इरानले होर्मुज स्ट्रेट नियमन गर्ने सहमति भएको होइन : ट्रम्प

पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज स्ट्रेटमा पानीजहाजहरू इरानले नियमन गर्ने विषय आफूहरूको सहमतिमा नभएको बताएका छन्।

सामाजिक सञ्जाल ट्रूथमा पोस्ट गर्दै ट्रम्पले इरानले "राम्रो नगरेको" बताएका छन्। इरानले यसअघि होर्मुज स्ट्रेट हुँदै इन्धन ढुवानी गर्ने जहाजहरूलाई आफ्नो सेनाले सहजीकरण गर्ने र जहाजहरूले अनुमति लिनुपर्ने जनाएको थियो।

प्रतिक्रियामा ट्रम्पले भनेका छन्, "त्यो हामीबीच भएको सहमति हुँदै होइन।"

यसअघि यो मार्ग हुँदै वारपार गर्ने जहाजहरूलाई इरानले शुल्क असुलेको विवरणहरू आएका थिए।

ट्रम्पले इरानले शुल्क लिनु राम्रो नहुने बताएका छन्।

"उनीहरूले त्यसो नगर्दा राम्रो हुन्छ। यदि गरिरहेका छन् भने अहिले नै बन्द गरून्," ट्रम्पले भनेका छन्।

'अन्तर्राष्ट्रिय जलमार्गमा शुल्क लगाउन मिल्दैन'

यूकेकी विदेशमन्त्री इभेट कुपरले अन्तर्राष्ट्रिय जलमार्गमा शुल्क उठाउन नमिल्ने बताएकी छन्।

होर्मुज स्ट्रेट खुला गरिनु सबैका लागि अति जरुरी रहेको र कुनै पनि देशले यस्तो जलमार्ग बन्द गर्नु सामुद्रिक कानुनको आधारभूत सिद्धान्त विपरीत रहेको उनको भनाइ छ।

उनले अहिलेको युद्धविराम अन्तर्गत मात्रै नभएर दीर्घकालसम्मका लागि होर्मुज स्ट्रेट पूर्ण रूपमा र नि:सर्त रूपमा खुला रहनुपर्ने बताइन्।

"समुद्रको आधारभूत स्वतन्त्रता कसैले एकपक्षीय रूपमा फिर्ता लिन सक्दैन वा कुनै एक ठेकेदारलाई बिक्री गर्न सक्दैन। अन्तर्राष्ट्रिय जलमार्गमा कुनै शुल्क लगाउन पनि मिल्दैन," कुपरले भनिन्।

अमेरिका र इरानबीच युद्धविराम घोषणा भए पनि सहमति भएका विषयमा दुवै पक्षबीच परस्पर बाझिने भनाइहरू आइरहेका छन्।

इजरेल लेबनन वार्ताको तयारी

अमेरिका र इरानबीच युद्धविरामसँगै वार्ताको तयारी भइरहँदा मध्यपूर्वमा द्वन्द्वरत इजरेल र लेबननबीच पनि वार्ता हुने भएको छ।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो दिनको इजरेली आक्रमणमा ३०३ जना मारिएका छन्।

इरानसँग युद्धविराम घोषणा भए पनि उक्त सहमतिमा लेबनन नसमेटिएको भन्दै इजरेली प्रधानमन्त्रीले हिज्बुल्लाह लक्षित आक्रमण जारी राखिएको बताएका थिए।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो मन्त्रिपरिषद्लाई जतिसक्दो छिटो लेबननसँग प्रत्यक्ष वार्ता गर्न निर्देशन दिइएको बताएका छन्।

उनका अनुसार वार्ता हिज्बुल्लाहको निःशस्त्रीकरण र इजरेल र लेबननबीच शान्तिपूर्ण सम्बन्ध स्थापना गर्नेमा केन्द्रित हुने छ।

तर लेबननसँग युद्धविराम नगरिएको नेतन्याहूको भनाइ छ।

इजरेलले हिज्बुल्लाहमाथि आक्रमण जारी रहने बताएको छ।

यसअघि इजरेली सेनाले लेबननको राजधानी बेरुतको एउटा क्षेत्र खाली गर्न चेतावनी जारी गरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।