गृहमन्त्रीको जिल्ला दौडाहाले रास्वपामै 'असन्तोष', परिणाम के आउला

सुधन गुरुङ

तस्बिर स्रोत, EPA/Shutterstock

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

जेन जी आन्दोलन चलिरहेको बेलाका प्रधानमन्त्री र गृहमन्त्रीको गिरफ्तारीमा सक्रिय देखिएका गृहमन्त्री सुधन गुरुङको दौडधुप अझै चलिरहेको छ।

राजधानीभित्र रहँदा मातहतका विभिन्न कार्यालय पुग्ने गरेका उनी काठमाण्डू उपत्यकाबाहिर पनि उत्तिकै दौडधुपमा देखिन्छन्।

वर्तमान सरकारका मन्त्रीहरूमध्ये उनको बाहिरी सक्रियता निकै देखिएको छ।

त्यसैले कतिपयले उनलाई सरकारका 'एक्शन'मा उत्रिएका एक्लो मन्त्रीको रूपमा चर्चा गरेको पनि पाइन्छ।

तर उनको सक्रियता विवादमुक्त देखिन्न। उनकै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले पनि असन्तोष प्रकट गरेका छन्।

प्रधानमन्त्री बालेनसमक्ष किन गृहमन्त्रीबारे 'गुनासो'?

सांसद निर्वाचित भएलगत्तैदेखि सुधन गुरुङले विभिन्न कार्यालय र मन्त्रालय गएर सर्वसाधारणको सरोकार रहेका भनिएका कामहरूबारे ध्यानाकर्षण गराएका थिए।

गृहमन्त्री बनेपछि मन्त्रीका कारण सर्वसाधारणलाई "दुःख नदिन" भन्दै सडकमा आफैँले सवारीसाधनलाई बाटो पास गराइरहेको भिडिओ पनि सार्वजनिक भएको थियो।

उनै गृहमन्त्री गुरुङले केही दिनअघि राति १० बजेर ६ मिनेटमा मन्त्रालयका सचिवसहितको फोटो आफ्नो फेसबुकमा राख्दै लेखेका छन् : "गृहसचिव राजकुमार श्रेष्ठले हामीले पदभार ग्रहण गरेदेखि हाम्रो भावनाअनुसार काम गर्दै आउनुभएको छ। लेट नाइट, ओभर टाइम र शून्य गुनासो।"

गृहमन्त्री सुधन गुरुङ सोफामै सुतेको अवस्थामा

तस्बिर स्रोत, SudanGurung/facebook

त्यसअघि उनले आफू सोफामा सुतिरहेको फोटो फेसबुकमा राख्दै लेखेका थिए, "निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।"

हालसालै सशस्त्र प्रहरीका जवानसँग हात मिलाउँदै गरेको फोटो पनि उनले पोस्ट गरेका छन्। त्यसमा उनले लेखेका छन् : "पिर्के सलामीको उचाइभन्दा, हातको साथ ठूलो हुन्छ, जहाँ राष्ट्रसेवकको सम्मान हुन्छ, त्यहीँ राज्यको सान हुन्छ।"

तर उनका विभिन्न सक्रियता र गतिविधिलाई कतिपयले 'स्टन्ट' भन्दै आलोचन पनि गरेका छन्। रास्वपाको संसदीय दलको बैठकमा पनि प्रश्नहरू उठाइएका छन्।

उनको विभिन्न जिल्लाको पछिल्लो दौडाहालाई लिएर रास्वपाको सांसदले असन्तोष जनाएका छन्। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा त्यो विषय उठाएका हुन्।

तीमध्ये एक हुन्, काभ्रेका सांसद मधुकुमार चौलागाई। "असन्तुष्टिभन्दा पनि उहाँ जे कुराको जानकारी लिन देशदौडाहामा लाग्नुभएको छ, त्यस विषयमा अलि बढी जानकारी त्यस क्षेत्रका सांसद र जनप्रतिनिधिहरूलाई हुन्छ," उनले कारण खुलाए, "त्यसैले त्यस क्षेत्रका जनप्रतिनिधिलाई सँगै लिएर वा जानकारी गराए गएको भए हुन्थ्यो भन्ने हो।"

'मन्त्री लम्सालको आग्रहमा गृहमन्त्रीको भ्रमण'

मन्त्रीहरू प्रधानमन्त्री र राष्ट्रपतिसँग

तस्बिर स्रोत, Reuters

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न गुरुङले आफैँ सक्रियता देखाएको भन्दै आलोचना भएको थियो।

त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धानका निम्ति पूर्वमन्त्री दीपक खड्काविरुद्धको पक्राउ पुर्जी नै उनले फेसबुकमार्फत् सार्वजनिक गरेका थिए।

त्यसयता उनी विभिन्न जिल्लाहरूको दौडाहामा व्यस्त देखिन्छन्।

तर त्यस क्रममा उनले निर्माणाधीन विभिन्न सडक खण्डको निरीक्षण गर्दै निर्देशन दिइरहेको खबरहरू आएका छन्।

त्यसलाई कतिपयले क्षेत्राधिकारको ख्याल नगरी चर्चा कमाउनकै निम्ति जथाभाबी दौडिरहेको भन्दै आलोचना गरेको पाइन्छ।

गृहमन्त्री सुधन गुरुङ

तस्बिर स्रोत, SudanGurung/facebook

उनले नारायणगढ-बुटवल सडकको दाउन्ने, बुटवल-गोरुसिङ्गे खण्ड, नागढुङ्गा-मुग्लिङ सडकखण्डका साथै काभ्रेमा रोशी खोलाको बाढीले क्षतिग्रस्त तुल्याएको बीपी राजमार्गको खण्डको निरीक्षण गरेका छन्।

सडक विभागका महानिर्देशक विजय जैसी उनीसँगै सबै निरीक्षणमा पुगेका थिए। उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको आग्रहमा गृहमन्त्रीले स्थलगत भ्रमण गरेको जानकारी दिए।

"पूर्वसहमति भए पनि विभिन्न सडक आयोजनाको निम्ति आवश्यक सामान र कच्चा पदार्थ नै नपाउने अवस्था आयो, जसले गर्दा ती आयोजनाको काममा योजनाअनुरूपको प्रगति हुन सकेन," उनले भने, "सामग्री नै नपाउने भनेपछि त निकै गम्भीर कुरा भयो, अनि निर्माण व्यवसायीका मानिस सुरक्षित नहुने, क्रसर प्लान्टहरूमा आगो लगाइदिने भएपछि गृहमन्त्रीज्यूलाई स्थलगत नै देखाऊँ भनेर गएको हो।"

खास गरेर नागढुङ्गा-मुग्लिङ र बुटवल-गोरुसिङ्गे खण्डको कामको निम्ति माटो, रोडा-ढुङ्गा र गिट्टी नपाउँदा काम प्रभावित हुन पुगेको बताइएको छ।

गृहमन्त्रीको भ्रमणका क्रममा नदीजन्य पदार्थको उत्खननलाई लिएर सङ्घ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार तथा कतिपय पक्षको स्वार्थले समस्या देखिएको गुनासो सुनाइएको थियो।

गृहमन्त्रीको भ्रमणको परिणाम के?

चितवनमा प्रहरीलाई निर्देशन दिँदै गृहमन्त्री सुधन गुरुङ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, चितवनमा प्रहरीलाई निर्देशन दिँदै गृहमन्त्री

गृहमन्त्री गुरुङको काभ्रे भ्रमण भने विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित रहेको अधिकारीहरूले जनाएका छन्।

त्यससँग सम्बन्धित अधिकारीहरूलाई लिएर उनी त्यहाँ पुगेका थिए। भ्रमणका क्रममा उनले सम्भावित जोखिमयुक्त स्थानको पहिचान गर्न पुगेको जानकारी दिएका थिए।

"पहिरो जाँदा होस् वा बाढीका कारण जोखिम वा जाममा परेका नागरिकको उद्धार कसरी गर्ने भनेर भूगोल पहिचान गर्न आएका हौँ, हेलिकप्टरबाट उद्धार गर्नुपर्दा कहाँकहाँ कसरी गर्न सकिन्छ भनेर योजना बनाउन आएका हौँ," उनले भ्रमणसम्बन्धी एउटा भिडिओमा बताएको देखिन्छ।

त्यो त उनको मन्त्रालयको जिम्मेवारीभित्रको विषय भयो। तर सडक निर्माणमा देखिएको अवरोधमा उनको भ्रमणले केही परिणाम दियो?

विभागका महानिर्देशक जैसी भन्छन्, "कतिपय विषयमा कानुनी अस्पष्टता पनि हुन्छ। तर गृहमन्त्री गएपछि स्थानीय रूपमा सर्वपक्षीय छलफल गरेर बाटो खुलाउने भनेर काम भइरहेको छ।"

बुटवल-गोरुसिङ्गे सडकखण्डबारे जानकारी लिने क्रममा एक जनाले गृहमन्त्रीसमक्ष नेपाल विद्युत् प्राधिकरणले बिजुलीको पोल समयमा नसारिदिएकाले काम गर्न समस्या रहेको भन्दै पहल गरिदिन आग्रह गरेका थिए।

विभागका महानिर्देशक जैसीका अनुसार त्यस्तो विलम्ब पूर्वदेखि लुम्बिनी प्रदेशसम्मका सडकखण्डमा भइरहेको छ।

अधिकारीहरू शक्तिशाली मन्त्रीको स्थलगत भ्रमणले सरोकारवाला निकायलाई झक्झक्याउने बताउँछन्। त्यसले काममा गति दिन सहयोग पुग्ने उनीहरूको विश्वास छ।

सडक विभागका महानिर्देशकले अनुभव सुनाए, "तेस्रो व्यक्तिबाट जानकारी लिनु र आफैँले हेर्दा धेरै फरक पर्छ, सम्बन्धित क्षेत्रको समस्या पनि प्रत्यक्ष सुनाउँदा निकास छिटो निस्किने सम्भावना बढ्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।