रहेका छन्," प्रहरीले उल्लेख गरेको छ। उक्त स्थानमा मानवीय क्षति नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
त्यसैगरी सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा बहाव हाल सतर्कता तहभन्दा माथि र बढ़्दो क्रममा रहेको छ।
त्यसै गरी बूढीगण्डकी र त्रिशूली नदीमा समेत बहाव सतर्कता तहनजिक पुगेको र बढ़्दो क्रममा रहेको उसले जनाएको छ।
बाढी पूर्वानुमान

हालको नदी बहाव तथा उपलब्ध पूर्वानुमानका आधारमा देवघाट बाढी मापन केन्द्रमा नारायणी नदीको बहाव आइतवार दिउँसोसम्म बढ्ने क्रम जारी रहने महाशाखाले जनाएको छ।
उच्च बहावका कारण चितवन तथा नवलपरासी जिल्लाका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढी तथा डुबानको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ।
तटीय क्षेत्र, नदी किनार, तल्लो भूभाग तथा कमजोर तटबन्ध/संरचना भएका स्थानमा विशेष सावधानी अपनाउन उसले आग्रह गरेको छ।
चितवन र नवलपरासी जिल्लाका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित स्थानमा रहेका नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानतर्फ जान/स्थानान्तरण गर्न अनुरोध गरिएको छ।
त्यस्तै नारायणी नदी तथा यसका सहायक नदीहरूको तटीय क्षेत्रमा आवतजावत नगर्न एवं नदी किनार, पुल, तटबन्ध तथा जोखिमयुक्त स्थानमा अनावश्यक भिडभाड नगर्न महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बूढीगण्डकी तथा त्रिशूली नदी र तिनका शाखा खोलानालामा समेत आइतवार साँझसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















