केपी ओलीले अब स्वैच्छिक बिदाइ लेलान् कि वाम एकताको विकल्प खोज्लान्?

तस्बिर स्रोत, AFP via Getty Images
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ५ मिनेट
निर्वाचनमा बेहोरेको हारपछि उठेको नेतृत्व परिवर्तनको आवाज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रहरी नियन्त्रणमै रहँदा नै चर्किँदै गएको देखिएको छ।
संसदीय दलको नेताको निर्वाचन र त्यसबाट निर्वाचित रामबहादुर थापाको अभिव्यक्तिले त्यसलाई बल दिएको दियो र असन्तुष्टि सार्वजनिक रूपमा प्रकट भयो।
तर प्रहरी नियन्त्रणमा रहेका बेला पार्टीभित्रबाटै नेतृत्वमाथि हमला भएको भन्दै ओलीसँग निकटस्थ नेताहरूले त्यसको प्रतिरक्षा गर्ने प्रयास गरेका छन्। प्रहरी नियन्त्रणमुक्त भएपछि पनि अस्पतालमै रहेका ओलीको सोमवार पत्थरीको शल्यक्रिया भएको छ।
नेतृत्व परिवर्तनका पक्षधर एमाले नेता र कार्यकर्ताहरूले ओली तङ्ग्रिएपछि उक्त मुद्दालाई फेरि जोडदार रूपमा उठाउने तयारीमा रहेको बताइएको छ।
"कमीहरू सच्याउँदै चलायमान पार्टीको रूपमा विकास गर्ने हो भने हिजो गलत मूल्यमा स्थापित नेतृत्वले स्थान खाली नगरी हुँदैन। त्योभन्दा अर्को विकल्प छैन," एमालेका नेता टङ्क कार्की भन्छन्।
"पार्टीको सिङ्गो तहमा आत्मसमीक्षा गर्नुपर्ने महसुस भएको देखिन्छ। त्यसको ठोस अभिव्यक्तिको रूपमा आफ्नो अभ्यासलाई तेज गर्नुपर्छ।"
अहिलेकै अवस्थालाई भरथेग गरेर अघि बढ्दा प्रगतिशील र शक्ति आर्जन गर्ने पार्टीको रूपमा स्थापित हुन नसक्ने ठहर गरेका उनी त्यसको निम्ति नेतृत्वको विकल्प खोज्नु अनिवार्य मान्छन्।
आवरण स्वैच्छिक, बहिर्गमन बाध्यतापूर्ण?

तस्बिर स्रोत, EPA/Shutterstock
केही महिनाअघि मात्र एमालेको महाधिवेशनबाट अत्यधिक मतका साथ ओली पार्टी अध्यक्षमा निर्वाचित भएका हुन्।
पदाधिकारीदेखि केन्द्रीय कमिटीमा अधिकांश उनी निकटस्थ नेताहरूनै विजयी भएका छन्। उनीहरूमा समेत ओलीको नेतृत्वमा अब अघि बढ्न सकिन्न, विचार र नेतृत्व सबै पुनर्गठन गरेर जानुपर्छ भन्ने अनुभूति भयो भने ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाव बढ्ने लेखक तथा टिप्पणीकार झलक सुवेदीको आकलन छ।
"अन्य नेताहरूमा पनि पार्टी कमजोर भए होस् आफ्नो सुरक्षा त खोज्नुपर्यो भन्ने देखियो भने ओली आफैँले छोड्नुहोला जस्तो लाग्दैन," सुवेदीको विश्लेषण छ, "शक्तिआर्जन गर्दै पार्टीलाई पुरानो अवस्थामा फर्काउनुपर्छ भन्ने हो भने ओली मात्र होइन धेरै नेताहरू हट्नुपर्छ, ओलीजी नहट्दासम्म अरूलाई हटाउन सम्भव छैन।"
नेतृत्व परिवर्तन पक्षधरहरूले ओली स्वैच्छिक रूपमा नेतृत्व त्याग्न तयार नभएमा विशेष महाधिवेशनको निम्ति हस्ताक्षर अभियान पनि चलाउने घोषणा गरेका छन्।
नेता टङ्क कार्की पनि ओलीले स्वैच्छिक रूपमा बाटो खुला गरिदिए त्यो सबैभन्दा सुगम बाटो हुने ठान्छन्। "नत्र त विशेष महाधिवेशनको विकल्प छैन," उनको भनाइ छ।
दबाव सिर्जना गरेर सम्मानजनक बिदाइ गर्न चाहेको विशेष महाधिवेशन पक्षधरको भनाइ पाइन्छ। तर ओलीनिकटस्थहरू त्यसलाई "स्वैच्छिक भनिए पनि त्यो बाध्यतापूर्ण बहिर्गमन" को रूपमा बुझेको पाइन्छ।
'ओलीको निम्ति अनुकूलताभन्दा प्रतिकूलता'

तस्बिर स्रोत, RSS
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका बुझाइमा ओलीले सरक्क पदत्याग गर्ने सम्भावना कमजोर देखेका छन्। तर उनले एमालेभित्र पुस्तान्तरण र विशेष महाधिवेशनको स्वर बिस्तारै बढ्ने देखेका छन्। त्यसमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पनि साथ पाउने उनको आकलन छ।
"तर एमालेलाई यस्तो साँचोमा ढालेर लगिएको छ कि त्यस्तो आवाज उठेर निकट भविष्यमै विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्ला जस्तो लाग्दैन। यो केही समय गिजोलिएरै बस्ला," प्राध्यापक पोखरेलको विश्लेषण छ।
जेन जी आन्दोलनमा युवाहरू मारिएको अभियोगमा ओली अहिले प्रहरीको नियन्त्रणबाट बाहिरिए पनि सरकारले उनीविरुद्ध अन्य मुद्दाहरू लगाउन सक्ने एमालेकै कतिपय नेताहरूको अडकल पाइन्छ।
सरकारले गिरीबन्धु टी इस्टेट, कोभिड महामारीमा स्वास्थ्यसामग्री खरिद, नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणमा अनुसन्धान वा थप अनुसन्धान गर्ने सम्भावना हेरेर उनीहरूले त्यस्तो आकलन गरेको बताइन्छ।
विश्लेषक झलक सुवेदीका भनाइमा त्यस्तो अवस्थामा यसअघि गिरफ्तार हुँदा उनको रिहाइको निम्ति पार्टीको शक्ति परिचालन गरिएजस्तै सम्भावित मुद्दालाई एमालेले ओलीको प्रतिरक्षाको अस्त्र बनाउन खोज्न सक्ने देख्छन्।
तर राजनीतिशास्त्री पोखरेलले आउँदा दिनहरूमा ओलीका प्रतिकूलता थप बढ्ने देखेका छन्।
"त्यस हिसाबले उहाँको राजनीतिक भविष्य त समाप्त नै भयो, उहाँले त्यहाँबाट कति सम्मानजनक ढङ्गले आफूलाई निकाल्नुहुन्छ त्यो उहाँकै बुद्धि र विवेकमा भर पर्छ," राजनीतिक रूपमा ओली फेरी फर्किने सम्भावनाबारे प्राध्यापक पोखरेलले भने, "विभिन्न मुद्दामा तानिँदा बदला लिन खोजेको त भन्लान्। तर पुरानो मुद्दा खोल्दा त्यसरी गरिने प्रतिवादलाई आम मानिसले कसरी विश्वास गर्लान् र कार्यकर्ताले कहिलेसम्म बोकेर हिँड्लान्?"
के 'वाम एकता' नयाँ रक्षाकवच बन्न सक्छ

तस्बिर स्रोत, Nepal Photo Library
एमाले नेता टङ्क कार्की निर्वाचनपछि यहाँसम्म आइपुग्दा ओलीले स्वैच्छिक रूपमा बाटो खुला गरिदिने सम्भावना नदेखिएको बताउँछन्।
नेतृत्वले सहज ढङ्गले मार्ग प्रशस्त गरिदिएन भने तल्लो कमिटीहरूबाट हस्तक्षेपको बाटो फराकिलो बनाउनुपर्ने खाँचो उनको देखेका छन्।
त्यसको विकल्प के हुन्छ? "हिजोको व्यक्ति केन्द्रित ढाँचामा होइन कि पार्टीको प्रस्तावना र सामाजिक यथार्थलाई प्रतिबिम्बित गर्दै आजका चुनौती हल गर्ने सामूहिक अवधारणामा पार्टी पुनर्गठन गर्नुपर्छ," उनको भनाइ छ।
फागुनमा सम्पन्न चुनावमा एमालेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका वामपन्थी दलहरूको शक्ति निकै क्षीण हुन पुगेको छ।
जेन जी आन्दोलनसँगै उठेको नेतृत्व परिवर्तनको आवाज चुनावी नतिजापछि झनै चर्किएको छ।
पार्टीभित्रबाटै बलपूर्वक हटाउने प्रयास र विभिन्न मुद्दाको जोखिमको दोहोरो त्रासबीच वाम एकतालाई प्रचण्ड र ओलीले फेरि उठाउन सक्ने कतिपयले आकलन पाइन्छ।
लेखक तथा टिप्पणीकार सुवेदी पनि त्यो सम्भावनालाई नकार्दैनन्।
"माधव नेपाल र प्रचण्डले पार्टी एकता गरेर अहिलेसम्म आफूहरूको नेतृत्वमाथिको चुनौती भरथेग गरेका छन्," प्रचण्ड र ओली दुवैले आआफ्नो अस्तित्व रक्षाको सामना गर्न चाल्न सक्ने सम्भावित कदमबारे सुवेदी भन्छन्, "दुवै मिलेर एकता महाधिवेशनसम्म नेतृत्वमा रहने बताउँदा 'हुँदैन' भन्न तलका नेतालाई गाह्रो हुने हुने अवस्था सिर्जना गरियो भने अनौठो नमान्दा हुन्छ।"
तात्कालिक नेकपा माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको आवाज उठेपछि माधव नेपालसँग भएको एकतासँगै त्यो सेलाएको देखिन्छ। दुवै नेताले पार्टी नेतृत्वमा निरन्तरता पाएका छन्।
राजनीतिशास्त्री पोखरेल पनि चुनौतीहरू चुलिँदै गएपछि ओलीले वामपन्थी एकताको पासा फ्याँक्न सक्ने ठान्छन्।
"पानी टाउकोभन्दा माथि उक्लियो भने वामध्रुवीकरण एकीकरण गरौँ भनेर आफूलाई टिक्ने बाटो खोज्नुहोला," त्यसले नेताहरूलाई बौरिने अवस्थामा पुर्याउने सम्भावना भने नदेखेको बताउँदै उनी भन्छन्, "त्यसले पनि कति जोगाउला र? किन कि उहाँहरू अब आकर्षक राजनीतिक पात्र रहनुभएन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
























