पाकिस्तानी मध्यस्थतामा इस्लामाबादमा अमेरिका र इरानबीच शान्ति वार्ता, ट्रम्पले के भने?

तस्बिर स्रोत, Pakistan PMO
संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्वमा जारी युद्ध अन्त्यको प्रयासमा पाकिस्तानमा वार्ता थालेका छन्।
पाकिस्तानको सरकारी स्रोतले बीबीसीलाई अमेरिका, इरान र पाकिस्तान गरी तीनै पक्षसहितको प्रत्यक्ष वार्ता सुरु भएको जानकारी दिएको छ।
दुई सरकारी स्रोतले बीबीसी उर्दूलाई इरान र अमेरिकाबीच पहिलो चरणको वार्ता सकिएको उल्लेख गर्दै अढाई घण्टा चलेको छलफलमा पाकिस्तानी मध्यस्थकर्ताहरू पनि सहभागी भएको बताए।
उनले वार्ता 'सकारात्मक' रहेको उल्लेख गर्दै छोटो विश्रामपछि त्यो पुनः सुरु हुने उल्लेख गरेका छन्।
यसअघि दुई पक्षबीच मध्यस्थकर्तामार्फत इस्लामाबादमा अनौपचारिक वार्ता चलेका अधिकारीहरूले बताएका थिए।
सुरुमा दुवै पक्षका प्रतिनिधिहरूले मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग अलग अलग भेट गरेका थिए।
दुवै देशले ६ हप्ताको लडाइँपछि युद्धविराम गरेका थिए र त्यसको केही दिनमा वार्ता सुरु भएको हो।
मध्यपूर्व भर फैलिएको यो युद्धले विश्वव्यापी ऊर्जा सङ्कट निम्त्याएको छ।
दुवै पक्षले एक अर्काले युद्धविरामको सर्त उल्लङ्घन गरेको आरोप लगाएका छन्। इस्लामाबादबाट एक जना बीबीसी संवाददाता भन्छिन् दुई पक्षबीच गहिरो अविश्वास रहेकाले एकै दिनमा परिणाम दिन गाह्रो हुनसक्छ।

तस्बिर स्रोत, Getty Images
त्यसअघि वार्ताका लागि इस्लामाबाद पुगेका अमेरिकी उपरराष्ट्र जेडी भान्सले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेटवार्ता गरेका थिए।
पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिका अनुसार उक्त वार्तामा पाकिस्तानी प्रधानमन्त्रीले इरान र अमेरिकाबीचको वार्ता उक्त क्षेत्रमा दीर्घकालीन शान्ति कायम गर्न कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन्।
भान्ससँगै राष्ट्रपति ट्रम्पका विशेषदूत स्टीभ विट्कफ र राष्ट्रपतिका ज्वाइँ ज्यारेड कूश्नर सहभागी थिए।
प्रधानमन्त्री शरिफसँग देशका उपप्रधान तथा परराष्ट्रमन्त्री र आन्तरिक मामिलामन्त्री सहभागी थिए।
त्यसअघि इस्लामाबाद पुगेका इरानका अधिकारीहरूले पनि पाकिस्तानका प्रधानमन्त्री शरिफसँग भेटवार्ता गरेका थिए।

तस्बिर स्रोत, Reuters
यसैबीच, राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानले बन्द गरिदिएको स्ट्रेट अफ होर्मुज भनिने प्रमुख जलमार्ग खुलाउने प्रक्रिया अघि बढाएका बताएका छन्।
उनले समुद्रमा बिछ्याइएका धरापबाट जोखिम रहेको उल्लेख गर्दै धराप बिछ्याउने डुङ्गाहरूलाई डुबाइएको बताए।
उक्त जलमार्गबाट दुईवटा चिनियाँ पानीजहाज पार भएको तथ्याङ्क सार्वजनिक भएका छन्। खाडी क्षेत्रबाट इन्धन आपूर्तिका लागि प्रयोग हुने उक्त जलमार्गको सञ्चालन अमेरिकाको प्रमुख माग रहदैँ आएको छ।
यसैबीच राष्ट्रपति ट्रम्पले ट्रुथ सोसिअलमा राखिएको एउटा पोस्टमा जारी सङ्घर्षमा इरानले 'नराम्रोसँग हारिरहेको' उल्लेख गरेका छन्।
उनले केही सञ्चारमाध्यमका व्यक्तिहरू इरानले जितिरहेको लेख्न मनपराउने उल्लेख गर्दै इरान हारिरहेको वास्तविकता सबैलाई थाहा भएको जनाएका छन्।
उनले संसारभरका देशहरूका लागि भनेर अमेरिकाले स्ट्रेट अफ हुर्मुजमा बिछ्याइएका धरापहरू हटाउन लागेको पनि उल्लेख गरे।
छ हप्ता लामो युद्ध अन्त्य गर्ने प्रयासमा दुवै देशका प्रतिनिधिमण्डल सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्चस्तरीय वार्ता गर्न पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका हुन्।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स शनिवार इस्लामाबाद पुगेका हुन् जहाँ उनलाई पाकिस्तानका विदेशमन्त्रीले स्वागत गरेका थिए।
बीबीसीका वासिङ्टन संवाददाताले उपराष्ट्रपतिका रूपमा यसलाई भान्सको हालसम्मकै सबैभन्दा कठिन जिम्मेवारी भनेका छन्।
२१ वर्षपछि पहिलो पटक पाकिस्तानमा
वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानका विदेशमन्त्रीले दुवै पक्षबीच सार्थक छलफल हुने विश्वास व्यक्त गरेका छन्।
इरानका सभामुख समेत रहेका वार्ता टोलीका नेता मोहम्मद बाकर कलिबाफले वासिङ्टनले सही सम्झौता प्रस्ताव गरे र आफ्नो मुलुकको अधिकार सुनिश्चित गरे तेहरान सहमतिका लागि तयार रहेको बताएका छन्।
अमेरिकी टोलीको नेतृत्व गरिरहेका उपराष्ट्रपति जेडी भान्सले इरानलाई अमेरिकासँग खेलबाड नगर्न चेतावनी दिएका छन्।
अमेरिकी उपराष्ट्रपतिले २१ वर्षपछि पहिलो पटक पाकिस्तान टेकेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।
बीबीसी न्यूज उर्दूका अनुसार इस्लामाबादमा अमेरिका र इरानबीच हुन लागेको वार्ता र सहरमा महत्त्वपूर्ण प्रतिनिधिमण्डलको आगमनलाई लिएर सुरक्षा व्यवस्था उच्च तुल्याइएको छ।
इरानपछि अमेरिकाका वार्ताकारहरू पनि पाकिस्तानको इस्लामाबाद पुगेका हुन्।
वार्ताको निम्ति इरानी प्रतिनिधिमण्डल यसअघिनै इस्लामाबाद पुगिसकेको छ।
इरानी वार्ता टोलीका नेता मोहम्मद बाकर कलिबाफले आफूहरूको मनसाय राम्रो रहेको बताएका छन्।
तर अमेरिकाप्रति आफूहरूको विश्वास नरहेको उनको प्रतिक्रिया छ।
सुरक्षामा कडाइ

तस्बिर स्रोत, Pool
पाकिस्तानले इस्लामाबादमा आज हुन लागेको शान्ति वार्तामा आफ्नो भूमिकालाई लिएर उत्सव मनाइरहेको छ।
पाकिस्तानमा अमेरिका-इरान शान्तिवार्तालाई त्यसरी उत्सवको रूपमा लिइएको छ, किन?
अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्दै शान्ति स्थापनामा सहयोग गर्न पाकिस्तानले दुई हप्ताको युद्धविरामको निम्ति मध्यस्थता गरेको थियो।
राजधानीका सडकहरूमा "इस्लामाबाद वार्ता" लेखिएका डिजिटल बोर्डहरू देख्न सकिन्छ।
जसमा अमेरिका र इरानका झन्डा छन्। र, त्यसको बीचमा पाकिस्तानको प्रतीक चिन्ह राखिएको छ।
देशले शान्ति वार्तामा आफ्नो भूमिकाको दर्साउन मनाउन दुई दिने बिदा पनि घोषणा गरेको छ।
विश्वका लागि यसप्रतिको सरोकार उच्च छ- संसारभरिका देशहरू लडाइँको अन्त्य र स्ट्रेट अफ होर्मुज पुनः खुला भएको हेर्न उत्सुक छन्।
पाकिस्तानको निम्ति के महत्त्व?

तस्बिर स्रोत, Getty Images
तर पाकिस्तानको निम्ति पनि विभिन्न कारणले यसको ठूलो अर्थ छ।
सिङ्गापुरस्थित नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका दक्षिण एशिया विज्ञ अब्दुल बसितका भनाइमा "दक्षिण एशियाली देशहरूले यदि वार्ता असफल भयो र उनीहरू आफ्नो छिमेकी इरानसँग युद्धमा तानिएमा सम्भावित दुःस्वप्नको अवस्थाको सामना गर्नुपर्ने" बताउँछन्।
तैपनि गर्व र उत्साहले भरिएका विभिन्न खालका मिमहरू पाकिस्तानमा सामाजिक सञ्जालहरूमा भाइरल भइरहेका छन्।
बसित भन्छन्, "यो यस अर्थमा विजय हो कि संसारका कुनै पनि देशले युद्धविरामको निम्ति मध्यस्थता गर्न सकिरहेका थिएनन् र हामी सम्भावित विपत्तिको सङ्घारमा थियौँ। पाकिस्तानले त्यसलाई टारिदियो।"
उनका भनाइमा वर्षौँदेखिको राजनीतिक अस्थिरता, दुई वर्षअघि मात्र ऋण तिर्न समेत नसक्ने विन्दुमा पुगेको कमजोर अर्थतन्त्र र भारतसँगको तीव्र प्रतिद्वन्द्विता झेलेको देश पाकिस्तानको निम्ति यो सफलता आवश्यक थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
























