एक वास्तुविद् जसले मक्का र मदिनाका मस्जिदको काम गर्दा पैसा लिन मानेनन्

मस्जिद अल-हरम
तस्बिरको क्याप्शन, साउदी राजा फाहदको शासनकालमा भएको मस्जिद अल-हरमको विस्तारलाई १,४०० सय वर्षमा गरिएको सबैभन्दा ठूलो विस्तार मानिएको छ
Published

साउदी अरबका मक्का र मदिनास्थित दुई मस्जिद विस्तार गर्ने काममा मोहमद कमाल इस्माइलको भूमिका महत्त्वपूर्ण थियो।

यी वास्तुविद्को जन्म सन् १९०८ मा इजिप्टमा भएको थियो। साउदी अरबका दिवङ्गत राजा फाहदले मक्कामा अवस्थित 'द ग्रान्ड मस्क' पनि भनिने मस्जिद अल-हरम र मदिनामा अवस्थित 'द प्रोफेट्स मस्क' पनि भनिने मस्जिद अन-नबावीको विस्तारको सुपरिवेक्षण गर्ने जिम्मेवारी दिएका थिए।

मस्जिद अल-हरमको विस्तारलाई १,४०० वर्षमा गरिएको सबैभन्दा काम भनिएको थियो।

राजा फाहद र बिन लादेन कम्पनीले मनाउन खोज्दा पनि इस्माइलले आफ्नो कामको पारिश्रमिक लिन अस्वीकार गरे।

“संसारका सबैभन्दा पवित्र तीर्थस्थलमा काम गर्दा म किन पैसा लिन्थेँ? न्याय हुने दिन म कसरी अल्लाहसमक्ष उभिन सक्छु?" उनले भनेका थिए।

मस्जिद अन-नबावी
तस्बिरको क्याप्शन, इस्माइलले आफ्नो पूरा जीवन इस्लाम धर्मप्रति समर्पित गरेका थिए

शिक्षा र विवाह

इस्माइल इजिप्टमा विद्यालय शिक्षा पूरा गर्ने सबैभन्दा कान्छा व्यक्ति थिए। उनी इजिप्टस्थित 'रोयल स्कूल अफ इन्जिनिअरिङ'मा भर्ना हुने सबैभन्दा कान्छा विद्यार्थी पनि बने।

त्यसपछि इस्लामिक वास्तुकलामा थप विज्ञता हासिल गर्नका लागि उनलाई युरोप पठाइएको थियो।

उनले ४४ वर्षको उमेरमा विवाह गरे। एउटा छोरा जन्माएपछि उनको निधन भयो।

श्रीमतीको निधन भएपछि उनले अल्लाहप्रति आफ्नो जीवन र सेवा समर्पित गरे।

इस्माइल १०० वर्ष बाँचे। तर उनी सञ्चारमाध्यम र चर्चाबाट टाढै बसे।

सेतो सिङ्गमरमर

साउदी अरबमा निकै गर्मी हुन्छ। त्यसलाई दृष्टिगत गरेर उनले मस्जिद अल-हरमको भुइँमा सिङ्गमरमर बिच्छ्याउने काम गराए।

मस्जिदका लागि ग्रीसबाट दुर्लभ सेतो सिङ्गमरमर मगाइयो। अस्वाभाविक चम्किलोपन, सेतो रङ्ग र गर्मीमा घरहरूलाई शीतल बनाउने क्षमताका लागि यो सिङ्गमरमर प्रख्यात छ।

राजा फाहदले पछि इस्माइललाई मस्जिद अल-नबावीमा पनि सोही सिङ्गमरमर प्रयोग गर्न लगाए।

मक्कास्थित मस्जिद अल-हरम इस्लाम धर्मावलम्बीहरूको पवित्रतम तीर्थस्थल हो।

मोहमद कमाल इस्माल
तस्बिरको क्याप्शन, मोहमद कमाल इस्माइलको निधन सन् २००८ मा १०० वर्षको उमेरमा भयो

इतिहासका विभिन्न कालखण्डमा यसको विभिन्न चरणमा विस्तार भएको छ। हज र उमराहमा सहभागी हुन जाने मानिसको बढ्दो सङ्ख्यालाई ध्यान दिएर मस्जिदको क्षेत्र बढाउने काम हुँदै आएको छ।

राजा फाहदको शासनकालमा भएको कामपछि उक्त मस्जिदको क्षेत्रफल ३,५६,८०० वर्गमिटर कायम भएको थियो।

सामान्य दिनमा त्यहाँ आठ लाख २० हजारसम्म अनि पवित्र महिना रमजान तथा हजका बेला १० लाखभन्दा बढी मानिस त्यहाँ अट्न सक्ने उक्त मस्जिदको क्षमता छ।

हज

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।