सबैभन्दा धेरै जनसङ्ख्या भएका १० मध्ये ८ देश विश्वकपमा नहुनुको कारण र अर्थ

ढाका विश्वविद्यालयमा राखिएको ठूलो पर्दामा आर्जेन्टिना र जोर्डनबीचको खेल हेर्दै फ्यानहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विश्वकपमा आफ्नो देश नभएपछि बाङ्ग्लादेशी खेल प्रशंसकहरूले आर्जेन्टिनाजस्ता अन्य मुलुकलाई समर्थन गरिरहेका छन्
    • Author, फर्नान्डो डुआर्टे
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ५ मिनेट

जुन १७ तारिखमा आर्जेन्टिनाका चर्चित खेलाडी लिओनेल मेस्सीले फिफा विश्वकपमा शान्त तरिकाले आल्जेरियाका गोलरक्षकलाई छल्दै आफ्नो पहिलो गोल गरेपछि समर्थकहरूले खचाखच भरिएको ठाउँमा ठूलो उत्साह र हचलच मच्चियो।

तर त्यो भिडमा एक जना पनि आर्जेन्टिनाका थिएनन्। उफ्रिँदै, नाँच्दै रमाइरहेका अनि 'अल्बीसेलेस्ते' (सेतो र आकाशे नीलो) जर्सी लगाएकाहरू बाङ्ग्लादेशकै स्थानीय बासिन्दा थिए।

उनीहरू राजधानी ढाकामा आयोजित खुला आकाशमुनि सामूहिक रूपमा विश्वकप हेर्ने कार्यक्रममा सहभागी थिए।

भारत र इन्डोनेशियाका सहरहरूमा पनि यस्तै जोसिला सडक भेलाहरू आयोजना गरिएका छन्।

यी समर्थकहरूले मेस्सी र उनका देशवासीलाई आफ्नै राष्ट्रिय टोलीसरह स्वीकार गरेजस्तो देखिन्छ। उनीहरूका आफ्नै राष्ट्रिय टोली पटकपटक विश्वकपका लागि छनोट हुन नसकेपछि यस्तो भएको हुन सक्छ।

विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका १० देशहरूमध्ये हालको प्रतियोगितामा केवल दुई देश (अमेरिका र ब्रजिल) मात्र सहभागी छन्। अन्य दुई देश रुस र नाइजिरिया भने विगतका धेरै विश्वकप संस्करणहरूमा खेलिसकेका छन्।

चीन र इन्डोनेशियाले विश्वकै सबैभन्दा लोकप्रिय खेलकुद प्रतियोगितामा अहिलेसम्म केवल एकएक पटक मात्रै सहभागिता जनाएका छन्।

विश्वकै धेरै जनसङ्ख्या भएका भारत, बाङ्ग्लादेश, इथिओपिया र पाकिस्तानले अहिलेसम्म विश्वकपमा सहभागी हुने सपना मात्रै देखेका छन्। यद्यपि भारत प्राविधिक रूपमा सन् १९५० मा ब्रजिलमा भएको विश्वकपका लागि छनोट भएको थियो तर प्रतियोगिता सुरु हुनुभन्दा एक महिनाभन्दा कम समयअघि नै फिर्ता भएको थियो।

"लाखौँ फुटबल प्रशंसक भएको देश फुटबलमा यति धेरै पछाडि पर्नु वास्तवमै स्वीकार्य कुरा होइन," बाङ्ग्लादेशी अभिनेत्री, लेखक तथा फुटबल समर्थक अदिते करिमले बीबीसीसँग भनिन्।

त्यसो भए किन जनसङ्ख्याको आकार फुटबलमा सफलता मापन गर्ने भरपर्दो आधार बन्न सक्दैन?

आकारले साँच्चै अर्थ राख्छ?

सैद्धान्तिक रूपमा हेर्दा कुनै देशको जनसङ्ख्या जति ठूलो हुन्छ, त्यति नै धेरै सम्भाव्य खेलाडीहरू छनोट गर्ने अवसर पनि हुन्छ।

हालसम्म विश्वकप जितेका आठ देशहरूमध्ये सात देश- आर्जेन्टिना, ब्रजिल, इङ्ग्ल्यान्ड, फ्रान्स, जर्मनी, इटाली र स्पेनको जनसङ्ख्या तुलनात्मक रूपमा ठूलो छ।

एउटै अपवाद भनेको युरग्वे हो।

रातो जर्सीमा मोरक्कोका खेलाडीहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मोरक्को विश्वकपमा नयाँ हो तर स्थापित फुटबल शक्तिहरूलाई भेट्न कोसिस गर्दे छ

तर जनसङ्ख्याको आकार मात्रै फुटबलमा सफलता निर्धारण गर्ने एक मात्रै महत्त्वपूर्ण पक्ष नभएको ब्रिटेनका प्राज्ञ तथा अर्थशास्त्री स्टेफन शिमान्स्की बताउँछन्।

खेलकुदमा सफलता र विफलताको विश्लेषण गर्ने तथ्याङ्कमा आधारित चर्चित पुस्तक 'सकरनोमिक्स'का सहलेखक शिमान्स्की भन्छन्, "फुटबल धेरै हदसम्म राष्ट्रिय अर्थतन्त्रले काम गर्ने तरिकासँग मिल्दोजुल्दो छ। कुनै देश समृद्ध हुनका लागि जनशक्ति चाहिन्छ। तर त्यससँगै पुँजी र पूर्वाधार पनि आवश्यक हुन्छ।"

"फुटबलमा यसको अर्थ राम्रो प्रशिक्षण सुविधा र प्रतिभावान् खेलाडीहरू पहिचान गर्ने क्षमता हो।"

सन् २०१४ को विश्वकपका लागि छनोट प्रतियोगिता

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, इथिओपिया सन् २०१४ को फिफा विश्वकपमा पहिलोपटक छनोट हुने लक्ष्यको निकै नजिक पुगेको थियो

क्रिकेट : दक्षिण एशियाका लागि बाधा कि बहाना?

भारतको एउटा सुमुद्री तटमा क्रिकेट खेल्दै बालबालिका

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, दक्षिण एशियाका केही मानिसहरू भने क्रिकेटको लोकप्रियताले फुटबलको विकासमा बाधा पुर्‍याएको ठान्छन्

केही देशहरू अन्य खेलमा आफूले पाएका सफलताका कारण फुटबलका हकमा 'पीडित' बनेको मान्छन्।

उदाहरणका लागि, भारतमा क्रिकेट हाबी छ र उसको व्यावसायिक लीग 'आईपीएल'लाई विश्वकै सबैभन्दा धनी लीग मानिन्छ।

भारतका भूतपूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी श्याम थापाका अनुसार फुटबल खेललाई रोजाइमा पार्नु नै अति कठिन छ।

उनका अनुसार आईपीएलको सफलताका कारण मध्यमवर्गीय र उच्च मध्यमवर्गीय आमाबुवा आफ्ना सन्तानलाई फुटबलभन्दा क्रिकेट खेल्नतिर लैजान्छन्।

"उनीहरू (आमाबुवा) ले के बुझ्नुपर्छ भने फुटबलमा करिअर बनाउन सकेको खण्डमा पनि राम्रो आम्दानी हुन सक्छ," थापाले बीबीसी न्यूजसँग भने।

अदिते करिम भने क्रिकेटमा राम्रो भएका अस्ट्रेलिया र न्यूजील्यान्डजस्ता राष्ट्रहरूले पनि फुटबलमा राम्रो विकास गर्दै गएको औँल्याउँछिन्।

"क्रिकेटको लोकप्रियता बहाना मात्रै हो," क्रिकेट मन पराउने आफ्नो देश बाङ्ग्लादेशमा फुटबलको विकासबारे उनले भनिन्।

"हामीसँग फुटबल विश्वकप खेल्न देशलाई आवश्यक पर्ने तयारी र संरचनात्मक ढाँचा छैन।"

के चीन शक्ति सञ्चय गर्दै छ?

सन् २००२ को विश्वकपमा ब्रजिल र चीनबीचको खेल

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, चीनले सन् २०२२ को विश्वकपमा एउटा पनि गोल नगरीकन समूह चरणका सबै खेल हार्‍यो

चीनको कुरा सायद झन् रहस्यमय छ। हालैका दशकहरूमा ओलिम्पिक इतिहासमा ऊ सफल देशहरूमध्ये एक बनेको छ। तर पुरुष फुटबलमा भने उसले त्यस्तै सफलता हासिल गर्न सकेको छैन।

"चीनले विश्वस्तरीय फुटबल खेलाडी उत्पादन गर्न नसक्नुको कुनै कारण छैन," बेइजिङस्थित चिनियाँ फुटबल विशेषज्ञ मार्क ड्रायरले भने।

"मुख्य समस्या के हो भने चीनमा सबै कुरा राज्यद्वारा नियन्त्रण गरिन्छ र सबै निर्णय माथिबाट तल लागु गरिन्छ। फुटबलसम्बन्धी निर्णय फुटबल बुझ्ने व्यक्तिहरूले गर्नुपर्छ तर त्यहाँ राजनीतिक हस्तक्षेप अत्यधिक छ," उनले भने।

सन् २०१० को दशकदेखि चीनले फुटबलमा ठूलो लगानी गरेको छ। खेलको स्तर उकास्ने उद्देश्यले दक्षिण अमेरिका र युरोपका चर्चित खेलाडीहरूलाई आफ्नो व्यावसायिक लिगमा भित्र्याइयो। तर यति प्रयासपछि पनि चीन सन् २००२ यता विश्वकपमा फेरि छनोट हुन सकेको छैन।

चीनजस्तै इन्डोनेशियाले पनि एक पटक मात्रै विश्वकप खेलेको छ। सन् १९३८ मा नेदरल्यान्ड्सको उपनिवेश रहँदा 'डच ईस्ट इन्डिज'का रूपमा उसले प्रतिस्पर्धा गरेको थियो।

सन् २०२६ विश्वकप छनोट अभियानमा दक्षिणपूर्वी एशियाली टोली इन्डोनेशिया उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम छनोट चरणसम्म पुग्न सफल भयो।

तर यो सफलता घरेलु खेलाडीमा मात्र आधारित नभई इन्डोनेशियाली मूल भएका युरोपेली खेलाडीहरूलाई टोलीमा समावेश गर्ने निर्णयका कारण सम्भव भएको मानिन्छ।

"कतिपय खेलमा इन्डोनेशियाका सुरुवाती ११ खेलाडीमध्ये आठ वा नौ जना युरोपम जन्मिएका खेलाडीहरू थिए," बीबीसी इन्डोनेशियाली सेवाका समाचार सम्पादक जेरोमी विरावानले भने।

पाकिस्तान र बाङ्ग्लादेश भने विश्वकपको एशियाली छनोट प्रतियोगिताको समूह चरणमै बाहिरिए। दुवै टोलीले छ खेल खेल्दा एउटा पनि जित हात पार्न सकेनन्।

फुटबलको प्रशासनिक निकायभित्रको राजनीतिक विवादका कारण फिफाले सन् २०१७ देखि सन् २०२५ सम्म तीन पटक पाकिस्तानलाई अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्धसमेत लगाएको थियो।

जसरी पनि रमाउने

त्यसैले धेरै देशका फुटबल समर्थकहरूका लागि विश्वकप जित्ने सपना अझै निकै टाढाको लक्ष्यजस्तै देखिन्छ।

यसैबीच, करिमका अनुसार उनीहरूका लागि सबैभन्दा ठूलो सान्त्वना भनेकै विश्वकपको उत्सवको आनन्द लिनु हो।

"वास्तविकतालाई हेर्दा मेरो जीवनकालमै बाङ्ग्लादेशले विश्वकप खेल्ने अवसर पाउने सम्भावना म देख्दिनँ।"

"तर बाङ्ग्लादेशी फुटबल समर्थकहरू भने विश्वकपको हरेक क्षणको उत्साह र खुसीको अनुभव गर्न चाहन्छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।