तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानको पानीजहाज अमेरिकी नियन्त्रणमा : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथिको सामुद्रिक नाकाबन्दी अन्तर्गत एउटा इरानी झन्डावाहक पानीजहाज नियन्त्रणमा लिइएको बताएका छन्।
खाडी क्षेत्रमा अमेरिकाले नियन्त्रणमा लिएको भनिएको मालवाहक जहाजबारे इरानले कुनै प्रतिक्रिया जनाएको छैन।
रोक्न दिइएको चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी नौसेनाले 'टोस्का' नाम गरेको जहाजलाई कब्जामा लिएको अमेरिकी राष्ट्रपतिले ट्रुथ सोशलमा उल्लेख गरेका छन्।
इरानसँगको युद्ध अन्त्यका लागि पाकिस्तानमा हुन लागेको दोस्रो चरणको वार्ता टोलीको नेतृत्व फेरि पनि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गर्ने ह्वाइट हाउसले पुष्टि गरेलगत्तै ट्रम्पको यो घोषणा आएको हो।
दोस्रो चरणको वार्तामा तेहरानले आफ्नो सहभागिता हुनेबारे अहिलेसम्म पुष्टि गरेको छैन। इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी नाकाबन्दी कायम रहेसम्म इरानी अधिकारीहरूले सहभागिता नजनाउने बताएका छन्।
ट्रम्पले अमेरिकी नियन्त्रणमा रहेको पानीजहाज करिब ९०० फिट लामो र विमानवाहक जहाज जत्तिकै तौलको रहेको उल्लेख गरेका छन्।
अमेरिकी सामुद्रिक नाकाबन्दी अटेर गरेर जान खोजेको भन्दै ट्रम्पले उक्त जहाजको इन्जिन रहने कोठामा प्वाल पारेर जहाजलाई रोकेको जनाएका छन्।
"अवैध गतिविधिको विगतका कारण टोस्का अमेरिकी ट्रेजरीको प्रतिबन्धमा छ। जहाजलाई हामीले पूर्ण नियन्त्रणमा लिएका छौँ र त्यसमा के छ भनेर हेर्दै छौँ," ट्रम्पले भनेका छन्।
अमेरिकी सेन्ट्रल कमान्डले सार्वजनिक गरेको एउटा भिडिओमा अमेरिकी जलसेनाको जहाजले उक्त जहाजलाई रोक्न चेतावनी दिएको र गोली प्रहार गरिएको देखिएको छ।
अमेरिका-इरान वार्तामा मिल्न बाँकी विषय के हुन्?
इरान र अमेरिकाबीच पहिलो चरणको वार्ता असफल भएपछि ट्रम्पले दुई देशबीच सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकाले सामुद्रिक नाकाबन्दी जारी राख्ने चेतावनी शुक्रवार दिएका थिए।
पाकिस्तानमा भएको वार्ताबाट मध्यपूर्वमा दुई हप्ताको युद्धविराम घोषणा हुनुअघि गएको फेब्रुअरी २८ बाट पाँच हप्तासम्म इरानमा युद्ध चलेको थियो।
इरान र अमेरिकाबीच इरानको परमाणु कार्यक्रम र स्ट्रेट अफ होर्मुज भनिने तेल ओसारपसारको प्रमुख जलमार्गमा नियन्त्रण सहितका विषयहरूमा सहमति हुन सकेको छैन।
अमेरिकी राष्ट्रपति ट्रम्पले आइतवार दुई पक्षबीच वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानमा आफ्ना प्रतिनिधिहरू सोमवार पुग्ने बताएका थिए।
यसअघि घोषणा भएको युद्धविरामको दुई साता लामो अवधि बुधवारबाट सकिँदै छ।
वार्ताबारे इरानको फरक दाबी
भान्ससँगै ट्रम्पका सल्लाहकार स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ ज्यारड कुश्नर पनि अमेरिकी प्रतिनिधिमण्डलमा समावेश रहेको ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएका छन्। उनीहरू दुवै जना अघिल्लो चरणको वार्तामा पनि सहभागी थिए।
तर इरानको सरकारी समाचार संस्था आईआरएनए ले अमेरिकासँग दोस्रो चरणको वार्ता हुने विवरणहरूमा "सत्यता नभएको" बताएको छ।
अमेरिकी नाकाबन्दीसँगै वाशिङ्टनका "अत्यधिक" माग र धम्कीपूर्ण भाषाले "वार्ताको प्रगतिमा बाधा पुर्याएको" इरानी समाचार संस्थाले उल्लेख गरेको छ।
यद्यपि पाकिस्तानको राजधानी इस्लामाबादमा थप छलफलका लागि तयारी सुरु गरिएको छ।
अमेरिका र इरानका प्रतिनिधिहरूबीच गत साता वार्ता भएको होटेलका पाहुनाहरूलाई त्यहाँबाट बाहिरिन भनिएको बीबीसीका पाकिस्तान संवाददाताले उल्लेख गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको इरानका राष्ट्रपति मसूद पेजेस्कियानसँग आइतवार साँझ कुरा भएको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर विज्ञप्तिमा वार्ताको विषयबारे उल्लेख छैन।
होर्मुज बन्द रहँदा ऊर्जा सङ्कटको जोखिम
अमेरिकी नाकाबन्दीका कारण युद्धविरामका सर्तहरू उल्लङ्घन भएको इरानको इस्लामिक रेभलूशनरी गार्ड कर्प्स 'आईआरजीसी'को आरोप छ। उसले यसअघि युद्धविराम घोषणा पछि अस्थायी रूपमा खुला गरिएको होर्मुज जलमार्ग पुन बन्द गराएको छ। अमेरिकाको सामुद्रिक नाकाबन्दी अन्त्य नभएसम्म यो बन्द नै रहने इरानको चेतावनी छ।
यो जलमार्गबाट विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुन्छ।
पछिल्लो द्वन्द्वका कारण यो जलमार्गबाट भएर ओहोरदोहोर गर्ने जहाजहरूको सङ्ख्यामा नाटकीय कमी आउँदा विश्वभरि ऊर्जा सङ्कट गहिरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।