युद्धविराम गैरसैनिकका निम्ति अस्थायी राहत तर लामो समय नटिक्न सक्छ

तेहरानमा हवाई हमलामा क्षतिग्रस्त भवनको भग्नावशेष

तस्बिर स्रोत, Getty Images

    • Author, जेरमी बोअन
    • Role, अन्तर्राष्ट्रिय सम्पादक
  • पढ्ने समय: ४ मिनेट

एकै दिनमा डोनल्ड ट्रम्पले इरानको पूरै सभ्यताको "आजै नष्ट" हुने टिप्पणी गरे र केही घण्टापछि तेहरानले दिएको दशबुँदे योजना पाकिस्तानमा वार्ताका लागि "उपयोगी" आधार भएको भन्न भ्याए।

पहिलो कुरा युद्धविराम मध्यपूर्वभरिका गैरसैनिकका निम्ति राहत हो जो फेब्रुअरी २८ मा अमेरिका र इजरेलले इरानविरुद्ध युद्ध थालेदेखि नै लडाइँको चपेटामा परेका थिए।

तिनमा लेबननका मानिस पर्दैनन्। युद्धविराम सहमतिले लेबनन समेट्दैन भन्दै इजरेलले त्यहाँ भीषण र घातक हवाई हमला गरेको छ।

अन्यत्रको राहत पनि धेरै नटिक्न सक्छ। इरान र अमेरिका दुवैसँग युद्ध अन्त्य गराउन कारणहरू छन्। तर उनीहरूको घोषित अडानमा निकै भिन्नता छ। एकअर्कालाई विश्वास नगर्ने यी दुई पक्षबीच सहमतिका निम्ति दुई साता बाँकी छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसलाई "कमजोर सङ्घर्षविराम"को सङ्ज्ञा दिए। वास्तवमै त्यो सङ्ज्ञा उचित छ।

युद्ध आफूले जितेको दुवै पक्षको दाबी

तर दुवै पक्षले आफूले युद्ध जितेको दाबी त्योभन्दा कम वास्तविक लाग्छ।

पेन्टागनमा पत्रकारहरूसँग बोल्दै अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले युद्धमा अमेरिकाले "ऐतिहासिक तथा विशाल" विजय प्राप्त गरेको बताए।

"विश्वमा आतङ्कको अगुवा प्रायोजक आफू, आफ्ना जनता र आफ्नो भूभागको सुरक्षा गर्न पूर्ण अक्षम प्रमाणित भयो," उनले भने।

तेहरानबाट पनि उत्तिकै कडा टिप्पणीहरू आएका छन्। त्यहाँको सत्ताले पनि सम्पूर्ण विजयको दाबी गरेको छ।

इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा अरेफले सामाजिक सञ्जालमा लेखेका छन् : "विश्वले शक्तिको नयाँ केन्द्रलाई स्वागत गरेको छ, र अब इरानको युग सुरु भएको छ।"

इरानमा अमेरिकी र इजरेली आक्रमणमा परेर ध्वस्त भएको एउटा घरबाहिर एक महिला

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, इरानमा अमेरिका र इजरेलले हमला थालेको एक महिनाभन्दा धेरै बितेपछि ससर्त युद्धविराम लागु भएको छ

ट्रम्पका समर्थकहरूका अनुसार अमेरिका र इजरेलले अस्वीकार गर्नै नसकिने तहको गम्भीर विनाश गराइदिएका कारण इरान वार्ताका निम्ति तयार हुन बाध्य भएको हो।

राष्ट्रपतिका समर्थकहरू उनका टिप्पणीहरूले निर्णायक दबाव दिएको बताउँछन्। उनले दिएका धम्की युद्ध अपराध वा मानवताविरुद्ध अपराधको श्रेणीमा पर्न सक्ने खालका थिए।

इरानीहरूले चाहिँ तिनको सत्ताको प्रतिरोध क्षमता र हमला सहन सक्ने क्षमता, अझै पनि बलिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गर्ने क्षमता तथा होर्मुज जलमार्गको नियन्त्रणका कारण उसले दिएको दशबुँदे योजनाका आधारमा अमेरिका वार्ता गर्न बाध्य भएको हो।

ती बुँदामा अमेरिकाले स्वीकार गर्न कठिन हुने विषयहरू पनि छन्।

तिनमा होर्मुज जलमार्गमा इरानी सैन्य नियन्त्रणको मान्यता, क्षतिपूर्तिको माग, आर्थिक प्रतिबन्ध हटाउनुपर्ने तथा रोक्का गरिएका उसका सम्पत्ति फुक्का गर्नुपर्ने जस्ता विषय छन्।

दुई पक्ष वार्ताका निम्ति इस्लामाबाद पुग्दा पाकिस्तानीहरूले दीर्घकालीन समाधान दिलाउन मध्यस्थता गर्न सक्लान् वा नसक्लान् तर युद्धको परिणामले मध्यपूर्वलाई रूपान्तरण भने गर्दै छ।

उनीहरूले इरानविरुद्ध आक्रमणको आदेश दिँदा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतन्याहूले इरानमा सत्तापलट हुन लागेको बताएका थिए। तर त्यसो हुन सकेन। हुन त इरानका वरिष्ठ नेताहरू मारिएको विषयलाई नै राष्ट्रपतिले नयाँ सत्ताको उदय भनेका छन्।

सत्तापलट हुने आशा राखेका देशभित्रका सत्ताविरोधीहरू जसरी युद्ध अन्त्य हुँदै छ त्यो अवस्थाबाट पक्कै आश्वस्त हुने छैनन्।

अमेरिका र इजरेलले उल्टिन लागेको भनेको सत्ता अब उनीहरूसँगको वार्तामा पूर्ण साझेदारका रूपमा प्रस्तुत हुने छन्। आफ्नो अवस्था सुदृढ पार्न इरानले खोज्ने छ। केही साताअघि मात्र ट्रम्पले उक्त सत्तासँग बिनासर्त आत्मसमर्पणको माग गरेका थिए।

इस्लामाबादमा हुने वार्ता जिनिभामा भएको वार्ताभन्दा कति फरक होला भनेर स्पष्ट छैन। जिनिभाको वार्तामा प्रगति भइरहेको देखिँदा अमेरिका र इजरेलले इरानविरुद्ध युद्ध थालेका थिए।

जिनिभामा उनीहरू परमाणुसम्बन्धी विषयमा नयाँ सम्झौताबारे छलफल गरिरहेका थिए जसमा इरानसँग रहेको प्रशोधित युरेनिअमको भण्डारको विषय पनि थियो। त्यसरी प्रशोधित युरेनिअमलाई परमाणुअस्त्र बनाउन प्रयोग गर्न सकिन्छ।

इस्लामाबाद वार्ताको अजेन्डामा माथि नै पर्ने अर्को विषय हुने छ - स्ट्रेट अफ होर्मुज। यो इरानको निम्ति अर्को अस्त्र बन्न पुगेको छ। यदि इजरेल र अमेरिका फेरि युद्धमा फर्किए भने इरानले विश्वोक अर्थतन्त्रलाई क्षति पुग्ने गरी उक्त जलमार्ग सहजै बन्द गराइदिन सक्ने क्षमता प्रस्तुत गरेको छ।

फेब्रुअरी २८ भन्दा पहिले अन्तर्राष्ट्रिय पानीजहाजहरूले स्वतन्त्र ढङ्गले उक्त जलमार्ग पार गर्थे।

अब इरानले युद्धविरामको समयमा उसको सेनासँग समन्वय गरेर मात्र पानीजहाजहरूलाई सो मार्ग प्रयोग गर्न भनेको छ। उसले यो व्यवस्था निरन्तर कायम राख्न खोज्ने छ र पानीजहाजहरूसँग सूइज नहरमा जस्तै पारवहन शुल्क माग गर्न सक्छ।

अरू पक्ष

युद्धविरामका निम्ति गरिएका कूटनीतिक प्रयासमा इजरेल सहभागी थिएन।

नेतन्याहू इरानलाई थप क्षति पुर्‍याउन चाहन्थे। निर्वाचनको यो वर्ष विपक्षी नेता याइर ल्यापिडसहित उनका राजनीतिक प्रतिद्वन्द्वीहरूले उनले इजरेलको सुरक्षा कमजोर बनाएको आरोप लगाएका छन्। इरानमाथि कार्यगत विजयले इजरेललाई रणनीतिक फाइदा नहुने सम्भावना प्रति उनीहरू चिन्तित छन्।

युद्धविरामको प्रक्रियामा चीनले भूमिका खेलेको छ जसको अर्थ इस्लामाबाद वार्तामा पनि उसको बलियो प्रभाव रहने छ। यसले मध्यपूर्वमा उसको प्रभाव थप सुदृढ हुने छ।

ट्रम्पले प्रयोग गरेको भाषाले पनि प्रभाव पार्ने नै छ। खास गरी नेटोभित्रका उसका साझेदारसँगको सम्बन्धमा हानि पुगेको छ। प्रधानमन्त्री सर किअर स्टार्मरलाई गरेको गाली तथा रोयल नेभी (ब्रिटिश जलसेना)लाई गिज्याएको कुरा ब्रिटिश नेताहरूका लागि बिर्सिन कठिन हुने छ।

खाडीका अरब देशहरूले अमेरिकासँगको सम्पर्क त टुटाउने छैनन् तर तिनले सुरक्षा सम्बन्धको पुनर्समीक्षा भने गर्ने छन्।

अनि अमेरिकी राष्ट्रपतिबाट युद्ध अपराध हुन सक्ने किसिमका बोलीवचन र सम्पूर्ण सभ्यतामाथि सम्भावित नरसंहारकारी आक्रमणको धम्कीका कारण विश्वभरि ट्रम्पको नैतिकता र कानुनप्रति उनको दृष्टिकोणबारे गम्भीर प्रश्न उठाएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।