ट्रम्पको दक्षिण कोरिया भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाली नेता किम जङ अन

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: ३ मिनेट

एशियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिण कोरिया पुग्नु अगाडि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ।

यो भ्रमणका क्रममा आफूसँग भेट्न ट्रम्पले गरेको आग्रहमा उत्तर कोरियाली नेता किम जङ अनले कुनै जबाफ फर्काएका छैनन्।

एशिया प्रशान्त आर्थिक सहयोग सम्मेलनमा भाग लिन ट्रम्प दक्षिण कोरिया पुग्ने अघिल्लो दिन उत्तर कोरियाले समुद्रबाट जमिनमा प्रहार गर्ने क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो।

सबैभन्दा पछिल्लो उत्पादन रहेको दाबी गरिएको यो क्षेप्यास्त्र आफ्ना "शत्रुलाई" उत्तर कोरियाको शक्ति देखाउन परीक्षण गरिएको सरकारी सञ्चार माध्यमले जनाएका छन्।

किम आफैँ भने उक्त परीक्षणमा पुगेका थिएनन्। संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाए पनि यस प्रकारका क्षेप्यास्त्र परीक्षणमा रोक लगाएको छैन।

बीबीसीका सोल संवाददाता जेक कोनका अनुसार परीक्षणको समयलाई भेटका लागि ट्रम्पको प्रस्तावलाई अस्वीकारका रूपमा हेरिएको छ। यसलाई उत्तर कोरियाको परमाणु अस्त्र वार्ताको विषय नबनाउन खोजिएको रूपमा पनि हेर्न सकिने बीबीसी संवाददाताले बताएका छन्।

किमसँग भेट्न ट्रम्प इच्छुक

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनबीच सन् २०१९ मा भेट भएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनबीच सन् २०१९ मा असैनिकीकृत क्षेत्र (डीएमजेड)मा भेट भएको थियो

व्यापारलाई मुख्य एजेन्डा बनाइएको एशिया प्रशान्त आर्थिक सहयोग 'एपेक' सम्मेलनमा किम जङ अन उपस्थित छैनन्। तर उनले प्योङयाङमै बसेर त्यहाँ भइरहेका गतिविधिबारे चासो राखिरहेका छन्।

दक्षिण कोरिया पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पले त्यहीँबाट उत्तर कोरियाको सीमाभित्र प्रवेश गरेर किमसँग तस्बिर खिचाउने अनुमान पनि गरिएका थिए। सन् २०१९ मा यसरी नै भेटेका दुई नेताहरूबीच त्यसयता भेट भएको छैन।

एअर फोर्स वनमा पत्रकारहरूलाई पनि सँगै लिएर गएका ट्रम्पले आफ्नो ध्यान चीनसँगको व्यापार सम्झौतामा भए पनि किमसँग भेट हुने अवस्थामा आफू फेरि कोरिया आउने बताएको समाचार संस्था रोएटर्सले जनाएको छ।

एपेक बैठकमा जाँदै गर्दा पत्रकारहरूले हरेक पटक सोधेका प्रश्नमा ट्रम्पले सम्भावित भेटप्रति उत्साह व्यक्त गरेका थिए। जापान जाँदै गर्दा सोधिएको प्रश्नमा ट्रम्पले किमसँग भेट हुने अवस्थामा आफ्नो कोरिया बसाइ लम्ब्याउन सक्ने समेत बताएका थिए।

उनले उत्तर कोरियामाथिका प्रतिबन्ध हटाउन सकिने सम्भावनाको सङ्केत समेत गरे। यसअघि ट्रम्प र किमको भेट हुँदा ट्रम्पले किमलाई ट्विट गर्दै निमन्त्रणा गरेका थिए।

किमका विदेशमन्त्री रुसमा

यो पटक पनि दुई नेताको भेट भयो भने त्यसको निर्णय अन्तिम समयमा मात्रै हुन सक्छ।

बाँकी कुरा किमको हातमा छ। उनले आफूले केही पनि गुमाउनु नपर्ने सोचिरहेका हुन सक्छन्। उनले आफूलाई परमाणु अस्त्र सहितको विश्व खेलाडीमा रूपमा विश्वले थप स्वीकार गरोस् भन्ने ठानेका हुन सक्छन्।

किमले अमेरिकासँग वार्ताका लागि पोख्त देखिएका आफ्ना विदेशमन्त्रीलाई मस्को पठाएका छन्। दक्षिण कोरियामा ट्रम्पको भ्रमणसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ।

दक्षिण कोरिया जानुअघि ट्रम्प मलेसिया र जापान पुगेका थिए। दक्षिण कोरियाबाट ट्रम्प चीन जाने कार्यतालिका छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।