चर्चित अनुहार अनि पुरानो प्रतिद्वन्द्विता – विश्वकपको सेमिफाइनलमा केके देख्न पाइएला

- Author, अद्वैध राजन
- Role, बीबीसी खेल पत्रकार
- Published
- पढ्ने समय: ४ मिनेट
हामीलाई लगातार रोमाञ्चक खेल र अविस्मरणीय पलहरूको साक्षात्कार गराइरहेको यसपालिको विश्वकप फुटबल प्रतियोगितामा अब केवल अन्तिम चारका टोली बाँकी छन्।
सेमिफाइनलमा पुगेका फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र आर्जेन्टिना विश्व उपाधिबाट अब दुई जित मात्र टाढा छन्। फाइनलमा स्थान सुनिश्चित गर्ने दाउमा भएकाले उनीहरूलाई अब गल्ती गर्ने छुट छैन भन्दा हुन्छ।
त्यसो भए अन्तिम चारका खेलमा केके अपेक्षा गर्न सकिएला? यो सामग्रीमा त्यसबारे चर्चा गरिएको छ।
युरोपका महाशक्तिको भिडन्त
फ्रान्सविरुद्ध स्पेन, ड्यालस रङ्गशाला, बुधवार
युरोपका दुई शक्तिशाली टोली आमनेसामने हुने हुँदा यो खेलले विश्वकप इतिहासकै उत्कृष्ट खेलमध्ये एक बन्न सक्ने सबै सम्भावना बोकेको छ।
मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गर्दा किलिअन एम्बाप्पे चर्चाको केन्द्र बने। प्रतियोगितामा उनले आठ गोल गरिसकेका छन् र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने होडमा उनी लिओनेल मेस्सीभन्दा एक गोलले मात्र पछाडि छन्।
तर फ्रान्सको सबैभन्दा ठूलो शक्ति एम्बाप्पे मात्र होइनन्। उस्मन डेम्बेले र माइकल ओलिजेजस्ता मैदानभर फैलिएका स्तरीय खेलाडीहरू उसका मुख्य शक्ति हुन्। डेम्बेलेले क्वार्टरफाइनलमा निर्णायक गोल गर्दै प्रतियोगितामा आफ्नो गोल सङ्ख्या पाँच पुर्याए।
त्यस्तै ओलिजेले डिडिये डेसँको टोलीमा सिर्जनात्मक भूमिका निर्वाह गरेका छन् र पाँच 'असिस्ट'सहित त्यसतर्फ प्रतियोगिताकै शीर्ष स्थानमा छन्।
विशेष गरी यही पक्ष नै सन् २०२४ को युरोको सेमिफाइनलमा आफूलाई २-१ ले पराजित गरेको स्पेनविरुद्ध दुई पटकको विश्वविजेता फ्रान्सको सबैभन्दा बलियो आधार बन्न सक्छ।
त्यस्तै स्पेनले अझै आफ्नो उत्कृष्ट प्रदर्शन गर्न बाँकी नै रहेको प्रतीत हुन्छ। उनीहरूका युवा स्टार लमिन यमालले विश्वकपमा अझै आफ्नो वास्तविक क्षमता देखाउन सकेका छैनन्। बार्सिलोनाका यी विङ्गरले समूह चरणमा साउदी अरबविरुद्ध मात्र एक गोल गरेका छन्।
त्यस्तै चार गोल गरिसकेका मिकेल ओयार्जाबाल पछिल्ला दुई खेलमा गोल गर्न विफल भएका छन्। त्यसैले लुई डे ला फ्वेन्टेको टोलीले नकआउट चरणमा पोर्चुगल र बेल्जिअमलाई हराउन वैकल्पिक खेलाडी मिकेल मेरिनोको अन्तिम समयमा आएको निर्णायक योगदानमा भर पर्नुपरेको थियो।
सन् २०१० को विश्वकप सफलता दोहोर्याउने लक्ष्यमा रहेको स्पेन सेमिफाइनलको पूर्वसन्ध्यामा १९ वर्ष पुग्ने यमालले उक्त खेलमा आफ्नो प्रतिभाअनुरूपको प्रदर्शन गर्ने आशामा छ।
मुख्य तथ्याङ्क :
फ्रान्सले विश्वकप सेमिफाइनल खेल्न लागेको यो आठौँ पटक हो। त्यो भनेको ब्रजिलको बराबरी हो। यी दुईबाहेक केवल जर्मनी सबैभन्दा बढी पटक (१२ पटक) सेमिफाइनलमा पुगेको छ।
सन् २०२४ को मार्चमा कोलम्बियासँग १-० ले पराजित भएयता स्पेन लगातार ३६ खेलसम्म अपराजित रहेको छ र यो उनीहरूको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो।
यस अवधिमा स्पेनले २७ खेल जितेको छ भने नौ खेलमा बराबरी गरेको छ।
विश्वकपमा यी दुई टोलीको भेट दोस्रो पटक हुन लागेको हो। सन् २००६ को अन्तिम १६ को खेलमा स्पेनसँग पछि परेको फ्रान्सले अवस्था उल्टाउँदै ३-१ ले जित हासिल गरेको थियो।
फेरि जागेको प्रतिद्वन्द्विता
इङ्ग्ल्यान्डविरुद्ध आर्जेन्टिना, एट्लान्टा रङ्गशाला, बिहीवार
सन् २०१८ पछि इङ्ग्ल्यान्डको यो दोस्रो विश्वकप सेमिफाइनल हो। तर ६० वर्षपछि पहिलो पटक फाइनल पुग्ने उसको सपनाको बाटोमा साबिक विश्वविजेता आर्जेन्टिना उभिएको छ।
यो खेल तीव्र भावना र प्रतिद्वन्द्विताले भरिएको हुने छ। आजभन्दा ४० वर्षअघि मेक्सिकोमा भएको विश्वकपको क्वार्टरफाइनलमा आर्जेन्टिनी स्टार डिएगो म्याराडोनाले लगभग एक्लै इङ्ग्ल्यान्डलाई प्रतियोगिताबाट बिदा गरेका थिए।
यस पटक आर्जेन्टिनासँग पुन: नम्बर १० का अर्का सूपरस्टार छन् - लिओनेल मेस्सी।
मेस्सीले अहिलेसम्म इङ्ग्ल्यान्डविरुद्ध खेलेका छैनन् र पहिलो भेट नै विश्वकप सेमिफाइनलमा हुने भएको छ। यस प्रतियोगितामा विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका मेस्सी 'गोल्डन बूट'को दौडमा फ्रान्सका किलिअन एम्बाप्पेसँग संयुक्त रूपमा आठ गोलसहित शीर्ष स्थानमा छन्।
तर इङ्ग्ल्यान्डसँग पनि चर्चित नम्बर १० छन् - जूड बेलिङ्गम। उनले पछिल्ला दुई नकआउट खेलमा दुईदुई गोल गरेका छन्। सन् १९८६ मा म्याराडोनापछि यस्तो उपलब्धि हासिल गर्ने उनी पहिलो खेलाडी हुन्। कप्तान ह्यारी केनले पनि यहाँसम्म आइपुग्दा छ गोलसहित बेलिङ्गमको बराबरी गरेका छन्।
यी दुवै टोलीले अहिलेसम्म आफ्नो उत्कृष्ट लयमा खेल्न सकेका छैनन्। नकआउट चरणमा सङ्घर्षपूर्ण जित हासिल गर्दै उनीहरू यहाँसम्म आइपुगेका हुन्।
त्यसैले उनीहरूबीचको सेमिफाइनल खेल दुवै टोलीको भावना र इच्छाशक्तिको टक्कर बनेमा आश्चर्य मान्नुपर्दैन, भलै इङ्ग्ल्यान्डका प्रशिक्षक टोमस टुहलले आफ्ना खेलाडीहरूलाई नर्वेविरुद्धको क्वार्टरफाइनल जितेभन्दा अझ स्तरीय खेल्न भनेका छन्।
मुख्य तथ्याङ्क :
सन् २०१८ को विश्वकपयता इङ्ग्ल्यान्ड चारवटा प्रमुख प्रतियोगिताको सेमिफाइनल पुगेको छ। त्यसअघि पूरै इतिहासमा ऊ केवल चार पटक अन्तिम चारमा पुगेको छ।
'थ्री लायन्स'ले विश्वकपमा लगातार चार खेल जितेको छ। एउटै संस्करणमा यो उनीहरूको सन् १९६६ पछिको सबैभन्दा लामो जितको शृङ्खला हो।
टोमस टुहल आफ्नो पहिलो छ विश्वकप खेलमा अपराजित रहने इङ्ग्ल्यान्डका दोस्रा प्रशिक्षक हुन्। यसअघि सन् १९६६ मा अल्फ राम्जीले पहिलो छ खेलमध्ये पाँच जित र एक बराबरीको कीर्तिमान बनाएका थिए।
आर्जेन्टिना पछिल्ला चार विश्वकपमध्ये सन् २०१४, सन् २०२२ र सन् २०२६ गरी तीनवटामा अन्तिम चारमा पुगेको छ। सन् २०१४ अघि उनीहरू सन् १९९० बाहेक सेमिफाइनलमा पुगेका थिएनन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















